Lite Nepal

शनिबार, आश्विन ०१, २०७९

काठमाडौं -काठमाडौंबाट देशको पूर्वी क्षेत्रमा सञ्चालन हुने सार्वजनिक यातायात आजदेखि एउटै व्यवस्थापनमा सञ्चालन गरिएको छ । यसअघि छुट्टाछुट्टै कम्पनी र छुट्टाछुट्टै व्यवस्थापनमा चल्दै आएका पूर्व क्षेत्र चल्ने सार्वजनिक सवारी साधन आजदेखि ‘पूर्वाञ्चल संयुक्त यातायात व्यवस्थापन’मार्फत सञ्चालन गरिएको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घअन्तर्गत रहेको उपसमितिले पूर्व मेची बस व्यवसायी प्रालिसँगको सहकार्यमा ‘पूर्वाञ्चल संयुक्त यातायात व्यवस्थापन’मार्फत आजदेखि बस सञ्चालन गरेको महासङ्घका उपमहासचिव एवम् उपसमितिका संयोजक रजन रोक्काले जानकारी दिनुभयो ।

उक्त व्यवस्थापनमार्फत काठमाडौँबाट काँकडभिट्टा, भद्रपुर, तेह्रथुम, खाँदबारी, ताप्लेजुङ, भोजपुर, इलाम, पशुपतिनगर, धरान, विराटनगर, रङ्गेली, बुधबारे, बनियानी, गाईघाट, लहानलगायतका क्षेत्रमा सवारीसाधन आवतजावत गर्नेछन् ।

उक्त कम्पनीले आजदेखि एउटै व्यवस्थापनमार्फत दसैँका लागि अग्रिम टिकट बुकिङसमेत खोलेका छन् । आगामी दिनमा पूर्व क्षेत्रमा चल्ने सबै व्यवसायीलाई समेट्दै लैजाने उपमहासचिव रोक्काको भनाइ छ ।

हाल काठमाडौँबाट पूर्वमा घोडाघोडी यातायात, विनायक, प्राइम, मितेरी, गोल्डेन गुगल, मकालु, मेची एयर, महालक्ष्मी, स्वयम्भू, मेट्रो कोसी, जगत्माता पाथीभरालगायत कम्पनीका बसहरु सञ्चालन हुँदै आएका थिए ।

नारायणी पूर्वका सबै क्षेत्रमा सञ्चालन हुने बस व्यवसायीलाई एउटै छाताभित्र ल्याएर सञ्चालन गर्ने निर्णयअनुसार ‘पूर्वाञ्चल संयुक्त यातायात व्यवस्थापन’मार्फत बस सञ्चालन सुरु गरिएको मितेरी यातायातका सञ्चालक बिक्की गुरागाइँले बताउनुभयो ।

उक्त व्यवस्थापनअन्तर्गत हाल काठमाडौँबाट पूर्व क्षेत्रमा दैनिक सयभन्दा बढी सार्वजनिक सवारीसाधन आवतजावत गर्नेछन् । हाल काठमाडौँको नयाँ बसपार्क, चावहिल, गौशाला, कोटेश्वरलगायतका क्षेत्रबाट पूर्व क्षेत्रमा बस सञ्चालन हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं