पोखरीमा हाम फालेर २९ बाँदर मरे
ओखलढुंगा । सिद्धिचरण नगरपालिका–५ स्थित सानीटारमा शुक्रबार र शनिबार गरेर २९ बाँदर पोखरीमा हाम फालेर मरेका छन् ।
शुक्रबार सिंचाइका लागि निर्माण गरिएको पोखरीमा डुबेर २२ वटा बाँदर मरेका थिए । स्थानीयले १२ वटा बाँदरको जिवितै उद्धार गरेका थिए । स्थानीय बासिन्दा र वन डिभिजन कार्यालयका कर्मचारीले उद्धार गरेका हुन् ।
शनिबार दिउँसो फेरि ७ वटा बाँदर पोखरीमा हाम फालेर मरेका स्थानीय देवकुमार दाहालले बताए । उनले बाँदर दैनिक पसेर मर्न थालेपछि पोखरीको पानी खोलेर रित्तो पारेको जनाए । बाँदरले सधैं अन्नबाली खाएर दुःख दिने क्षेत्र मानिने सानीटारमा ठूलो संख्यामा बाँदरको मृत्यु भएको हो ।
सिंचाइका लागि निर्माण गरिएको ६ फिट गहिरो सिमेन्टको पोखरीमा अन्य समयमा पनि बाँदरले आएर पानी खाने गरेका थिए । बाँदरका बच्चा चकचके हुने भएकाले कुनै एक बच्चा उफ्रिने क्रममा खसेकाले निकाल्न अरु बाँदरसमेत पसेको हुनसक्ने वन डिभिजन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले बताए ।
उनले भने, ‘पानीको सतहमाथि हुँदा उनीहरुले सहजै पानी खाएर फर्किन्थे । तर हिजो चाहीँ पानीको सतह तल भएकोले पिउन खोज्दा डुबेर मरेको हुनुपर्छ । एउटा कुनै कारण डुबेपछि अरु पनि पालैपालो पोखरीमा पसेर मरेको हुनसक्ने स्थानीयको अनुमान छ ।’
बाँदरको सामुहिक मृत्यु भएपछि वडाका जनप्रतिनिधि, वन डिभिजन कार्यालयका कर्मचारी र स्थानीयको रोहबरमा मुचुल्का उठाएर सद्गत गरिएको छ । शनिबार समेत बाँदर मरेपछि वन डिभिजन कार्यालयका अधिकृतसहितको टोली घटनास्थल खटाइएको छ ।
त्यही पोखरीमा सधैं पानी खान आउने जाने र पसेपछि निस्कन नसकेको हो भने काठको भ¥याङ राखेर उक्लिने ओर्लने बाटो बनाइदिने तयारी गरेको डिभिजन वन अधिकृत भरतबाबु श्रेष्ठले बताए । यस्तो घटना विगतमा अन्य जिल्लामा सुने पनि यसबारे बृहत अध्ययन नभएकाले कारण यकिन नभएको उनको भनाइ छ ।
केही स्थानीयले भने बाँदरले बाह्रै महिना दुःख दिने भएकाले कसैले पानी खाने ठाउँ पहिचान गरेर विष हालेको हुन सक्ने आशंका गरेका छन् । अन्नपूर्णमा खबर छ ।