काठमाडौं । भारतले नेपालमा राष्ट्रिय क्रिकेट प्रशिक्षण एकेडेमी स्थापना गर्न तथा राष्ट्रिय र प्रादेशिक स्तरमा क्रिकेट पूर्वाधार विकास गर्न सहयोग गर्ने भएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा जारी गरिएको ‘विकसित भारत र समुन्नत नेपाल : साझेदारीको पुनर्कल्पना’ शीर्षकको संयुक्त भिजन डकुमेन्टमा खेलकुद विकास तथा सम्बन्धित पूर्वाधार निर्माणमा दुवै देशबीच सहकार्य गर्ने उल्लेख गरिएको छ।

डकुमेन्टअनुसार नेपालका प्रादेशिक क्रिकेट टोलीका खेलाडीलाई भारतका राष्ट्रिय प्रशिक्षण एकेडेमीमा तालिम लिने अवसर प्रदान गरिनेछ। क्रिकेटबाहेक ब्याडमिन्टन, टेनिस, सुटिङ र एथलेटिक्सलगायत खेलमा पनि नेपाली खेलाडीलाई यस्तै अवसर उपलब्ध गराउने सम्भावना खोजिनेछ। यसका साथै नेपालमा आधुनिक बहु–खेलकुद केन्द्र स्थापना तथा विकास गर्ने विषयमा समेत दुवै देशबीच सहकार्य हुने जनाइएको छ।

त्यस्तै, संयुक्त पर्वतारोहण अभियान सञ्चालन गर्नेलगायत पर्वतीय खेलकुदको विकासमा पनि सहकार्यका सम्भावना खोजिनेछ। यसैगरी, क्रिकेट, फुटबललगायत विभिन्न खेलका नेपाली र भारतीय खेलाडीलाई एकअर्का देशका खेलकुद लिगमा सहभागी हुने अवसर उपलब्ध गराउन दुवै देशका सम्बन्धित खेलकुद निकाय तथा प्राधिकरणलाई प्रोत्साहन गरिने संयुक्त भिजन डकुमेन्टमा उल्लेख छ।