ताप्लेजुङमा कोरोना सकिएकै हो ? मुखमा मास्क र सामाजिक दुरी खै ?

‘सचेतता नअपनाए लकडाउन हुन सक्छ’ : प्रजिअ निरौला

ताप्लेजुङ समाचारदाता

मंगलबार, साउन २०, २०७७

ताप्लेजुङ । यो समय झट्ट ताप्लेजुङ सदरमुकाम फुङ्लिङ् पुग्दा लाग्छ ‘कोरोना संक्रमण अब सकियो’ । फाट्ट फुट्ट केही सरकारी कर्मचारी बाहेक कसैको अनुहारमा मास्क देखिदैन, गोजिमा हुनु फरक कुरा ।

सरकारले लगाएको लकडाउन खुल्ला भएसँगै सामुहिक हिडडुल गर्ने र मास्क नलगाउनेको संख्या धेरै छ । सदरमुकाममानै रहेका सचेत नागरिकमा पनि मास्क लगाउनुपर्छ, सामाजिक दुरी कायम गर्नुपर्छ भन्ने अहिले लागेकै छैन ।

लकडाउन खुल्ला गरेसँगै प्रदेश १ का मुख्य सहरहरुमा ‘दिन दुई गुणा, रात चौगुना’ कोरोना संक्रमित थपिरहँदा पहाडी जिल्ला ताप्लेजुङमा संक्रमित थपिएको वा मृत्यू भएको समाचार अन्तराष्ट्रिय समाचार जस्तो स्थानीयलाई लाग्छ ।

ताप्लेजुङ सदरमुकाममा लागेको हाटमा स्थानीय । तस्विर : बसन्त लिम्बु

प्रदेशका विभिन्न स्थानमा ट्राभल हिस्ट्रीनै नभएका नागरिकमा कोरोना देखिरहँदा ताप्लेजुङमा पनि सचेतता अपनाउनुपर्नेमा त्यो क्रम पटकै नरहेको प्राध्यापक तथा रेडियो तमोरका स्टेसन म्यानेजर सजन पौडेल बताउँछन् । ‘कहाँबाट कुन ठाउँमा कोरोना पुग्यो थाहा छैन, परीक्षण नगरेर नदेखिएको हो,’ पौडेलले भने ‘मास्क लगाउने समाजिक दुरी कायम गर्ने क्रम ताप्लेजुङमा देखिएन यसले कुनैपनि बेला खतराको घण्टी बजाउँछ ।’

जिल्ला बाहिरबाट आउनेलाई कडाई गरे पनि जिल्लामानै सचेतता अपनाउनन लगाउने कुरामा जनप्रतिनिधी कमजोर देखिन्छ । खुलेआम हाटबजार लगाउने, सामाजिक दुरी कामयम नगर्ने, मास्क नलगाउने र भिडबाड बढी हुने कुरालाई लकडाउन खुलेपछि कुनै तहले हाल सम्म रोकेको पाईदैन ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी तथा कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव डोरेन्द्र निरौला सचेत नागरिकलेनै पनि संक्रमणबाट जोगिने सामान्य कुरा पनि पालना नगरेको बताउँछन् । ‘सदरमुकाममा हेदा सामाजिक दुरी कायम देखिदैन, मास्क पनि कमैले लगाएका छन्, यो हुनुहुँदैन,’ उनले भने ‘हामी यो क्रमलाई अब रोक्छौँ ।’

प्रजिअ निरौँलाले भिडभाड बढे, नागरिकले लापरबाही गरे पुनः जिल्लालाई लकडाउन गर्ने चेतावनी समेत दिए । ‘हामी सञ्चारमाध्यमबाट पनि आग्रह गरिरहेका छौँ, नागरिकले पनि बुझेको कुरामा सचेतता अपनाएनन्,’ उनले भने ‘यस्तै भए कुनै पनि बेला लकडाउनको निर्णयमा पुग्नुपर्ने हुन्छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं