Lite Nepal

सोमबार, माघ ०५, २०८२

झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपालका रैथाने उत्पादनहरूको निर्यातमा उत्साहजनक वृद्धि देखिएको छ।

साउनदेखि पुस मसान्तसम्मको अर्धवार्षिक अवधिमा मात्रै ७ अर्ब १९ करोड ९५ लाख रुपैयाँ बराबरको ३४ लाख ६१ हजार केजी अलैँची निर्यात भएको छ। मेची भन्सार कार्यालयका अनुसार यो निर्यात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५८ प्रतिशतले बढी हो। अलैँचीसँगै छुर्पी, भेनियर सिट र मुसुरो दालको वैदेशिक व्यापार पनि निकै फस्टाएको छ।

विशेषगरी तेस्रो मुलुकमा कुकुर र बिरालोको खानाका रूपमा लोकप्रिय बनेको नेपाली छुर्पीको निर्यातमा ६६ प्रतिशतको वृद्धि देखिएको छ। छ महिनाको अवधिमा ७६ करोड ५ लाख रुपैयाँ बराबरको छुर्पी विदेशिएको छ, जुन गत वर्ष ४५ करोड ७६ लाख मात्रै थियो।

त्यस्तै, मुसुरो दालको निर्यातमा त अचम्म लाग्दो ४८१ प्रतिशतको वृद्धि भएको छ भने भेनियर सिटको निर्यात पनि दोब्बरले बढेको छ। कृषिजन्य उत्पादनहरू जस्तै अदुवा, सुठो, अम्लिसो र जडीबुटीको निर्यातले पनि राम्रो गति लिइरहेको छ।

निर्यातका केही क्षेत्रमा खुसीयाली छाए पनि चिया र प्लाइउडको व्यापारमा भने गिरावट आएको छ। विगतका वर्षहरूमा निकै माग रहेको नेपाली चियाको निर्यात यस वर्ष २६ प्रतिशतले घटेर २ अर्ब १७ करोडमा सीमित भएको छ।

त्यस्तै, प्लाइउडको निर्यातमा पनि ४४ प्रतिशतको ठूलो गिरावट आएको भन्सारको तथ्याङ्कले देखाउँछ। प्लाइउडको व्यापार गत वर्ष झन्डै २ अर्ब पुगेकोमा यसपटक १ अर्ब ९ करोडमा झरेको छ।

भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाइँका अनुसार अलैँची र छुर्पी जस्ता वस्तुको बढ्दो मागले निर्यात व्यापारमा सन्तुलन मिलाउन सहयोग पुगेको छ। पुससम्मको अवधिमा ५० करोडको अदुवा, ३३ करोडको अम्लिसो र ११ करोडको हरियो तरकारी (काउली, बन्दा, ब्रोकाउली) समेत पूर्वीनाकाबाट निर्यात भएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं