काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र पत्रकारका अधिकार सुनिश्चित गर्न माग गर्दै नेपाल पत्रकार महासंघले राजनीतिक दलका कार्यालय केन्द्रित आन्दोलन सुरु गरेको छ ।
महासंघको आह्वानमा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय घण्टीघर अगाडि महासंघका पदाधिकारीसहित पत्रकारहरू धर्नामा बसेका छन् ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा सरकारको व्यवहार अनुदार रहेको आरोप लगाउँदै महासंघले दोस्रो चरणको आन्दोलनअन्तर्गत राजनीतिक दलका कार्यालयमा धर्ना दिन थालेको हो ।

समाचार कक्षमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरेको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश ल्याउन खोजेको तथा सञ्चारमाध्यमको काममा अवरोध गर्नेहरूमाथि कारबाही नगरेको महासंघको आरोप छ ।
गोरखापत्रसहित सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबरजस्ती निष्कासन गरिएको, पत्रकारको श्रम अधिकार उल्लंघन भएको र लोककल्याणकारी विज्ञापनबापतको रकम भुक्तानी नगरिएको विषयलाई पनि महासंघले आन्दोलनको मुद्दा बनाएको छ ।
घोषित कार्यक्रमअनुसार महासंघले मंसिर १४ गते नेपाली काँग्रेस, १५ गते नेकपा (एमाले), १६ गते नेकपा, १७ गते श्रम संस्कृति पार्टी र १८ गते राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यालयमा धर्ना दिनेछ ।