काठमाडौं : नेपालमा भारतको छत्तिसगढ र मध्यप्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार मनसुन न्यून चापीय रेखा औसतभन्दा दक्षिणतर्फ रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली सहित प्रदेश २, बागमती र गण्डकी प्रदेशमा केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।
बुधबार दिउँसो देशभर सामान्य बदली रही बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती देशभर सामान्य बदली रही लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन/ चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली र यिनका सहायक नदीहरुको बहाव सामान्य तथा सतर्कता तहभन्दा तलै रहेको छ। नारायणी र यसका सहायक नदीहरूमा बहाव बढ्ने; कोशी, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान छ। तिनाउ, पश्चिम राप्ती, बबईमा बहाव बढ्ने; कन्काई, कमला, बागमती, पूर्वी राप्तीमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ।
प्रदेश १ को इलाम, मोरङ्ग, धनकुटा, उदयपुर, संखुवासभा, प्रदेश २ को सप्तरी, सिराहा, सर्लाही, रौतहट, बारा, पर्सा, बागमती प्रदेशको रसुवा, सिन्धुपाल्चोक, सिन्धुली, चितवन, मकवानपुर; गण्डकी प्रदेशको गोरखा, लमजुङ, मनाङ, कास्की, म्याग्दी, बागलुङ, पर्वत, स्याङ्गजा, तनहुँ, नवलपुर; लुम्बिनी प्रदेशको परासी, पाल्पा, रुपन्देही, कपिलबस्तु, अर्घाखाँची, गुल्मी, प्युठान, दाङ, बाँके, बर्दिया; सुदुरपश्चिम प्रदेशको दार्चुला, कन्चनपुर, कैलाली र आसपासका जिल्ला भई बहने स-साना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव हुन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
बिहीबार देशभर सामान्य बदली रही लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही बाँकि प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती प्रदेश २ र बागमती प्रदेशका केही अन्य प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
शुक्रबार देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।