काठमाडौं । बिचौलियाको आरोपमा प्रहरी हिरासतमा रहेका इनम सापकोटाको उजुरीमा राष्ट्रिय मानव अधिकार आयोगले विस्तृत अनुसन्धान गर्ने भएको छ ।
आफूलाई हिरासतमा धम्की र यातनासहित उच्चपदस्थ व्यक्तिविरुद्ध बयान दिन लगाइएको भन्दै सापकोटाका तर्फबाट शुक्रबार (मंसिर ११) आयोगमा उजुरी दिइएको थियो ।

उनका तर्फबाट जीवनरक्षाको माग गर्दै श्रीमती कविता पाण्डेले उजुरी दर्ता गराएकी हुन् ।

यस वर्ष असोज १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आफूलाई पक्राउ गरी आँखामा पट्टी बाँधेर लगिएको उजुरीमा उल्लेख छ । हिरासत कक्षमा बयानका निम्ति यातना भोग्नुपरेको उनले बताएका छन् ।
आयोगका सहसचिव यज्ञप्रसाद अधिकारीले उजुरीमाथि विस्तृत अनुसन्धान गर्ने तयारी रहेको जानकारी दिए ।
नेपालको संविधानको धारा २४९ अनुसार, सरकारी निकाय, सुरक्षाकर्मी वा सार्वजनिक पदधारण गरेका व्यक्तिले आफ्नो कर्तव्यपालना नगर्दा वा शक्ति दुरुपयोग गरी नागरिकको अधिकार हनन भएको अवस्थामा आयोगले छानबिन गर्न सक्छ ।
यसनिम्ति सरकारी हिरासत, कारागार वा अरू नियन्त्रण कक्षमा यातना वा दुर्व्यवहार भएको शंका लागेमा आकस्मिक निरीक्षण र अनुसन्धान गर्न पाउने संवैधानिक अधिकार आयोगलाई छ ।
विस्तृत अनुसन्धानभित्र स्थलगत अनुगमन, बयान लिने, उद्धारदेखि प्रमाण बुझ्नेसम्मका धेरै विषय पर्ने सहसचिव अधिकारीले बताए ।