Lite Nepal

बिहिबार, आश्विन १५, २०७७

विराटनगर । प्रदेश १ मा पहिलो पटक एक बालकको कोरोना संक्रमणका कारण मृत्यू भएको छ ।

मोरङको बूढीगंगा गाउँपालिका–२ टंकीसिनवारीमा रहेको विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत ६ वर्षीय नाबालकको मृत्यु भएको हो ।

धनुषाको जनकपुर उपमहानगरपालिका–२ घर भएका पासवान थरका नाबालकको उपचारका क्रममा बिहीबार दिउँसो ४ बजे मृत्यु भएको अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवले जानकारी दिए ।

उनका अनुसार नाबालकमा संक्रमण पुष्टि हुनुअघि मेनेन्जाइटिसको समस्या रहेको थियो । लामखुट्टेको टोकाइबाट हुने मेनेन्जाइटिसका कारण बेहोस भएका उनलाई असोज ६ गते विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा भर्ना गरिएको उनले बताए ।

ज्वरो आउने, बेहोस हुने र शरीर काप्ने समस्यासँगै अस्पताल भर्ना गरिएका उनको स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा ८ गते रिपोर्ट पोजेटिभ आएको देवले जानकारी दिए ।

कोरोना पुष्टि भएपछि भोलिपल्ट ९ गते नाबालकलाई टंकीसिनवारीको विराट शिक्षण अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । आइसोलेसनमा पु¥याउँदासम्म अत्याधिक ज्वरो र शरीर काप्ने समस्यासँगै नाबालक बेहोस अवस्थामै रहेको उनको भनाइ छ ।

उनका अनुसार कलिलो उमेरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले एकै पटक दुईवटा जटिल रोगको संक्रमण भएका कारण ज्यान गएको हुन सक्छ । उनले लगभग १० दिनअघि बेहोस बनेका नाबालकको बेहोस अवस्थामै ज्यान गएको बताए ।

मृतक नाबालको अभिभावकको आर्थिक अवस्था कमजोर रहेको अस्पतालले जनाएको छ । उनको उपचारमा आइसोलेसनकोबाहेक तीन लाख रुपैयाँ खर्च भएको थियो । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा लागेको सबै खर्च छुट गर्दै शव व्यवस्थापनका लागि पठाइएको अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरले जानकारी दिए ।

नाबालकको मृत्युसँगै पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप पाँच जना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा नाबालकबाहेक सुनसरीका दुई पुरुष, मोरङकी एक महिला र सप्तरीका एक पुरुष छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश १ का विभिन्न कोभिड अस्पतालमा उपचाररतमध्ये मृत्यु हुनेको संख्या हालसम्म ७६ पुगेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं