Lite Nepal

शनिबार, आषाढ ०५, २०७८

काठमाडौ । लगातारको वर्षाका कारण सिन्धुपाल्चोकको लिपिङ पुलसँगैको सडक भाँसिदा त्रिवि शिक्षण, वीर र नर्भिक अस्पतालका लागि ल्याइएको अक्सिजन प्लान्ट तातोपानीमै रोकिएको छ ।

मितेरी पुलभन्दा करीब २०० मिटर तल रहेको लिपिङ पुलसँगैको सडक भासिएकाले अक्सिजन प्लान्ट बोकेको कन्टेनर काठमाडौँ ल्याउन नसकिएको आयातकर्ता विध म्यानेजमेन्टले जनाएको छ ।

कोरोना महामारीको दोस्रो लहर बढेसँगै राजधानीका ठूला अस्पतालमा अक्सिजनको अभाव भएपछि चीनबाट अक्सिजन प्लान्ट खरीद गरिएको थियो । चीनबाट आयात गरिएको अक्सिजन प्लान्ट सडक अवरुद्ध हुँदा तातोपानी क्षेत्रमै रोकिएपछि आयातकर्ता विध म्यानेजमेन्टले ‘एयर लिफ्टिङ’ मार्फत ल्याउन सहजीकरणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग आग्रह गरेको छ

विधले स्वास्थ्य मन्त्रालयललाई पत्र लेख्दै एयर लिफ्टिङका लागि सेनाको एमआई १७ हेलिकोप्टरको व्यवस्था गरिदिन भनेको छ । “लिपिङ भन्सार यार्डबाट एयर लिफ्टिङ गर्न सकिने सम्भावना छ”, विध म्यानेजमेन्टका निर्देशक बीके भण्डारीले भन्नुभयो, “त्यहाँबाट करीब ५०० मिटर दूरीसम्म एयर लिफ्टिङका लागि सहजीकरण गरिदन अनुरोध गरिएको हो ।”

सानो क्षमताको हेलिकप्टरले उक्त सामग्री बोक्न नसक्ने भएकाले सेनाकै हेलिकोप्टरका लागि सहजीकरण गरिदिन मन्त्रालयसमक्ष आग्रह गरिएको निर्देशक भण्डारीले बताउनुभयो । कोभिड–१९ युनिफाइड अस्पतालका प्रमुख प्राडा जागेश्वर गौतमले सडक अवरुद्ध भएर रोकिएका अक्सिजन प्लान्ट ल्याउन सम्बन्धित निकायसँग छलफल भइरहेको जानकारी दिनुभयो ।

ढुवानीकर्ता सिल्क ट्रान्सपोर्टले लिपिङ पुल बिग्रिएकाले तत्कालै सडकमार्गबाट अक्सिजन प्लान्ट काठमाडौँ लैजान नसकिने भएकाले एयर लिफ्टिङका लागि विध म्यानेजमेन्टलाई अनुरोध गरिएको जनाएको छ ।

“हामीले एयर लिफ्टिङको सुझाव दिएको छौँ”, सिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पाले भन्नुभयो । पचास क्युविक लिटर प्रतिघण्टा क्षमताको आठ थान र १५ क्युविक मिटर प्रतिघण्टाका तीन थान ३० क्युविक मिटर प्रतिघण्टाको दुई थान अक्सिजन प्लान्ट तातोपानी क्षेत्रमा रोकिएको हो । त्रिवि शिक्षण, वीर र निर्भिक अस्पतालका लागि ल्याइएका अक्सिजन प्लान्टको क्षमता ५० क्युविक लिटर प्रतिघण्टा छ ।

केन्द्रीय कोभिड युनिफाइड अस्पातल (वीर) मा नबिल बैंक लिमिटेड र टिचिङ अस्पतालमा नेपाल उद्योग परिसङ्घले अक्सिजन प्लान्ट सहयोग गर्न लागेका हुन् ।

चौधरी फाउण्डेशनको सहयोगमा सुर्खेत र धनगढी तथा अन्य स्थानका अस्पतालका लागि प्लान्ट ल्याइएको आयातकर्ताले जनाएको छ । ठूला अस्पतालका लागि ल्याइएका ती प्लान्ट सडक अवरुद्ध हुँदा बीच बाटामै रोकिएका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं