Lite Nepal

शुक्रबार, भाद्र १२, २०७७

काठमाडौँ । बुधबार दोस्रोपटक भदौ १७ सम्मका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी राख्ने निर्णय भए पनि नियमित उडान भने तोकिएको समयमै हुने भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मङ्गलबार बेलुका मात्रै भदौ १६ देखि नियमिततर्फको अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गरेको थियो ।

बुधबार मात्रै उपत्यकाभित्रका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप एक हप्ताका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो ।

उक्त निर्णयपछि पनि नियमित उडान तालिका परिवर्तन गर्नुपर्ने कुनै निर्देशन नआएकाले समयमै उडान हुने नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

मन्त्रालयले आगामी बुधबारदेखि एक महिनासम्मका लागि नियमित र चार्टर्डतर्फको अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक गरिसकेको छ ।

जसअनुसार एक महिनाको अवधिमा नियमिततर्फ ५८ वटा उडान हुनेछन् । त्यसमध्ये २९ वटा उडान नेपाली वायु सेवामार्फत हुनेछन् ।

उडान तालिका बनाउँदा सकेसम्म स्वदेशी विमानलाई प्राथमिकतामा राखेर तयार गरिएको मन्त्रालयका सहसचिव सुरेश आचार्यले बताउनुभयो ।

सोमबार तय भएको चार्टर्ड उडानतर्फ आगामी बुधबारदेखि एक महिनासम्म २७ वटा उडान हुनेछन् ।

२१ वटा उडान स्वदेशी विमान कम्पनीले भर्नेछन् । दैनिक बढीमा पाँच सय जना यात्रु मात्र ल्याउने गरी नियमिततर्फको उडान बनाएको मन्त्रालयले जनाएको छ ।

नेगेटिभ रिपोर्ट अनिवार्य

भदौ १६ देखि खुला गरिएको नियमित उडानमा यात्राका लागि सरकारले पीसीआर नेगेटिभ रिपोर्टलाई अनिवार्य गरेको छ ।

उडान हुनु ७२ घण्टाअघिको पीसीआर नेगेटिभ रिपोर्टको आधारमा मात्रै बोर्डिङ पास उपलब्ध गराउन मन्त्रालयले निर्देशन दिएको छ ।

एउटै उडानबाट पीसीआर नेगेटिभ रिपोर्ट आएका यात्रु १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्नुपर्ने छ ।

यात्रुले आफ्नो स्वास्थ्यको जानकारी अनुगमन गर्ने निकाय स्थानीय तह र त्यहाँस्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई गराउनुपर्ने छ ।

नियमित उडानबाट आउने यात्रुले पीसीआर नेगेटिभ रिपोर्टसाथ कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको वेबसाइट ९सीसीएमसी डट जीओभी डट एनपी०मा अनलाइन फाराम भरेर त्यसको बारकोड वा प्रिन्ट कपी साथमा ल्याउनुपर्ने छ ।

यस्तो फाराम छुटेको अवस्थामा बोर्डिङकै क्रममा वायुसेवाले उपलब्ध गराउनुपर्ने छ ।

वायु सेवाले एउटै उडानमा पीसीआर परीक्षण गरेको र नगरेको यात्रु ल्याउन पाउने छैनन् ।

यसरी ल्याएको खण्डमा वायु सेवाले आफ्नै खर्चमा सात दिनसम्म होटल क्वारेन्टाइनमा राख्नुपर्ने छ ।

वायु सेवाले नेपाली नागरिक, कूटनीतिक नियोगमा कार्यरत कर्मचारी, अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रतिनिधि, संयुक्त राष्ट्र सङ्घका नियोगमा कार्यरत कर्मचारी र तिनका परिवार मात्र ल्याउने पाउने छन् ।

सबै यात्रुले सरकारले तोकेको स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गर्नुपर्ने समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा