Lite Nepal

बिहिबार, भाद्र ११, २०७७

बेलायत । विश्वभरका वैज्ञानिकहरू यतिखेर कोरोना भाइरस (कोभिड–१९) विरुद्ध खोप विकासमा जुटिरहेका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार हाल १ सय ७० भन्दा बढी वैज्ञानिकहरूको समूह खोप विकासमा जुटेको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालय सहित ७ समूह अहिले तेस्रो चरणको परीक्षणमा व्यस्त छन् । तेस्रो चरणमा हजारौं जनालाई खोप दिएर यसको प्रभावकारिता, साइड इफेक्टस् अनि मानवमा सुरक्षित भएरनभएको जाँचिन्छ ।

सामान्यतः कुनै पनि खोप विकास गर्न वैज्ञानिकलाई वर्षौं लाग्ने भए पनि कोभिड–१९ को खोप एकदेखि डेढ वर्षभित्रै विकास गर्न विश्वका वैज्ञानिक क्रियाशील छन् । अनुसन्धान जारी रहँदा विश्वका कतिपय मुलुकले भने अहिले नै खोप खरिदको सम्झौता गरिसकेका छन् ।

बेलायत सरकारले सम्भाव्य खोपका ३४ करोड डोज लिने सम्झौता गरिसकेको छ । बेलायतले हालसम्म अक्सफोर्ड विश्वविद्यालयले अस्ट्राजेनेकासँग मिलेर विकास गरिरहेको खोप १० करोड, फर्मास्युटिकल जाइन्ट ‘बायोएनटेक’ र फाइजर तथा भल्नेभासँग ९ करोड डोज, जोन्सन एन्ड जोन्सनको स्वामित्व रहेको बेल्जियन फर्मास्युटिकल कम्पनी जेनसिन र अमेरिकी बायोटेक कम्पनी नोभाभ्याक्सको ९ करोड डोज र जीएसके र सानोफी पास्चर्सले परीक्षण गरिरहेका ६ करोड डोज लिन सम्झौता गरिसकेको छ । यसले बेलायतवासी प्रत्येकलाई ५ डोजका दरले खोप पुग्ने सरकारको विश्वास छ । सामान्यतः मानिसलाई दुई खोप भए पुग्ने जनस्वास्थ्यविद्हरू बताउँछन् ।

बेलायती व्यापारमन्त्री आलोक शर्माले सरकारको रणनीतिको खास उद्देश्य सम्भावित खोपहरूमध्ये कुनै एकले काम गर्छ भन्ने निश्चिन्त हुनु रहेको बताए । यो सम्झौताले बेलायती जनतामात्र लाभान्वित नभई विश्वभर नै निष्पक्ष र उचित पहुँचले लाखौं जनताको जीवन रक्षा गर्ने शर्माले जनाएका छन् ।

अमेरिकाले मोडर्नासँग गत मंगलबार १ करोड खोपका लागि सम्झौता गरिसकेको राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइ छ । अमेरिकाले जोन्सन एन्ड जोन्सनसँग पनि करिब १ अर्ब डलरमा १ करोड खोप लिने सम्झौता गरेको छ । अमेरिकाले थप २ करोड अतिरिक्त खोप लिन सक्ने सम्झौतामा उल्लेख छ । ट्रम्प प्रशासनले औषधि उत्पादक सानोफी र ग्लाक्सो स्मिथ क्लाइन (जीएसके) लाई २.१ बिलियन डलरमा १ करोड, फाइजर र बायोएनटेकसँग पनि १.९५ बिलियन डलरमा १ करोड खोपका लागि सम्झौता गरेको छ ।

अमेरिकाले खोप विकासमा अहिलेसम्म करिब ९.५ बिलियन डलर सहयोग गरिसकेको छ । त्यसैगरी, अस्ट्रेलियाले पनि बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालय र बहुराष्ट्रिय कम्पनी अस्ट्राजेनेकाले विकास गरिरहेको खोप लिने सम्झौता गरेको छ ।

ती खोपहरूको परीक्षण सफल भएको खण्डमा अस्ट्रेलियामै उत्पादन गर्ने सहमतिसमेत भएको प्रधानमन्त्री स्कट मरिसनको भनाइ छ । गतसाता मरिसनले कोरोना भाइरसविरुद्धको खोप २ करोड ५० लाख अस्ट्रेलियालीका लागि निःशुल्क उपलब्ध गराइने वाचासमेत गरे ।
मरिसनका अनुसार खोप दिनका लागि आवश्यक पर्ने सुईलगायत अन्य सामग्री खरिदका लागि समेत बेक्टन डिकिन्सन कम्पनीसँग सहमति गरिसकिएको छ । हाल अस्ट्रेलियाका विभिन्न राज्यका करिब आधा दर्जन प्रयोगशालामा भाइरसविरुद्धको खोपको परीक्षण जारी छ ।

उता, रुसले विकास गरेको खोप अगस्टदेखि नै सुरुमा स्वास्थ्यकर्मी र अक्टोबरदेखि सर्वसाधारणलाई दिइने बताइएको छ । रुसका लगानी कोष प्रमुख किरिल डिमिट्राइभले विभिन्न २० देशबाट एक अर्ब बढी डोजको माग भइसकेको दाबी गरेका छन् । मानव परीक्षणको दुई महिनाभित्रै ल्याइएको ‘स्पुतनिक–५’ नामक उक्त खोपको सुरक्षा र प्रभावकारिताबारे भने कतिपय वैज्ञानिकहरूमा आशंका छ ।

युरोपेली आयोगले पनि गतसाता फर्मास्युटिकल कम्पनी अस्ट्राजेनेकासँग ३ करोड खोप किन्न सम्झौता गरेको छ । आयोगले खोप सुरक्षित र प्रभावकारी भए ईयू सदस्य राष्ट्रहरूका निमित्त थप एक करोड डोज किन्नेछ । खरिद गरिएका खोप निम्न तथा मध्यम आय भएका देशमा समेत प्रदान गरिनेछ ।

आफ्नो घरमा मात्र होइन, अत्यावश्यक मानिसलाई विश्वभर नै उपलब्ध गराउन प्रतिबद्ध रहेको आयोगको भनाइ छ । उसले कोरोना महामारीविरुद्ध जुध्न १६ अर्ब युरो उठाइसकेको छ । आयोगले अन्य औषधि कम्पनीहरूसँग पनि खोप खरिदका लागि वार्ता गरिरहेको जनाएको छ ।

अस्ट्राजेनेकाले यसअघि विभिन्न देशमा ४० करोड डोज आपूर्तिको पहिलो सम्झौता गरिसकेको छ । अमेरिकी सरकारबाट १ अर्ब डलर बढी सहयोग पाएको उक्त कम्पनीसँग सन् २०२१ सम्म १ अर्ब डोज उत्पादन गर्ने क्षमता छ ।

अक्सफोर्ड विश्वविद्यालयको सहकार्यमा अस्ट्राजेनेकाले अहिले तेस्रो चरणमा ३० हजार जनामा मानव परीक्षण गरिरहेको छ । उसले विश्वभर सहज र उचित तबरले खोप उपलब्ध गराउन कैयौं देशहरूसँग सहकार्य गरिरहेको पनि जनाएको छ । कम्पनीसँग जर्मनी, फ्रान्स, इटाली र नेदरल्यान्ड्सले पनि ३ करोड खोप किन्न प्रारम्भिक सहमतिमा हस्ताक्षर गरिसकेका छन् । कान्तिपुर दैनिकबाट

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा