Lite Nepal

सोमबार, साउन २६, २०७७

काठमाडौं । सरकारले भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई चालु आर्थिक वर्ष २०७७/०७८ भित्रै अन्तर्राष्ट्रिय विमानस्थल प्रमाणीकरण गर्ने भएको छ।

विमानस्थल निर्माणको काम गत आर्थिक वर्षको असार मसान्तसम्ममा ९१ प्रतिशत भइसकेको छ। निर्माणको काम अन्तिम चरणमा पुगेसँगै सरकारले चालु आवभित्रै सञ्चालनमा ल्याउने तयारी गरेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि विमानस्थल सञ्चालनको तयारीका लागि टीमसमेत खटाइसकेको छ। प्राधिकरणले प्रतापबाबु तिवारीको संयोजकत्वमा विमानस्थल तयारीको काम थालेको छ।

विमानस्थल सञ्चालनको तयारीसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) लगायत सरोकारवाला संस्थाहरुको समेत स्वीकृति लिई अन्तर्राष्ट्रिय प्रमाणीकरण गर्ने लक्ष्य लिएको छ।

विमानस्थल निर्माणको काम चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले गरिरहेको छ। अहिले विमानस्थलमा उपकरण जडान र फिनिसिङको काम भइरहेको छ।

सरकारले विमानस्थल निर्माणको समय पनि पुनः थप गर्दै २०२० को डिसेम्बरसम्म पुर्‍याइसकेको छ। सरकारले अब भने विमानस्थल निर्माणको काम तोकिएको समयमै सकिने दाबी गर्दै आएको छ।

यो आयोजना सन् २०१५ मा सुरु भई सन् २०१७ को डिसेम्बरमा सम्पन्न हुने अपेक्षा गरिएकोमा उक्त अवधिभित्र नसकिएपछि संशोधित कार्यतालिकाअनुसार ३१ मार्च २०२० मा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो। उक्त समयमा पनि निर्माण सम्पन्न नभएपछि पुनः समय थप भएको छ। यो आयोजनाको कूल लागत ३० अर्बभन्दा बढी भइसकेको छ।
विमानस्थल निर्माणका लागि जग्गाको मुआब्जा वितरणमा मात्रै २३ अर्बभन्दा बढी खर्च भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमार्फत् दिगो पर्यटन विकास गर्ने लक्ष्यसहित रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध विमानस्थलको निर्माण थालिएको थियो। विमानस्थलको रन–वे ३ हजार मिटरको हुनेछ। साथै विमानस्थलमा अन्तर्राष्ट्रिय भवन, एयरपोर्ट अपरेशन, प्रशासनिक भवन, कन्ट्रोल टावर, अग्नि नियन्त्रण तथा जीवनोद्धार भवनलगायत सञ्चार तथा पथ प्रदर्शक सामग्री जडान गरी अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा स्तरोन्नति गर्ने उद्देश्य सरकारको छ। दक्षिण एसियाली पर्यटन पूर्वाधार विकास परियोजनाअन्तर्गत रहेको यो विमानस्थल निर्माणमा एसियाली विकास बैंक एडिबीको सहयोग छ। यो परियोजना कूल ८५.५५७ मिलियन डलरको हो। प्राधिकरणले चिनियाँ कम्पनीसँग आइसिबी–१ का लागि ७८।३ मिलियन डलरमा सन् २०१४ नोभेम्बर १३ मा सम्झौता गरेको थियो। अन्तर्राष्ट्रिय प्रमाणीकरण गर्न के गुर्न पर्छ?

विमानस्थल निर्माणको काम सम्पन्न भएपछि पनि अन्तर्राष्ट्रिय प्रमाणीकरण गर्न केही समय लाग्छ। विमानस्थलको भौतिक संरचना निर्माणसँगै विमानस्थल सञ्चालनका लागि आवश्यक आइएलएस (इन्स्ट्रुमेन्टल्यान्डिङ सिस्टम), सञ्चार उपकरण, मौसम मापनलगायतका सबै उपकरण जडान पुरा हुनु पर्छ।

विमानस्थल सञ्चालनका लागि आवश्यक सबै भौतिक पूर्वाधार तथा उपकरण जडान भएपछि मात्रै नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय प्रमाणीकरणका लागि अन्तर्राष्ट्रिय संगठन आइकाओमा आवेदन दिनु पर्ने छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा