Lite Nepal

बुधबार, मंसिर २१, २०७९

ताप्लेजुङ — हरेक बिहान माथिल्लो फेदीबाट उकालो चढ्ने र दिउँसो ओरालो झर्ने राजेन्द्र महतले रेडपान्डाका बच्चाको हूल देखे । क्याउँक्याउँ कराउँदै आफूनजिक आएका बच्चालाई तीर्थयात्रीले हातले सुमसुम्याए र फोटो/भिडियो कैद गरे ।

एउटा माउको पछिपछि तीन बच्चा हिँडिरहेको दृृश्य तीर्थयात्रीका लागि अनौठो थियो । पाथीभरा मन्दिरका कर्मचारीसमेत रहेका राजेन्द्रले नजिस्क्याउन र अलग्गैबाट तस्बिर लिन तीर्थयात्रीलाई सुझाए । मानवीय दूरीबाट टाढिँदै जब बच्चाहरू आफ्नो आमाको साथमा गन्तव्यतर्फ लागे, तब मात्रै राजेन्द्रले पनि आफ्नो यात्रा तय गरे । ‘यत्तिको संख्यामा रेडपान्डाका बच्चा नियाल्न पाएको यो नै पहिलो पटक हो,’ उनले भने ।

पाथीभरा क्षेत्रमा असोज १२ गते बिहान हूलै हिँडेका रेडपान्डाका बच्चा देखिनु सुखद पक्ष हो । तर यहीँका देउराली, सेवारोचोक, भालुगौंडे लगायतका क्षेत्रमा पटकपटक मृत रेडपान्डा भेटिएका छन् । डिभिजन वन कार्यालय, रेडपान्डा नेटवर्क र हिमाली संरक्षण मञ्चको सहकार्यमा जिल्ला पशु सेवा कार्यालयका भेटेरिनरी डाक्टरले तिनको पोस्टमार्टम पनि गरेका छन् ।

मलसाप्रो, कुकुरजस्ता जनावरको आक्रमणबाट रेडपान्डाको मृत्यु भइरहेको प्रतिवेदन नै तयार भएको छ । मृत भेटिएका र माउसँग जीवितै भेटिएकाले पाथीभरा क्षेत्र रेडपान्डाको राम्रो बासस्थान हो भन्ने पुष्टि गर्छ ।

यिनै तथ्यहरूले यो क्षेत्रलाई रेडपान्डा संरक्षण क्षेत्र कसरी बनाउन सकिन्छ भन्ने विषयको बहस पनि सुरु भएको छ । अन्य कुनै जनावर र बालीनालीमा समेत क्षति नपुर्‍याउने रेडपान्डा यो क्षेत्रमा प्रशस्त रहेको अनुमान स्थानीय र संरक्षणकर्मीको छ ।

रेडपान्डा नेटवर्कका कार्यक्रम संयोजक वाङचुक भोटियाले रेडपान्डाको राम्रो उपस्थिति देखेर यही क्षेत्रको देउरालीमा अध्ययन केन्द्र बनाएको बताउँछन् । यहाँ आधुनिक किसिमको भवन बनाइएको छ । गर्मीमा गर्मी र जाडोमा चिसो नहुने खालको सामग्री प्रयोग गरी भवन बनाइएको हो । नेटवर्कले स्थानीय गैरसरकारी संस्थासँगको सहकार्यमा संरक्षणको काम गर्दै आएको छ । ताप्लेजुङमा काम गर्ने संस्था हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार कोरोना महामारीअघिसम्म विदेशमा क्रियाशील संरक्षणकर्मी पाथीभरा क्षेत्रमा अध्ययनका लागि आएका थिए । उनीहरूले प्रशस्त मात्रामा फोटो र भिडियो खिच्ने अवसर पनि पाए । यो क्षेत्रलाई रेडपान्डा क्षेत्र बनाउनका लागि आफूहरूले सरकारी निकायसँग अनुरोध गरेको राई बताउँछन् ।

रेडपान्डा संरक्षणका लागि पाथीभरा क्षेत्रका सामुदायिक वनले अनुशासनको पालना पनि गरेका छन् । रेडपान्डा गर्भवती हुने समय साउनदेखि र बच्चा जन्माउने र हुर्काउने अवधि असोजसम्म यहाँ बासिन्दा घाँसदाउरा गर्न जंगलमा जाँदैनन् । सामुदायिक वनले आफ्नो वार्षिक कार्ययोजनामा नियम नै बनाएको सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष सुरज ओझा बताउँछन् । सुकेटारदेखि काफ्लेपार्टीसम्म गाडीमा हर्न बजाउन पनि निषेध गरिएको छ । यहाँ आउने कुकुरबाट भने चुनौती रहेको उनले बताए ।

पाथीभरामा गरिने बलिको मासु खोज्दै कुकुरहरू जान्छन् । रेडपान्डा नेटवर्कका भोटिया कुकुर न्यूनीकरणका लागि तीन वर्षसम्म लगातार बन्ध्याकरण शिविर चलाएको बताउँछन् । ‘मार्ने कुरो भएन,’ वाङचुकले भने, ‘पालेर बाँध्न भन्यौं, बच्चा नजन्माओस् भनेर बन्ध्याकरण शिविर चलायौं ।’ वन्यजन्तु पाइने क्षेत्रमा जैविक अध्ययन गरेर मात्रै सडक विस्तार गरिदिन, वनजंगलमा डढेलो नलगाउन र संरक्षण गर्नुको कारणका विषयमा समुदायलाई सचेत बनाउन कार्यक्रम भइरहेका छन् ।

पूर्वमा ताप्लेजुङ, पाँचथर, इलाम, खोटाङ, संखुवासभा, भोजपुरलगायत पहाडी जिल्लामा रेडपान्डा पाइन्छन् । रेडपान्डा नेटवर्कले छ वर्षअघि गरेको अध्ययनले ताप्लेजुङ, पाँचथर र इलाममा मात्रै तीन सय हाराहारीमा रहेको अनुमान गरेको थियो । पाँचथर र इलाममा कलरिङ गरेर पनि अध्ययन भइरहेको छ । देशभर करिब ६ सयको संख्यामा रहेको अनुमान छ । यति थोरै संख्यामा रहेको जनावरको छाला चोरी तस्करीमा पक्राउ पर्ने क्रम भने अहिले पनि रोकिएको छैन । आफू निर्वाचित भएपछि पाथीभरा क्षेत्रलाई मन्दिर दर्शनसँगै वन्यजन्तुको अवलोकन स्थल बनाउन अध्ययन गरिरहेको फुङलिङ नगरपालिका प्रमुख अमिर मादेन बताउँछन् ।

‘मैले संरक्षणकर्मी साथीसँग पनि छलफल गरिरहेको छु,’ उनले भने, ‘योजना शाखा र इन्जिनियरसँग कुरा भइरहेको छ, एउटा निष्कर्षमा पुग्छौं ।’ प्रतिनिधिसभामा निर्वाचित सांसद योगेशकुमार भट्टराई जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिइरहेका बेला यसको न्यूनीकरण र पर्यटन प्रवर्द्धनका लागि विशेष योजना ल्याएर काम गर्नुपर्ने र आफू त्यो दिशामा लाग्ने बताउँछन् । रेडपान्डालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत अनुसूची १ मा सूचीकृत गरिएको छ । नेपाल, सिक्किम, बर्मा, दक्षिण चीनमा पाइने यो प्राणी नेपालका लाङटाङ, सगरमाथा, कञ्चनजंघा, मकालुजस्ता संरक्षण क्षेत्रमा पाइन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा