सीसीटीभी जडान र ३० दिनसम्म रेकर्ड सुरक्षित राख्नुपर्ने, ध्वनि प्रदूषण नियन्त्रण, सुरक्षा गार्ड, अग्नि नियन्त्रण र श्रमिकको सुरक्षामा जोड
विराटनगर। मोरङको विराटनगर क्षेत्रमा रात्रीकालीन होटल तथा मनोरञ्जनात्मक व्यवसायलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालय मोरङले नयाँ मापदण्ड तयार गरेको छ।
‘मोरङ जिल्लाको विराटनगर क्षेत्रमा रात्रीकालीन होटल तथा व्यवसाय सञ्चालन सम्बन्धी मापदण्ड, २०८३’ अनुसार निश्चित सर्त तथा मापदण्ड पूरा गर्ने व्यवसायले राति २ बजेसम्म सञ्चालन अनुमति पाउनेछन्।

मापदण्डअनुसार सामान्य व्यवसाय राति १० बजेसम्म सञ्चालन गर्न सकिनेछ। किराना पसल, पान पसल, मिठाई पसल, चिया पसल, आइसक्रिम पसल, रेस्टुरेन्ट तथा खानाखाजा पसलले आवश्यक मापदण्ड पूरा गरी अनुमति लिएमा राति १२ बजेसम्म सञ्चालन गर्न पाउनेछन्।

त्यस्तै, लाइभ म्युजिक, डान्स क्लब, डिस्को, लाउन्ज बार, दोहोरी तथा गजल रेस्टुरेन्टले आवश्यक मापदण्ड पूरा गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएमा राति २ बजेसम्म व्यवसाय सञ्चालन गर्न सक्नेछन्।
मापदण्डअनुसार राति १० बजेसम्म सञ्चालन हुने व्यवसायले छुट्टै रात्रीकालीन अनुमति लिनुपर्ने छैन। तर तोकिएको समयभन्दा बढी सञ्चालन गर्न चाहने व्यवसायीले अनुसूचीमा उल्लेखित चेकलिस्ट पूरा गरी सम्बन्धित वडा कार्यालयको सिफारिससहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने जिल्ला प्रशान कार्यालयले जनाएको छ ।
कार्यविधि अनुसार प्राप्त निवेदनमाथि अनुगमन समितिले स्थलगत निरीक्षण गरी मापदण्ड पूरा भएमा सञ्चालन अनुमति दिन सिफारिस गर्ने व्यवस्था गरिएको छ।
सीसीटीभी र सुरक्षा व्यवस्था अनिवार्य
नयाँ मापदण्डले रात्रीकालीन व्यवसायमा सुरक्षा व्यवस्थालाई प्राथमिकता दिएको छ। व्यवसायस्थलको प्रवेशद्वार, वरपर तथा आसपासको सडक क्षेत्रसम्म पहुँच हुने गरी सीसीटीभी जडान गर्नुपर्नेछ। सीसीटीभीको रेकर्ड कम्तीमा ३० दिनसम्म सुरक्षित राख्नुपर्ने व्यवस्था गरिएको छ।
त्यस्तै, आवश्यकताअनुसार सुरक्षा गार्ड, अग्नि नियन्त्रण सामग्री, आपत्कालीन निकास, पर्याप्त प्रकाश र वैकल्पिक विद्युत् आपूर्तिको व्यवस्था गर्नुपर्नेछ।
व्यवसायस्थलमा ध्वनि प्रदूषण नियन्त्रण गर्न साउन्डप्रुफ संरचना निर्माण गर्नुपर्नेछ। छिमेकी तथा आसपासका समुदायलाई असर पर्ने गरी होहल्ला वा ध्वनि प्रदूषण गरेमा रात्रीकालीन व्यवसाय सञ्चालनको अनुमति रद्द गर्न सकिने मापदण्डमा उल्लेख छ।
मदिरा बिक्रीमा समय सीमा
मदिरा बिक्री तथा वितरणका सम्बन्धमा प्रचलित कानुनअनुसार बिहान १० बजेदेखि राति १० बजेसम्म मात्र बिक्री गर्नुपर्ने व्यवस्था गरिएको छ। रात्रीकालीन अनुमति प्राप्त व्यवसायले पनि दिउँसो १२ बजेभन्दा अगाडि मदिरा बिक्री वा सेवन गराउन पाउने छैनन्।
शुक्रबार राति १ बजेपछि र अन्य बार राति १२ बजेपछि मदिरा बिक्री तथा सेवन गराउन नपाइने व्यवस्था मापदण्डमा उल्लेख छ। मादक पदार्थ सेवन गरेका सेवाग्राहीलाई सुरक्षित रूपमा घरसम्म पुर्याउन व्यवसायीले यातायातको व्यवस्था गर्नुपर्नेछ।
