Lite Nepal

मंगलबार, आश्विन १२, २०७८

विराटनगर । मोरङ उर्लाबारीका सनम शाक्य ह*त्या प्रकरणको अनुसन्धान गर्ने क्रममा खुलेको लगभग ३८ क्विन्टल सुन तस्करी सम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ जारी छ। फैसलाको चरणमा रहेर जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा भइरहेको सुनुवाइमा मंगलबारदेखि प्रतिवादीतर्फका कानुन व्यवसायीले लगातार बहस गर्ने छन्। प्रतिरक्षा बहसका लागि ८० जनाभन्दा बढी कानुन व्यवसायीले वकालातनामा दर्ता गराएको अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले बताए।

उनका अनुसार गत आइतबारबाट मुद्दाको सुनुवाइ सुरु भएको हो। आइतबार र सोमबार वादी नेपाल सरकारका तर्फबाट सरकारी वकिलहरुले बहस गरे। सरकारका तर्फबाट उच्च सरकारी वकिल कार्यालय विराटनगरका सहन्यायाधीवक्ता ज्ञानप्रसाद भुसाल, सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधीवक्ता रामहरि शर्मा काफ्लेले र मोरङका सहायक जिल्ला न्यायाधीवक्ता मनिषबाबू पोखरेलले बहस गरेका हुन्।

उनीहरुले मुद्दामा प्रतिवादी बनाइएकालाई विगोबमोजिम जरिवाना र कैद सजायको मागदाबी गरेका छन्। सरकारी वकिलको बहस सकिएपछि सोमबार एक जना प्रतिवादीको पक्षमा पनि बहस भएको छ। प्रतिवादीमध्येका पूर्वडीआईजी गोविन्दप्रसाद निरौलाको पक्षमा अधिवक्ता भानुभक्त निरौलाले बहस गरेका हुन्। उनले सुन तस्करी र सनम ह*त्यामा संलग्न नभएको दाबी गर्दै पूर्वडीआईजी निरौलालाई सफाइ दिनुपर्ने जिकिर गरेका छन्।

सूचना अधिकारी धमलाका अनुसार प्रतिवादीका कानुन व्यवसायीको बहस नसकिएसम्म मुद्दाको सुनुवाइ जारी रहने छ। प्रतिवादी पक्षको बहस सकिएपछि उनीहरुले उठाएका विषयलाई लिएर सरकारी वकिलले प्रतिवाद बहस गर्ने उनको भनाइ छ। सरकारी वकिलको प्रतिवाद बहसपछि भने अदालतले बहुचर्चित यो मुद्दाको फैसला गर्ने जानकारी धमलाले दिए। उच्च प्रहरी अधिकारीसहित ७७ जना प्रतिवादी रहेको यस मुद्दामा उनीहरुका कानुन व्यवसायीलाई बहस सक्न केही दिन समय लाग्नसक्ने उनको भनाइ छ। मुद्दामा मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीलाई बनाइएको छ।

तस्करी गरेर दुवईबाट ल्याएको सुन गायब बनाएको आरोपमा गोरेको समूहले करेन्ट लगाएर यातना दिँदा २०७४ साल फागुन १८ गते उर्लाबारी नगरपालिका–१ मा सनम शाक्यको मृत्यु भएको थियो। गोरेकै ‘सेटिङ’मा र व्यापारीको लगानीमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दुवई लगायतका देशबाट नेपालतिर सुन तस्करी हुने गरेको अनुसन्धानबाट पत्ता लागेको छ। सन् २०१५ जुलाईदेखि २०१६ अगस्टसम्ममा लगभग ३८ क्वीन्टल सुन तस्करी गरेर नेपाल ल्याइएको अनुसन्धानबाट खुलेपछि त्यही बराबरको बिगो मागदाबीसहितको मुद्दा अदालतमा दर्ता गरिएको थियो।

जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा सरकारी वकिल कार्यालय मोरङले २०७५ वैशाख १९ गते मुद्दा दायर गरेको हो। मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रूपैयाँ बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम (करिब ३८ क्वीन्टल) सुन अवैध रुपमा आयात गरिएको दाबी गरिएको छ। सुरुमा ६३ जना प्रतिवादी रहेको मुद्दामा तीन पटकसम्म पूरक अभियोग दर्ता गर्दा प्रतिवादी संख्या ७७ पुगेको हो। प्रतिवादीमध्ये ५५ जना पक्राउ परिसकेका छन् भने २२ जना अझैसम्म फरार रहेको सूचना अधिकारी धमलाले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा