विराटनगर । पछिल्लो समय प्रतिनिधिसभा निर्वाचनको चर्चा तीव्र बन्दै जाँदा पूर्वी नेपालका पहिचान आधारित आन्दोलनहरू फेरि राजनीतिक बहसको केन्द्रमा आएका छन् । सप्तकोशीको खुवालुङ, ताप्लेजुङको पाथीभरा (मुकुम्लुङ) र काठमाडौं महानगरबाट उदाएका बालेन्द्र शाह ‘बालेन’ यी ३ नाम फरक सन्दर्भका भए पनि अहिले एउटै राजनीतिक प्रवाहमा जोडिन पुगेका छन् ।
यी विषयले निर्वाचनलाई केवल सत्ता हस्तान्तरणको प्रक्रिया होइन, राज्यको संवेदनशीलता, समावेशिता र निर्णय प्रक्रियाको परीक्षण बनाइदिएका छन् । किनभने ताप्लेजुङ जिल्लास्थित पाथीभरा (मुकुम्लुङ) हिन्दु र लिम्बू समुदायको पवित्र धार्मिक स्थलका रूपमा लिइने गरिन्छ । यहाँ केबलकार निर्माणको सरकारी निर्णय सार्वजनिक भएसँगै ‘नो केबलकार’ आन्दोलन सुरु भयो ।
आन्दोलनकारीहरूको तर्क छ, ‘यो केवल धार्मिक पर्यटकीय गन्तव्य मात्रै होइन, लिम्बू समुदायको आस्था, मुन्धुम र सांस्कृतिक पहिचानसँग जोडिएको स्थल पनि हो ।’ यही पृष्ठभूमिका कारण आन्दोलनरत पक्षले यस क्षेत्रमा केबलकार निर्माणलाई आस्था र पहिचानमाथिको हस्तक्षेप भन्दै विरोध गरे ।
आन्दोलनका क्रममा राज्य पक्ष र आन्दोलनकारीबिच टकराबको अवस्था पनि देखियो । केबलकारले धार्मिक पर्यटन प्रवर्द्धन हुने दाबी पनि उत्तिकै छ । तर, आन्दोलनकारीहरू यो मान्दैनन् । यस्तै–यस्तै पेरिफेरीमा सप्तकोशी नदीमा अवस्थित खुवालुङको विवाद पनि केही वर्ष अघि चर्किएको थियो ।
सप्तकोशी नदीमा अवस्थित खुवालुङ ढुङ्गा किराँत समुदायका लागि धार्मिक र सांस्कृतिक महत्त्व बोकेको स्थल हो । किराँती समुदायले खुवालुङलाई आफ्नो आस्थाको केन्द्रको रूपमा लिने गरेका छन् । तर, २०७७ फागुन ८ गते विराटनगरमा आयोजित एक सभामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सप्तकोशीमा जेट बोट सञ्चालनका लागि नदीको बिचमा रहेको ढुङ्गा हटाउनुपर्ने अभिव्यक्ति दिएपछि खुवालुङ राष्ट्रिय बहसमा आयो ।
सरकार र व्यावसायिक पक्षले ढुङ्गा बाधक भएको दाबी गरे भने किराँत समुदायले यसलाई आफ्नो आस्थाको केन्द्र भएकाले भत्काउन नमिल्ने बताए । यसपछि ‘खुवालुङ बचाउ आन्दोलन’ सुरु भयो । साहित्यकार, संस्कृतिकर्मी, अभियन्ता र स्थानीय समुदायले संयुक्त रूपमा विरोध प्रदर्शन गरे ।
खुवालुङ विवादले विकास परियोजना, सांस्कृतिक धरोहर संरक्षण र आदिवासी अधिकार बिचको जटिल सम्बन्धलाई उजागर ग¥यो । यो विवाद केवल ढुङ्गाको मात्रै रहेन राज्यले कसको इतिहासलाई मूल्य दिन्छ भन्ने प्रश्नको विषय पनि रह्यो ।
मुकुम्लुङ, खुवालुङसँगै कोशी प्रदेश नामकरणपछि देखिएको आन्दोलनले पूर्वी नेपालमा पहिचानको बहसलाई अझ फराकिलो बनायो । सबै विषयको केन्द्र र नेतृत्वकर्ता कतै न कतै जोडिएकै छन् ।
अहिले चुनावी चर्चा छ । त्यसमा पनि बालेनको बढी । अनि, एउटा प्रश्न उठेको छ, ‘बालेन राजनीतिक पात्र कि प्रतीक ?’
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह अर्थात् बालेनले पद त्यागेर प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी घोषणा गरे । उनी झापा – ५ बाट उम्मेदवार बने । यो क्षेत्र पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाव लड्दै आएको निर्वाचन क्षेत्र हो ।
निर्वाचन अभियानका क्रममा बालेन पूर्वी पहाडी जिल्लाहरू पनि पुगे । त्यसमा पनि ताप्लेजुङ पुगेर पाथीभरा दर्शन गरेपछि उनले सामाजिक सञ्जालमा पाथीभरा मातालाई पृष्ठभूमि राखेर खिचिएको फोटोको क्याप्सनमा ‘जय मुकुम्लुङ’ पनि लेखे ।
पछि सप्तकोशी पुगेर खुवालुङ अवलोकन गर्दै यसलाई किराँती तथा नेपालीहरूका लागि पवित्र स्थल र मुन्धुममा वर्णित सभ्यताको प्रतीक भएको उल्लेख गरे । बालेनको यी अभिव्यक्तिले मिश्रित प्रतिक्रिया जन्मायो । आलोचकहरूले यसलाई चुनावी रणनीति ठाने भने समर्थक र आन्दोलनकारी समुदायले पहिचानप्रति संवेदनशील राजनीतिक संकेतका रूपमा लिए ।
विशेष गरी आदिवासी बौद्धिक वर्ग र अभियन्ताहरूले उनको अभिव्यक्तिलाई सकारात्मक रूपमा व्याख्या गरे । मुकुम्लुङ र खुवालुङ आन्दोलनले प्रतिनिधिसभा निर्वाचनलाई प्रत्यक्ष रूपमा प्रभाव पारिरहेका छन् ।
पूर्वी नेपालका मतदाताले उम्मेदवारको विकास योजना मात्र होइन, आन्दोलनप्रतिको दृष्टिकोण, आस्थाप्रतिको सम्मान र राज्य, समुदाय सम्बन्धबारेको बुझाइलाई पनि मूल्याङ्कन गर्न थालेका छन् । परम्परागत राजनीतिक दलहरूले आन्दोलनका मागलाई चुनावी घोषणापत्रमा समेटे पनि कार्यान्वयन कमजोर भएको आरोप लाग्दै आएको छ । यही कारण स्वतन्त्र उम्मेदवार, वैकल्पिक राजनीति र मुद्दा–केन्द्रित नेतृत्वप्रति आकर्षण बढ्दो देखिन्छ ।
खुवालुङ, मुकुम्लुङ आन्दोलनका विषय फरक होइनन् । यी पूर्वी नेपालमा लामो समयदेखि चल्दै आएको असन्तोष, पहिचानको खोज र राजनीतिक विकल्पप्रतिको अपेक्षाक हुन् । समान्य लाग्ने बहसका विषय प्रतिनिधिसभा निर्वाचन अब केवल सिट सङ्ख्याको प्रतिस्पर्धा होइन, राज्यले आदिवासी समुदाय, सांस्कृतिक धरोहर र स्थानीय आवाजलाई कस्तो व्यवहार गर्छ भन्ने निर्णयको एउटा वृहत् मञ्च बन्दै गएको छ ।
यस अर्थमा खुवालुङ र मुकुम्लुङ आन्दोलनले उठाएका प्रश्नको उत्तर अब बालेनले चालेको चुनावी रणनीतिमार्फत मतपत्रमा खोजिँदै छ । तर, यो रणनीति सर्वसम्मत छैन । कसैका लागि बालेन पहिचान र आस्थाप्रति संवेदनशील वैकल्पिक राजनीतिका प्रतीक हुन् भने अरूका लागि उनी आन्दोलनलाई चुनावी लाभका लागि प्रयोग गर्ने पात्र मात्र हुन् । यही द्वन्द्वले स्पष्ट गर्छ, बालेन जस्ता पात्रहरू निर्वाचनलाई साधारण सत्ता प्रतिस्पर्धाबाट बाहिर निकाल्दै, आन्दोलन र राजनीतिबिचको टकराबलाई तीव्र बनाउने प्रमुख उत्प्रेरक बनेका छन् ।