कर्मचारीको सुरक्षा र अधिकारमा जोड
मापदण्डले होटल तथा मनोरञ्जन व्यवसायमा कार्यरत कर्मचारी र श्रमिकको अधिकार तथा सुरक्षालाई पनि समेटेको छ। व्यवसायीले कर्मचारीलाई नियुक्तिपत्र दिएर मात्र काममा लगाउनुपर्ने, सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनुपर्ने, अतिरिक्त समय काम लगाएमा अतिरिक्त सुविधा दिनुपर्ने तथा तलब बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ।
रातिको समयमा काम गर्ने कर्मचारीका लागि घरबाट ल्याउने तथा पुर्याउने यातायात र रातिको खानाको व्यवस्था गर्नुपर्नेछ। त्यस्तै, कार्यस्थलमा यौन शोषण, यौन उत्पीडन, लैंगिक हिंसा तथा दुर्व्यवहार हुन नदिने वातावरण निर्माण गर्नुपर्नेछ। महिला श्रमिकका लागि सुरक्षित पोशाक परिवर्तन कक्ष तथा स्तनपान कक्षको व्यवस्था गर्नुपर्ने मापदण्डमा उल्लेख छ।
१८ वर्षमुनिका बालबालिकालाई प्रवेश निषेध
डान्स रेस्टुरेन्ट, बार, दोहोरी, लाइभ ब्यान्ड, लाउन्ज, पब, क्लब तथा डिस्कोथेकमा १८ वर्षमुनिका बालबालिकालाई ग्राहकका रूपमा प्रवेश गराउन पाइने छैन।
त्यस्तै, १८ वर्ष नपुगेका व्यक्तिलाई सूर्ती तथा मदिराजन्य पदार्थ बिक्री गर्न प्रतिबन्ध लगाइएको छ। धूम्रपान गर्ने र नगर्ने व्यक्तिका लागि छुट्टाछुट्टै क्षेत्रको व्यवस्था गर्नुपर्नेछ।
व्यवसायीले सेवाको विवरण, मूल्यसूची तथा मेन्यु कार्ड सबैले देख्ने स्थानमा राख्नुपर्नेछ। तोकिएको मूल्यभन्दा बढी वा मेन्युमा उल्लेख भएभन्दा अस्वाभाविक रूपमा बढी रकम असुल गर्नसमेत पाइने छैन।
जिल्ला प्रशासनको नेतृत्वमा अनुगमन समिति
मापदण्ड कार्यान्वयन तथा अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्तरीय अनुगमन समिति गठन गरिने व्यवस्था गरिएको छ।
समितिमा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, विराटनगर महानगरपालिका तथा होटल र पर्यटन व्यवसायी संघका प्रतिनिधि सदस्य रहनेछन्। जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सदस्य सचिव रहनेछन्।
समितिले व्यवसायको नियमित तथा आकस्मिक अनुगमन गर्ने, उजुरीमाथि छानबिन गर्ने र मापदण्डविपरीत सञ्चालन भएका व्यवसायलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्नेछ।
मापदण्ड उल्लंघन गर्ने व्यवसायीको रात्रीकालीन सञ्चालन अनुमति तत्काल रद्द गर्न सकिने तथा कसुरको प्रकृतिअनुसार प्रचलित कानुनबमोजिम थप कारबाहीसमेत हुने व्यवस्था गरिएको छ।
विराटनगरको कुन क्षेत्रमा लागू हुनेछ मापदण्ड ?
यो मापदण्ड विराटनगर महानगरपालिकाभित्र पूर्वमा केशलिया खोला, पश्चिममा सिंगिया खोला, उत्तरमा विराटनगर स्वागत गेट (ढाट) र दक्षिणमा रानीसम्मको क्षेत्रमा लागू हुने उल्लेख छ।
मापदण्डमा रात्रीकालीन व्यवसायलाई व्यवस्थित गर्दै व्यवसायी, कर्मचारी, सेवाग्राही र स्थानीय समुदायबीच जिम्मेवार तथा सुरक्षित व्यावसायिक वातावरण निर्माण गर्ने उद्देश्य राखिए प्रशासनले जनाएको छ।