आधुनिकतासँगै माटाका भाँडाको प्रयोग घट्दै

पुर्ख्यौली पेसा जोगाउँदै श्रीराम पण्डित

Lite Nepal

मंगलबार, मंसिर ०८, २०८३

सुनसरी । बजारमा प्लास्टिक तथा आधुनिक सामग्रीको प्रयोग बढ्दै जाँदा माटाका भाँडाकुँडाको प्रयोग घट्दै गएको छ । यसको प्रभावले माटाका सामग्री बनाउने पुर्ख्यौली पेसा सङ्कटमा पर्दै गए पनि सुनसरीको इनरुवा नगरपालिका–२ बिहीबारेका श्रीराम पण्डित भने यही पेसालाई निरन्तरता दिँदै आएका छन् ।

पुर्खादेखि गर्दै आएको पेसालाई संरक्षण गर्दै आएका पण्डितले माटाका विभिन्न सामग्री बनाएर परिवारको जीविकोपार्जन गर्दै आएका छन् । आधुनिकतासँगै गाउँघरदेखि सहरबजारसम्म माटाका भाँडाकुँडाको प्रयोग घट्दै गए पनि पुर्ख्यौली पेसा भएकाले आफूले यसलाई नछाडेको उनले बताए ।

पहिले हातैले माटो मुछेर विभिन्न आकारका सामग्री बनाउनुपर्ने भए पनि अहिले मेसिनको प्रयोगले काम केही सहज भएको उनको अनुभव छ । “पहिले हातले माटो मुछ्न र सामग्री बनाउन धेरै समय तथा मेहनत लाग्थ्यो । अहिले मेसिन ल्याएपछि माटाका सामग्री बनाउन सजिलो भएको छ । यसले समय र मेहनत दुवै कम लाग्ने गरेको छ”, पण्डितले भने ।

उनले माटाका गिलास, दियो, पाला, हात्तीका मूर्ति, गमला, खुत्रुकेलगायत पूजापाठमा प्रयोग हुने विभिन्न सामग्री बनाउँदै आएका छन् । वर्षभरि सामान्य सामग्रीको बिक्री हुने भए पनि तिहार र छठजस्ता चाडपर्वमा माग बढ्ने गरेको उनले बताए ।

माटाका सामग्री तयार पार्न विभिन्न चरण पार गर्नुपर्ने हुन्छ । सुरुमा माटो ल्याउने, पानी मिसाएर मुछ्ने, मेसिनको सहायताले आवश्यक आकार दिने, घाममा सुकाउने, रङ लगाउने र अन्त्यमा भट्टीमा पोलेपछि मात्रै सामग्री बिक्रीका लागि तयार हुने पण्डितले जानकारी दिए ।

उनका अनुसार पहिले सुनसरीको चिमडीबाट माटो ल्याउने गरिएको थियो । तर, अहिले त्यहाँ माटो पाउन छाडेपछि भाँडा बनाउन सप्तरीबाट माटो ल्याउनुपर्ने बाध्यता छ । माटो ढुवानीका लागि ट्र्याक्टरमा १० हजारदेखि १५ हजार रुपैयाँसम्म र टिपरमा ल्याउँदा २० हजार रुपैयाँसम्म खर्च हुने गरेको उनले बताए । एक गाडी माटोबाट करिब एक लाख ५० हजार रुपैयाँ मूल्य बराबरका सामग्री बनाउन सकिने उनको भनाइ छ ।

तिहार र छठका बेला मात्रै एक लाखदेखि दुई लाख रुपैयाँसम्मका माटाका सामग्री बिक्री हुने गरेको पण्डितले बताए । यद्यपि, वर्षभरिमा हुने कुल कारोबार र खर्च कटाएर हुने बचतको यकिन हिसाब भने आफूले नराखेको उनको भनाइ छ ।

“यो हाम्रो पुर्ख्यौली पेसा हो । आम्दानीको स्रोत पनि यही हो । वर्षभरि यही व्यवसाय गरेर परिवारको जीविकोपार्जन गर्दै आएका छौँ । अरू पेसा छैन । वर्षमा कति मूल्यका सामग्री बिक्री हुन्छन् र खर्च कटाएर कति बचत हुन्छ भन्ने हिसाब राख्ने गरेका छैनौँ । खानलाउन परिवारलाई पुगेकै छ”, उनले भने ।

आफ्नै व्यवसाय भएकाले आफूलाई अनुकूल हुने समयमा काम गर्न पाइने र परिवारसँगै बस्न सकिने उनको अनुभव छ । स्वदेशमै आफ्नै व्यवसाय सञ्चालन गर्न सके विदेश जानुपर्ने बाध्यता नहुने पनि पण्डित बताउँछन् ।

उनले बनाएका माटाका सामग्री बिक्री गर्न बजारसम्म बोकेर लैजानुपर्ने अवस्था छैन । घरनजिकै बिहीबारे हाटबजार लाग्ने भएकाले ग्राहक घरमै आएर सामग्री खरिद गरी लैजाने गरेका छन् । यसले गर्दा बजार खोज्दै हिँड्नुपर्ने समस्या नरहेको उनले बताए ।

माटाका भाँडाकुँडाको प्रयोग घट्दै गएपछि यस पेसामा आबद्ध धेरैले व्यवसाय परिवर्तन गरिसकेको पण्डितको भनाइ छ । अहिले थोरैले मात्रै पुर्खाले गर्दै आएको पेसालाई निरन्तरता दिइरहेका छन् ।

“बाउबाजेले गर्दै आउनुभएको पेसा भएकाले यसलाई मैले निरन्तरता दिएको हुँ । यही काम गरेर घरपरिवारको खर्च धान्दै आएको छु । आफ्नो पुर्ख्यौली पेसा जोगाउन पाउँदा खुसी छु”, उनले भने ।

आधुनिक सामग्रीको बढ्दो प्रयोग र बजारमा माटाका भाँडाकुँडाको घट्दो मागका बीच पनि पण्डितले आफ्नो पुर्ख्यौली सीप र व्यवसायलाई निरन्तरता दिइरहेका छन् । उनका लागि यो केवल आम्दानीको माध्यम मात्र नभई पुर्खाबाट हस्तान्तरण भएको सीप र पहिचान जोगाउने प्रयाससमेत बनेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं