विराटनगर । चुनावी राप तापले चिया पसलदेखि चोकसम्म तातेको छ । ‘यस पटक कसलाई जिताउने ? र, कस्ले जित्छ ?’ जस्ता बहस जता पनि चलिरहेकै छ । तर, यो चर्चा कोशी प्रदेशको राजधानी विराटनगरदेखि मात्र ३० किलोमिटर पर, बुढीगंगा गाउँपालिकाको एक कुनामा ठप्प अडिएजस्तो लाग्छ । त्यहाँ चुनावी पर्चा होइन, एउटा पुरानो चिन्ताले बास गरेको छ, ‘आज शौच गर्न कहाँ जाने ?’
यो कथा बुढीगंगा–१, करैयामा अवस्थित ऋषिदेव बस्तीको हो । जहाँ हरेक चुनाव आउँछ, नेता आउँछन्, आश्वासन आउँछ तर कहिल्यै नआउने कुरा एउटै छ, उनीहरूको आत्मसम्मान र आधारभूत सुविधा । बस्तीकी ४५ बर्सिया हेमन्तदेवी ऋषिदेवलाई निर्वाचनको चिन्ताले भन्दा पनि पेट दुख्दा कहाँ जाने ? भन्ने चिन्ताले सताउँछ । किनकि, उनको घरमा मात्रै होइन, यहाँका करिब ६० घरपरिवार शौचालयविहीन छन् ।
दशकौँदेखि अर्काको जमिनमा आश्रित यो ऋषिदेव परिवारको कथा अभावको मात्र होइन, महिला अस्मिताको सङ्घर्षको पनि हो । ‘दिउँसो जसोतसो जीवन चले पनि राति साह्रै गाह्रो हुन्छ,’ उनी भन्छिन्, ‘दिउँसो पनि दिसा पिसा आइहाले जतिसुकै गाह्रो भए पनि हामी महिलाहरू खुल्ला ठाउँमा जान सक्दैनौँ । तर, अँध्यारोमा झन् गाह्रो हुन्छ ।’ उनी थप्छिन्, ‘पुरुषहरू त जहाँ पनि जान्छन्, तर हामी छोरी मान्छेले लाज मान्नुपर्छ ।’
शौचालय बनाउनलाई आफ्नो जमिन छैन । अर्काको माटोमा ओत लाग्ने झुप्रो त छ, तर त्यही झुप्रोबाट पनि कहाँ पुग्नुपर्ने हो पत्तो छैन । धनी पुर्जाको एजेन्डा बोकेर आउने नेताहरूप्रति उनीहरू आक्रोशित छन् । बाउ बाजेदेखि बस्दै आएको जमिनमा सुकुम्वासी जीवन बिताइरहेकी २५ बर्सिया भाटी ऋषिदेवलाई पनि उस्तै पीडा छ ।
अभाव र गाउँ नजिक विद्यालय नहुँदा पढ्न नपाएकी उनी हातमा नागरिकता र भोटर्स कार्ड देखाउँदै ‘म कति वर्ष पुगेँ ?’ भनेर सोध्छिन् । यो प्रश्नसँगै उनीभित्र महिला अस्मिताको प्रश्न पनि जीवितै थियो । उनी भन्छिन्, ‘गाउँमा जम्मा २ वटा कल छन्, चर्पी छैन । यसले धेरै गाह्रो भएको छ । हामीलाई पानी र चर्पी चाहिएको हो ।’
समस्या शौचको मात्र होइन, यो स्वास्थ्य र संवेदनशीलतासँग जोडिएको विषय पनि हो । तर, सामान्य विषयमा पनि उनीहरूको समुदायको अगुवाइ गरिरहेकाहरू बेखबर जस्तै छन् । भाटीले अहिलेसम्म महिनावारी हुँदा महिनावारी प्याड प्रयोग गर्नु त परको कुरा, देखेकी समेत छैनन् । उनी भन्छिन्, ‘चर्पी छैन, कल थोरै हुँदा पानीको समस्या छ । महिनावारी भएका बेला लगाउने केही पनि सामान देखेको छैन ।’ (उनको मातृभाषाको उल्था)
गाउँपालिका र विभिन्न सङ्घ–संस्थाले महिनावारी प्याड वितरणका ठुला अभियान चलाउँछन् । तर, यहाँका ऋषिदेव महिलाहरूको हातसम्म ती प्याड कहिल्यै पुग्दैनन् । उनीहरू आज पनि फोहोर टालोको भरमा छन् ।
गर्भवती अवस्थामा यहाँका महिलाले भोग्ने पीडा शब्दमा बयान गर्न सकिँदैन । हेमन्तदेवी ऋषिदेव संवादलाई जोड्दै भन्छिन्, ‘गर्भवती भएका बेला राति उठेर पर झाडीमा जानुपर्दाको डर र पीडा हामीलाई मात्र थाहा हुन्छ ।’
उता, बुढीगंगा–४ गोकुवाकी फुलो ऋषिदेव पालिकाले दिने महिनावारी प्याडबारे जानकार छिन् । तर, अहिलेसम्म नपाएको गुनासो गर्छिन् । उनी भन्छिन्, ‘महिनावारी हुँदा सरसफाइ गर्न पानी छैन, प्याड फेर्न लुक्ने ठाउँ (चर्पी) छैन, गाह्रो छ ।’
अभावै अभावले जेलिएको यो ऋषिदेव बस्ती मोरङको ‘हेभीवेट’ मानिने निर्वाचन क्षेत्र ६ मा पर्छ । यो त्यही क्षेत्र हो, जहाँबाट यसअघि नेपाली कांग्रेसका डा. शेखर कोइराला, एमालेका लालबाबु पण्डित जस्ता प्रभावशाली नेताले विजय हासिल गरिसकेका छन् । अहिले पनि चुनावी मैदानमा उनै डा. शेखर कोइराला र एमालेका विनोद ढकाल जस्ता ‘हाइप्रोफाइल’ उम्मेदवार आमनेसामने छन् ।
देशको राजनीति नै तरङ्गित पार्ने नेताहरू यही क्षेत्रबाट चुनिन्छन् । तर, ५८ बर्सिया रीता ऋषिदेवलाई भने यो प्रोफाइल र चुनावले छोएको छैन । बस्ती अगाडि पक्का रोड बनेर धुलोबाट जोगिए पनि दैनिक जीवनमा आवश्यक पर्ने पूर्वाधार नहुँदा उनी दुःखी छिन् ।
‘यहाँ कल र शौचालय नै हो मुख्य आवश्यक । तर, त्यो पनि हामीले किस्ता (ऋण) लिएर बनाएका हौँ,’ उनी नेताहरूप्रति असन्तुष्टि पोख्छिन्, ‘जितेर जानुभयो, उहाँ (शेखर कोइराला) फर्किएर आउनुभएन ।’ ठुला नेताको लडाइँमा आफूहरूको सानो माग सधैँ ओझेलमा परेको उनीहरूको बुझाइ छ ।
यता, दलित अर्थात् ऋषिदेव समुदायको प्रतिनिधित्व गर्दै स्थानीय तहमा (वडा सदस्य) पुगेकी चानुदेवी ऋषिदेव आफ्नो समुदायको समस्याका विषयमा कुरा उठाएको जिकिर गर्छिन् । तर, बस्तीका बासिन्दाले भने उनले आफूहरूको मुद्दा नै सुनुवाइ नगरेको गुनासो गर्दै आएका छन् ।
गाउँपालिका र विभिन्न सङ्घ–संस्थाले महिनावारी प्याड वितरणका ठुला अभियान चलाउँछन् । तर, यहाँका ऋषिदेव महिलाहरूको हातसम्म ती प्याड कहिल्यै पुग्दैनन् । उनीहरू आज पनि फोहोर टालोको भरमा छन् । जनप्रतिनिधि चानुदेवी स्विकार्छिन्, ‘महिनावारी प्याड त पालिकामा मात्रै छ, वडालाई दिएको छैन ।’
उसो त नेताहरूको प्राथमिकतामा नपर्नुको मुख्य कारण लालपुर्जा नहुनु हो भन्नेमा उनीहरू स्पष्ट छन् । बाजेको पालादेखि बस्दै आए पनि उनीहरू बेघर जस्तै छन् । जमिन आफ्नो नाममा नहुँदा न सरकारले पक्की शौचालय बनाइदिन मिल्छ, न उनीहरू आफैँले केही गर्न सक्छन् ।
सहरमा उम्मेदवारहरू डिजिटल विकास र समृद्धिको भाषण गरिरहँदा, मोरङ–६ को यो बस्तीका महिलाहरू झाडीमा शौच गर्न बाध्य छन् । ऋषिदेव बस्तीका महिलाहरूको अबको प्रश्न छ ‘यहाँ बस्न दिएनन् भने इन्डिया जानु त होला नि ? जहाँ गए पनि आखिर बस्नु नै त हो !’
