Lite Nepal

बिहिबार, चैत्र ०२, २०७९

काठमाडाैं – चैत २ मा कीर्तिपुरस्थित, त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आईसीसी लिग-२ अन्तर्गतको खेलमा संयुक्त अरब इमिरेट्स ( यूएई)लाई पराजित गरेसँगै नेपाल क्रिकेटको एकदिवसीय अन्तर्राष्ट्रिय विश्वकप क्वालिफायरमा छनोट भयो। एक शताब्दी पहिला शुरू भएको नेपाली क्रिकेटका लागि यो अहिलेसम्मकै ठूलो उपलब्धि हो। सन् १९२० को दशकमा विदेशमा पढेर फर्केका राणा परिवारका सदस्यहरूले नेपालमा क्रिकेट भित्र्याएका थिए।

फागुन २८ मा युएईलाई नै हराएर नेपालले आगामी चार वर्षका लागि एकदिवसीय मान्यता जोगाइसकेको छ। नेपालले २०७४ चैतमै पहिलो पटक एकदिवसीय देशको मान्यता पाएको थियो। त्यसअघिसम्म नेपालको उपलब्धि भनेकै सन् २०१४ मा बाङ्लादेशमा भएको टी-२० विश्वकप खेल्नु थियो।

फागुन ११ मा प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिदेशीय श्रृङ्खला ‘क्लिन स्वीप’ गरेको भन्दै खेलाडीलाई जनही दुई-दुई लाख नगद पुरस्कार दिने घोषणा गर्दा नेपालले विश्वकप क्वालिफायरमा छनोट र एकदिवसीय मान्यता दुवै पाएको थिएन।

स्कटल्यान्ड जस्तो लिगको शीर्षस्थानमा रहेको बलियो प्रतिद्वन्द्वीलाई पराजित गरेको भए पनि नेपाल सात देश सम्मिलित लिगको अंक तालिकामा पुछारबाट एक स्थान मात्रै माथि थियो। २८ खेलबाट जम्मा २६ अंक जोडेको नेपालले विश्वकप क्वालिफायरमा छानिन आठमध्ये सात खेल जित्नै पर्ने थियो भने एकदिवसीय मान्यता कायम राख्न पनि पाँच जित्न निकाल्नै पर्थ्यो।

नभन्दै टीम नेपालले अपेक्षित नतिजा निकाल्यो र इतिहास रच्यो। पछिल्लो १२ मध्ये जम्मा एउटा खेलमा पराजित भएको नेपालले २२ अंक जोड्न सफल भयो।

विश्वकप पुग्ने बाटो

आउँदो अक्टोबर-नोभेम्बरमा भारतमा एकदिवसीय विश्वकप प्रतियोगिता हुँदै छ। यसमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन्। त्यसमा छनोट हुन आईसीसीले हुने तीन वटा बाटो तय गरेको छ, ‘सुपर लिग’, ‘विश्वकप लिग-२’ र ‘प्ले अफ’। सुपर लिगमा १३ टोली प्रतिस्पर्धा गरिरहेका छन्। जसमा टेस्ट खेल्ने १२ देश र नेदरल्यान्डस् छ। यो प्रतियोगिताबाट शीर्षस्थानमा रहेका आठ देश सोझै विश्वकप खेल्न पाउनेछन्। जसमा आयोजक भारतसँगै अफगानिस्तान, अस्ट्रेलिया, बाङ्लादेश, इङ्ल्यान्ड, न्यूजिल्यान्ड र पाकिस्तान छनोट भइसकेका छन्।

सुपर लिगबाट थप एउटा देश छनोट हुन बाँकी छ। जसका लागि श्रीलंका, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र आयरल्यान्डबीच प्रतिस्पर्धा भइरहेको छ। एक टोली छनोट भएपछि बाँकी तीन टोलीले विश्वकप छनोट प्रतियोगिता खेल्नुपर्नेछ।

सुपर लिगको पुछारमा रहेका जिम्बाबे र नेदरल्यान्डस् सहित माथिका चार देशमध्ये तीन देशले विश्वकप छनोट प्रतियोगिता खेल्नुपर्नेछ। यसरी सुपर लिगबाट तल झरेका पाँच देशले भारतमा हुने विश्वकपमा भाग लिन छनोट प्रतियोगितामा खेल्नुपर्नेछ।

त्यस्तै, विश्वकप छनोट प्रतियोगितामा लिग-२ बाट शीर्ष तीन टोली आउनेछन्। चैत २ गते यूएईलाई हराएसँगै नेपाल पनि छनोट प्रतियोगितामा पुगेको हो। स्कटल्यान्ड र ओमन यसअघि नै पुगिसकेका थिए।

यससँगै लिग-२ बाट तीन टोली छनोट हुँदा बाँकी रहेका चार टोलीले ‘प्ले अफ’ खेल्नुपर्नेछ। अहिले नेपालसँग हारेको यूएई, नामिबिया, अमेरिका र पपुवा न्युगिनी ‘प्ले अफ’मा झरेका छन्।

प्ले अफमा ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ। लिग-२ बाट झरेका यी चार टोलीसँगै च्यालेन्ज लिगबाट आएका न्यू जर्सी र क्यानडाले प्लेअफमा प्रतिस्पर्धा गर्नेछन्। प्ले अफका शीर्ष दुई टोली पनि विश्वकप छनोट प्रतियोगिता खेल्न पाउनेछन्।

विश्वकप छनोट प्रतियोगिता आगामी असारमा जिम्बाबेमा हुँदै छ। त्यसमा सुपर लिगबाट तल झरेका पाँच देश, लिग-२ बाट आएका नेपालसँगै स्कटल्यान्ड र ओमन तथा प्ले अफबाट आउने दुई गरी नौ टोलीबीच प्रतिस्पर्धा हुनेछ।

विश्वकप छनोट प्रतियोगिता खेल्ने नौ टोलीमध्ये शीर्ष दुई टोली भारतमा हुने विश्वकप खेल्न पाउनेछन्। यसरी सुपर लिगबाट आएका आठ टोली र विश्वकप छनोटबाट आएका दुई गरी १० टोलीबीच विश्वकप हुनेछ।

आउँदो असारमा हुने छनोट प्रतियोगितामा अझ उत्कृष्ट प्रदर्शन गरेर शीर्ष दुई स्थानमा रहन सक्यो भने नेपालको विश्वकप खेल्ने सपना पूरा हुनेछ।

अहिलेसम्मको उपलब्धिका लागि नेपाली क्रिकेटसँग जोडिएका सबैको मुक्तकण्ठले प्रशंसा गर्नै पर्छ। तर, नेपाली क्रिकेटलाई अगाडि बढाउन यति मात्र पर्याप्त छैन। तीन साता अघि बालुवाटार बोलाएर सम्मान गरेका प्रधानमन्त्रीले कम्तिमा त्यो भन्दा ठूलो सम्मान खेलाडी सहित टीमका सबैलाई गर्नै पर्छ।

योसँगै बिर्सन नहुने पक्ष के हो भने बलात्कार अभियोग लागेका सन्दीप लामिछानेलाई क्रिकेट खेल्न नै लागि धरौटीमा रिहा गरिएको हो भने त्यो कदापि स्वीकार्य हुन सक्दैन। कानूनको नजरमा सबै समान हुनै पर्छ, कुनै पनि शर्तमा लैंगिक हिंसा क्षम्य हुनै सक्दैन। त्यसो नहुँदो हो त, प्रधानमन्त्री दाहालले हात मिलाउन योग्य ठानेका लामिछानेसँग स्कटल्यान्डका खेलाडीले हात मिलाउन अस्वीकार गर्ने थिएनन्। आरोपित लामिछानेलाई राष्ट्रको प्रतिनिधित्व गर्न दिएर, विदेश जाने छुट दिने लगायतको ‘प्रिभिलेज’ सर्वोच्चले दिएको छ, यसमाथि स्वयं कानून व्यवसायीहरूले प्रश्न उठाइरहेकै छन् ।

यस्ता अनेक प्रश्न र संशयका बाबजुद क्यान, प्रशिक्षक र खेलाडीले देशलाई यस्तो ऐतिहासिक अवसर दिलाएका छन्, जसबाट ‘किन्तु, परन्तु’ जुनसुकै वहानामा पछाडि फर्कने सुविधा सरकारलाई छैन। नेपाली क्रिकेटलाई कस्तो आकार दिने भनेर ‘बोल्ड’ निर्णय नगरि नहुने समय हो यो।

तातेकै वेलामा ह्यामर प्रहार गर्न सके मात्रै फलामलाई चाहेको आकार दिन सकिन्छ। खेलाडीलाई पर्याप्त सुविधा, राजनीतिक हस्तक्षेप मुक्त व्यवस्थापन, पूर्वाधारको विकास र पर्याप्त लगानी गर्ने हो भने हाम्रो स्वर्णीम यात्रा सम्भव छ। बधाई, टीम नेपाल!

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा