Lite Nepal

आइतबार, जेठ ३०, २०७८

बिर्तामोड । कोरोना महामारीकै बीच अलैंचीले राम्रो मूल्य पाएको छ । विश्व बजारमा नेपाली अलैंचीको माग र मूल्य दुवै बढेको व्यवसायी बताउँछन् । मूल्य राम्रो पाएपछि यस वर्ष नेपाली व्यवसायीका सबै स्टक सकिन लागेको उनीहरूको भनाइ छ । ‘अब २० प्रतिशत मात्रै अलैंची बाँकी होला,’ अलैंची व्यवसायी महासंघका पूर्वअध्यक्ष निर्मल भट्टराईले भने, ‘मूल्य बढ्नु र डिमान्ड पनि राम्रो भएकाले यो वर्ष अलैंची गोदाममा रहँदैनन् होला ।’

कोरोनाका कारण गत वर्ष नेपाली अलैंची भारत हुँदै तेस्रो मुलुक निर्यात हुन सकेको थिएन । अलैंचीको खपत राम्रो हुने मुस्लिम देशहरू कोभिडले प्रभावित हुँदा त्यसको असर नेपाली अलैंचीमा परेको थियो । तर, यस वर्ष त्यो अवस्था छैन । मुस्लिम देशहरू विशेषगरी पाकिस्तानबाट अलैंचीको माग उच्च रहेको महासंघका महासचिव सुबास भट्टराईले जानकारी दिए ।

‘कोभिडका कारण पोहोर मुस्लिम देशहरूले इद पर्व राम्ररी मनाउन पाएनन् । यो वर्ष ती देशहरूमा कोभिडको त्यति ठूलो संकट छैन । त्यसकारण पनि यो वर्ष नेपाली अलैंचीको डिमान्ड बढेर गएको हो,’ अलैंची निर्यातकर्ता ओमकृष्ण बिमलीले भने । उनका अनुसार खडेरीका कारण यस वर्ष औंल भेगका अलैंचीमा डढुवा रोगले क्षति पु¥याएको छ । डढुवाले अलैंचीका बोट नष्ट गरेकाले आगामी वर्ष उत्पादन कम हुन सक्ने बिमलीको अनुमान छ । ‘यस कारण पनि यो वर्ष अचानक अलैंचीको भाउ बढेर गयो,’ उनले भने ।

नेपालमा मात्र नभई भारतमा पनि डढुवा रोगले अलैंचीमा क्षति पु¥याएको व्यवसायी बताउँछन्  । एक पटक अलैंचीको बिरुवा मरेपछि तीन वर्षसम्म उत्पादनमा गिरावट आउने उनीहरूको भनाइ छ । नेपाली अलैंचीको प्रमुख बजार भारत हो । अलैंची भारतको अमृतसार, दिल्ली र कानपुरमा बढी व्यापार हुने गरेको छ । कोरोनाको दोस्रो लहरले दिल्लीसहित भारतमा संक्रमण दर उच्च हुँदा चैत–वैशाखमा एक महिना नेपाली अलैंचीको भारत निर्यात ठप्प बनेको थियो । निर्यात खुलेलगत्तै अलैंचीको माग र मूल्य वृद्धि भएको पूर्वअध्यक्ष भट्टराईले बताए ।

अलैंची व्यवसायी महासंघका अध्यक्ष राजकुमार कार्कीले शुक्रबार नेपाली अलैंची चलनचल्तीको प्रतिमन ३० हजार, कटिङ गरेको १ नं। प्रतिमन ३२ हजार र २ नं। प्रतिमन ३१ हजार रुपैयाँमा खरिदबिक्री भएको बताए । तर, अलैंची निर्यात व्यवसायी बिमलीले बिहीबार बिर्तामोडका व्यवसायी लक्ष्मी गुरागाईंसँग प्रतिमन ३४ हजार रुपैयाँका दरले अलैंची खरिद गरेको बताए । ‘जसले जे भने पनि अलैंचीको मूल्य बढिरहेको छ । बिहीबार मात्र मैले ३४ हजार रुपैयाँ मनका हिसाबले १२ सय ५० केजी अलैंची किनेको छु ।’ वैशाखमा प्रतिमन २३ हजार रुपैयाँमा बिक्री भएको अलैंची अहिले ३४÷३५ हजारसम्म पुगेको व्यवसायी बताउँछन् । कान्तिपुर

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा