Lite Nepal

सोमबार, साउन २६, २०७७

काठमाडौं । कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)ले भदौ १ गतेदेखि हवाई सेवा, लामो दूरीको सार्वजनिक यातायात खुला नगर्न सरकारसमक्ष सिफारिस गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गएको भन्दै सीसीएमसीले साउन ५ को मन्त्रिपरिषद् निर्णय सच्याउन सिफारिस गरेको हो । यस विषयमा ठोस निर्णय नभएको तर यो कार्यान्वयन गर्नु नहुने विषयमा धेरैको मत मिलेपछि सीसीएमसीले यस्तो सिफारिस गरेको हो ।

‘भदौ १ गतेदेखि हवाई उडान र अन्तर जिल्ला यातायात सञ्चालन गर्ने निर्णय सरकारले गरे पनि सङ्क्रमणको दर बढ्दै गएको अवस्थामा के गर्ने भन्ने विषयमा लामो बिमर्स भएको छ’, मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले भने ।

बैठकमा मुलुकको पछिल्लो अवस्थाको बारेमा महत्वपूर्ण विचार विमर्श भएको छ । स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गराउन, स्थानीय तहले नै आवश्यक संयन्त्रको परिचालन गर्न र त्यसका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच थप समन्वय गर्नुपर्ने विषयमा समेत बैठकमा छलफल भएको गुरागाईंले बताए ।

त्यसैगरी सरकारले मुलुकभर आइसोलेसन र क्वारेन्टिनको अभाव देखिएकाले स्थानीय तहको समन्वयमा थप व्यवस्था गर्ने भएको छ ।

सीसीएमसीको बैठकले काठमाडौँ उपत्यकालगायत देशका अधिकांश जिल्लामा सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले त्यसको व्यवस्थापनका लागि थप आइसोलेसन कक्ष थप गर्ने निर्णय गरेको हो ।

बैठकले स्थानीय तह र जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको समन्वयमा आइसोलेसन र क्वारेन्टिनको थप व्यवस्था गर्ने निर्णय गरेको सचिव गुरागाईंले जानकारी दिए।
सरकारले तोकेका स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड प्रयोग नगर्दा सङ्क्रमणको जोखिमसँगै मृत्युदर बढेको निष्कर्ष पनि बैठकले निकालेको छ । अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्किन र निस्कनै परे स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्न पनि बैठकले आग्रह गरेको सचिव गुरागाईले जानकारी दिए ।

सङ्क्रमितको सङ्ख्या बढ्दै गएको अवस्थामा सर्वसाधारण, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, उद्योगी तथा व्यवसायी सबैलाई सुरक्षित रहन सचिव गुरागाईंले आग्रह गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा