Lite Nepal

आइतबार, चैत्र २६, २०७९

झापा – भारतले नेपाली चियामा ‘४० प्रतिशत कर लगाउने’ तयारी गरेपछि सरोकारवाला चिन्तित देखिएका छन्। ४० होइन, ५ प्रतिशत मात्र कर लगाए पनि नेपाली चिया उद्योग धराशायी हुने बताउँछन् राष्ट्रिय चिया तथा कफी विकास बोर्डका सदस्य आदित्य पराजुली। उनका अनुसार अहिलेसम्म बिनाकर निकासी भइरहेको छ।

नेपालले भारतबाट आयातित चियामा ४० प्रतिशत कर पुर्‍याएपछि उसले पनि नेपाली उत्पादनमा आँखा लगाएको उनको भनाइ छ। ‘पहिला ३० प्रतिशत कर हुँदा भारतीय पक्षले त्यसबारे आवाज उठाएको थिएन’, नेपाल चिया उत्पादक संघका उपाध्यक्षसमेत रहेका पराजुलीले शनिबार एक कार्यक्रममा भने, ‘सरकारले १० प्रतिशत कर बढाएसँगै भारतीय पक्षले पनि नेपाली चियामा ४० प्रतिशत कर लगाउन खोजिरहेको छ।’

टी बोर्ड अफ इन्डियाले नेपालको चिया चीनलगायत तेस्रो मुलुकबाट आयातित गुणस्तरहीनको संज्ञा दिँदै आएको उनको भनाइ छ। उनका अनुसार भारत निकासी हुने चिया नेपाली उत्पादन हो। ‘यो कुरा भारत सरकारसमक्ष पुर्‍याउन नेपाल सरकारले तत्काल ठोस कदम चाल्नुपर्छ’, उनले भने।

इलामको गोर्खा टी स्टेटका प्रमुख उदय चापागाईंले भारत निकासी हुने नेपाली चियामाथि अंकुश लगाउने काम हाम्रै सरकारबाट भइरहेको गुनासो गरे। बेलैमा सचेत हुन उद्योगी तथा व्यवसायीलाई उनले आग्रह गरे। भारतीय पक्षबाट बारम्बार जुन प्रहार भइरहेको छ त्यसप्रति परराष्ट्र, कृषि, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका मन्त्री तथा सचिवले कूटनीतिज्ञ पहल नगर्दा उद्योगी तथा व्यवसायीले त्यसको असर भोगिरहनुपरेको उनले बताए।

‘अहिलेसम्म सरकारले देशमा एउटा अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रयोगशाला स्थापना गर्न सकेको छैन’, चापागाईंले भने, ‘नेपालमा प्रयोगशाला नहुँदा यहाँका चिया उद्योगी तथा व्यवसायी भारतको भर पर्नुपरेको छ। योभन्दा ठूलो विडम्बना अरू केही छ ?’

भारतले नेपालको चियालाई सेन्ट्रल फुड ल्याब कोलकातामा परीक्षण गराएर मात्रै निकासीको अनुमति दिँदै आएको उनले सुनाए। ‘नेपालमै परीक्षण हुँदा कोलकाता धाउनु त पर्दैन थियो। उनीहरूले दिएको गलत रिपोर्टसम्म त यहाँका उद्योगी तथा व्यवसायीहरूले मान्नु पर्दैन थियो’, उनले भने, ‘अब नेपाली चियाको ब्रान्डिङ र बजारीकरणमा हामी सबै लाग्नुपर्छ।’ नेपाली अर्थोडक्स चिया अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सर्वोत्कृष्ट घोषित भइसकेकोले अब भारतबाहेक अन्य देशमा बजारा विस्तार गर्न लाग्नुपर्ने उनले बताए।

नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेशकुमार मित्तलले भारतका लागि नेपाली गुणस्तरयुक्त चिया फेरि टाउको दुखाइ बन्दै गएको बताए। ‘नेपाली चियालाई प्रतिबन्ध लगाउन टी बोर्ड अफ इन्डियाले आयातकर्तामाथि विभिन्न अंकुश लगाउने काम गरिरहेको छ’, उनले भने, ‘नेपाली चियालाई दार्जिलिङ चिया भन्दै ब्रान्डिङ गरी विश्वबजारमा पुर्‍याउने काम भारतले गरिरहेको बेला नेपाली चिया कसरी गुणस्तरहीन बन्न पुग्यो त ?’

कलकत्तास्थित नेपाली महावाणिज्य दूत ईश्वरराज पौडेलका अनुसार नेपाली चिया र यार्सा गुम्बाको समस्या उस्तै रहेको बताए। ‘यी दुवैको समस्या नै ब्रान्डिङ हो,’ महावाणिज्य दूत पौडेलले भने, ‘नेपाली चियालाई विश्वबजारमा चिनाउन अब ब्रान्डिङमा लगानी गरी बजारीकरणमा लाग्नुपर्ने बेला आएको छ।’

महावाणिज्य दूतावासले भारतीय पक्षसँग छलफल गरी समस्याको समाधान गर्ने प्रयास गरेको उनले सुनाए। ‘चिया निकासी समस्याको समाधानका लागि दुवै देशबीच उच्चस्तरीय वार्ता हुन जरुरी छ, त्यसका लागि मेरो प्रयास जारी छ।’

नेपाली चियामा कर लगाउने तयारी र पुनः ब्रान्डिङ गरी भारत निकासी भइरहेको बारेमा आफूलाई जानकारी नआएकाले यस बारेमा भारतीय पक्षसँग पुनः कुराकानी गर्ने उनको भनाइ थियो। ‘चिया नेपालमै उत्पादन हुन्छ, तेस्रो मुलुकबाट आयातित चिया पुनः ब्रान्डिङ गरी भारत निकासी हुँदैन’, उनले भने।

मेची भन्सार कार्यालय काँकडभिट्टामा शनिबार नेपालको चिया तथा कृषिजन्य उत्पादन निकासी प्रवद्र्धनबारेमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो। पूर्वी नाका काँकडभिट्टाबाट गत वर्षको तुलनामा यस वर्ष चिया निकासी बढेको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख रामप्रसाद पाठकले बताए। गत आर्थिक वर्ष २०७८/७९ मा १ करोड १७ लाख किलो निकासी भयो छ। जसबाट ३ अर्ब बढी राजस्व उठ्यो। चालू आर्थिक वर्ष २०७९/८० को फागुनसम्म १ करोड २६ लाख किलो निर्यात भएको छ। जसबाट २ अर्ब ५२ करोड राजस्व उठेको मेची भन्सार प्रमुख पाठकले बताए। अन्नपूर्णमा खबर छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा