Lite Nepal

मंगलबार, मंसिर ०८, २०८३

जोमसोम । भारतको दुईदिने राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रुद्राक्ष, शालिग्राम र पशुपतिनाथको चन्दन उपहार दिए । उपहारमध्ये विशेष छ – शालिग्राम । भगवान विष्णुको प्रतीक तथा स्वरूप मानिने शालिग्राम नेपालको कालिगण्डकी नदीमा मात्र पाइन्छ ।

मोदीलाई बालेनले दिएको शालिग्राम मुस्ताङ सदरमुकाम जोमसोमबाट लगिएको हो । गत भदौमा सञ्चारकर्मी सन्दीप शर्मा रिजाल र राजेन्द्रप्रकाश ढकालले मुस्ताङको जोमसोम नजिकै कालीगण्डकी नदी किनारमा घुम्दै गर्दा दसैँअघि उक्त शालिग्राम फेला पारेका थिए । अन्य शालिग्रामभन्दा फरक र विशेष आकृतिको देखिएपछि जोमसोममा व्यवसायसमेत गर्ने रिजालले त्यसलाई आफूसँगै सुरक्षित राखेका थिए ।

मोदीलाई उपहार के दिने भन्ने कार्तिक अन्तिमतिर प्रधानमन्त्रीको सचिवालयमा छलफल भइरहेको थियो । योबेला सडक बोर्डका कार्यकारी समिति सदस्य अरुणकुमार श्रेष्ठ मुस्ताङ भ्रमणमा थिए ।

प्रधानमन्त्रीको सचिवालयले शालिग्राम ल्याउन श्रेष्ठलाई जिम्मा दियो । त्यसपछि श्रेष्ठले रिजाललाई सम्पर्क गरी शालिग्राम आवश्यक परेको बताए ।

रिजालले आफूसँग विशेष प्रकृतिको एउटा शालिग्राम रहेको जानकारी गराउँदै उक्त शालिग्राम देखाए । शालिग्रामको आकृति र विशेषताबारे जानकारी पाएपछि प्रधानमन्त्री कार्यालयबाटै त्यसलाई माग गरिएको थियो ।श्रेष्ठले बालेनको भ्रमणभन्दा पाँच दिनअघि मुस्ताङबाट शालिग्राम काठमाडौँ ल्याए ।

प्रधानमन्त्री कार्यालयमा पठाउनुअघि रिजालले उक्त शालिग्रामको धार्मिक तथा आध्यात्मिक विशेषताबारे जानकार धर्मगुरुहरूसँग समेत परामर्श गरेका थिए ।

उक्त शालिग्राममा गणेश, शिव, विष्णु, वराह, मुक्तिनाथ मन्दिरमा स्थापित मूर्तिको स्वरूपसहित अर्धनारीश्वरलगायत सातभन्दा बढी देवीदेवताका आकृति देखिने बताइएको छ । यसका साथै शालिग्राममा ६ वटा चक्रसमेत स्पष्ट देखिन्छन् ।

सामान्यतया गोलाकार स्वरूपमा पाइने शालिग्रामभन्दा यो शालिग्रामको बनावट फरक छ । हेर्दा नै मूर्तिको आकृतिजस्तो देखिने यस शालिग्राममा विभिन्न देवीदेवताका स्वरूप प्राकृतिक रूपमा कुँदिएजस्तै देखिन्छन् ।

शालिग्रामको छनोटमा सक्रिय पण्डित बालकृष्ण शर्माले दिब्य प्रकृतिको शालिग्राम निकै मुस्किलले भेटिने बताए। यस्तो शालिग्रामलाई सेवा गर्ने अवसर भाग्यमानीलाई मात्र प्राप्त हुने उनको भनाइ छ । -नेपाल फोटो लाइब्रेरी

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं