Lite Nepal

बिहिबार, साउन २९, २०७७

काठमाडौं । कान्तिपुर प्रकाशन गृहमा काम गर्ने पत्रकारहरूमध्ये निरन्तरता र सेवा अवधिका हिसाबले सम्भवत: वरिष्ठतम् बलराम बानियाँको हिजो मंगलबार सन्देहास्पद स्थितिमा निधन भएको छ । आफ्नो काममा निपुण, इमान्दार, परिश्रमी र लोकतन्त्रका मूल्य र मान्यताप्रति शतत: जागरुक ती श्रमजीवी पत्रकारको अवसान उनले काम गर्ने संस्थाको मात्र होइन, राष्ट्रकै लागि समेत् अपूरणीय क्षतिको विषय हो ।

उनको निधनको दुखद समाचार सुनेर म आफू पनि भयङ्कर किसिमले लुटिएको अनुभव गरिरहेको छु । उनी मेरा आत्मीय अनुज थिए यद्यपि कुनै त्यस्तो पारिवारिक साइनो त थिएन हाम्रो । उनी तनहुँका र म काभ्रेको । सँगै काम गर्ने अवसर पनि पाएको होइन । तर उनको राजनीतिक आस्था, पेशागत निष्ठा र स्वभावमा निहित शालीनताका कारण म उनीबाट अत्यन्तै प्रभावित थिएँ । उनी पनि किन हो भन्न सक्दिन, मसँग निक्कै नै झ्याम्मिन्थे । कान्तिपुरले प्रायश: उनलाई नेपाली कांग्रेसको बीटको रिपोर्टिङ गर्न खटाउने गरेकोले कृष्णप्रसाद भट्टराई र शेरबहादुर देउवाबाट कुनै इस्युमा कोट लिनु पर्दा उनले सहजीकरणका लागि मसँग सहयोग पनि लिने गरेका थिए । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल त बानियाँकै जिल्लाको नेता भएकाले उनको खल्तीमै भएजस्तै थिए ।

बलराम बानियाँले गहन अवसाद (कम्पल्सिभ् डिप्रेसन) का कारण आत्महत्या गरेको आशंका पनि गरिँदैछ । म समग्र नेपाली पत्रकारहरूका तर्फबाट, ती होनहार पत्रकारको मृत्यु दुर्घटनाबाट भएको हो कि उनले आत्महत्या गरेको हो, त्यसको गम्भीर अनुसन्धान होस् र यथातथ्य बाहिर ल्याइयोस् भन्ने माग गर्दछु ।

बलराम बानियाँ साँचो अर्थमा श्रमजीवी पत्रकार थिए । उनी चाकरी, चाप्लुसीबाट मात्र होइन, समाचार बेच्ने, अस्वाभाविक आयतनमा फैलाउने वा दबाउने गलत अभ्यासबाट पनि कोसौँ टाढा थिए । तोकिएको तलब बुझ्ने श्रमिक, उनको परिवारको आर्थिक स्थिति सन्तोषजनक नहुन सक्छ । केही थोरै समय नारायण वाग्ले र प्रतीक प्रधानहरूको साथ लागेर नागरिक दैनिकमा गएको र चाँडै फर्किएर आएको बाहेक, बलराम बानियाँले आफ्नो जीवनको २२ वर्षभन्दा बढी समय कान्तिपुरलाई फलाउन फुलाउनमा लगाएका थिए ।

अब उनले लगाएको गुन तिर्ने पालो अथवा कर्तव्य हुन आएको छ कान्तिपुरका प्रकाशक कैलाश सिरोहियाको । उनले उदारतापूर्वक बानियाँकी पत्नीलाई एकमुष्ठ आर्थिक सहायता उपलब्ध गराउनु पर्दछ । त्यो रकम कति हुनु पर्दछ, त्यसको निर्णय मेरा मित्र कैलाशले स्वयम् नै गरुन् । मलाई सोध्छन् भने म भन्नेछु: बानियाँले त्यो सञ्चार साम्राज्य खडा गर्न पसिना बगाएबापत कम्तीमा पनि उनले सेवा गरेको एक वर्ष बराबर १ लाखका दरले पारितोषिक उपलब्ध गराउनु उचित हुनेछ । (वरिष्ठ पत्रकार हरि अधिकारीले फेसबुकमा यस्तो माग गरेका छन् ।)

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा