Lite Nepal

शनिबार, फाल्गुण ०८, २०७७

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार (आज) विराटनगरमा हुने विशाल आमसभालाई सम्बोधन गर्ने भएका छन् ।

तोकिएकै समयमा निर्वाचन सम्पन्न गराएरै छाड्ने सन्देश दिन प्रदेश १ को राजधानी विराटनगरमा आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सत्ता पक्षले शक्ति प्रदर्शन र बृहत आमसभाको आयोजना गरिएको छ । उत्त आमसभामा प्रधानमन्त्री ओली आउँदैछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा (संसद) विघटन गरेपछि सत्ता पक्षले प्रदेशमा पहिलो पटक अहिलेसम्मकै ठूलो प्रदर्शन र आमसभा गर्न लागेको हो ।

सरकारको नेतृत्व गरिरहेको ओली समूहले प्रदर्शन र जनसभामार्फत वैशाख १७ र २७ गते हुने भनेर घोषणा गरिएको आमनिर्वाचनको सन्देश दिने बताइएको छ ।

त्यस्तै एक्कासि सिर्जना भएको संसद विघटन गर्नैपर्ने बाध्यात्मक अवस्था र त्यसको औचित्यका सन्दर्भमा पनि कार्यक्रममार्फत प्रधानमन्त्री ओलीले प्रष्ट पार्ने नेताहरुले बताएका छन् ।

शक्ति प्रदर्शनपछिको आमसभा स्थल विराटनगर महानगरपालिका–२ स्थित विराट नर्सिङ होमको पूर्वतर्फ रहेको मैदानमा तयार पारिएको छ । कार्यक्रमस्थल सिङ्गार्नेदेखि लिएर सभा आयोजनाका लागि आवश्यक तयारी र व्यवस्थापनका सबै काम पूरा भइसकेको नेकपा केन्द्रीय सदस्य विनोद ढकालले जानकारी दिए ।

कार्यक्रमलाई लक्षित गरेर बिहानैदेखि विराटनगरका चोकचोकमा राष्ट्रिय भावनाले ओतप्रोत भएका र ओलीको समर्थनमा बनेका गीतहरु घन्काइएको छ । दुई साता अघिदेखिनै कार्यक्रमको तयारी थाल्दै ओली समूहले माइकिङ र प्रचारप्रसारको कामलाई तीव्र पारेर लगेको थियो ।

 

सभामा प्रदेश भरीबाट दुई लाख हाराहारी समर्थक उतार्ने ओली समूहको दाबी छ । आमसभालाई प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल, ओली समूहका नेता सुभासचन्द्र नेम्वाङ र प्रदेशका मुख्यमन्त्री शेरधन राई लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रदेशबाट दुई लाख समर्थक सहभागी गराएर जनसभा गर्न लागिएको नेता ढकालले बताए। उनका अनुसार जनसभामा उपस्थिति हुन आउनेहरुका लागि विभिन्न स्थानमा एक हजार पाँच सय सार्वजनिक बसको व्यवस्था गरिएको छ ।

निजी सवारी र मोटरसाइकलमा पनि समर्थक आउने ढकालले बताए। ‘दुई लाख समर्थकलाई सहभागी गराएर बृहत आमसभा गर्ने तयारी छ,’ उनले भने ‘मोटरसाइकल मात्रै १० हजार बढी आउने अनुमान छ। निजी सवारी साधन पनि उत्तिकै संख्यामा हुन्छन् ।’ उनका अनुसार आमसभाका लागि विराटनगरको कञ्चनबारी, रोडशेष, तीनपैनी, हाटखोला लगायतका चोकबाट जुलुस निकालिने छ ।

जनसभाका लागि सम्पूर्ण तयारी पूरा भइसकेकाले प्रधानमन्त्री ओली बिहान ११ बजे विराटनगरमा आउने र सभालाई सम्बोधन गर्दै अरु केही कार्यक्रममा सहभागी बनेर ४ बजे फर्कने तय भएको ढकालले बताए ।

बिहान ११ बजेबाट सुरु हुने जनसभामा एक घण्टा सांस्कृतिक कार्यक्रम पनि गरिने जानकारी उनले दिए। सभामा अत्याधिक भीड हुने भएकाले ओलीसहित शीर्ष नेताहरुले गर्ने सम्बोधनलाई दुई ठाउँबाट स्क्रिनमार्फत देखाउने तयारी छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा