सुजता लिम्बू

बुधबार, फाल्गुण ०६, २०८२

विराटनगर ।सुरेश ऋषिदेवको नाभि गाडिएको माटो यही हो। उनका बाबु–बाजेले घारी फाँडेर पसिना बगाएको जमिन पनि यही हो। तर, विडम्बना यही माटोमा उभिएर उनी छाती फुलाउँदै भन्न सक्दैनन्,‘यो मेरो जमिन र घर हो।’

६ दशकदेखि यही माटोमा जीवन गुजारिरहेका उनीसँग न त आफूलाई नेपाली हुँ भनेर चिनाउने नागरिकताको प्रमाणपत्र छ, न त खुट्टा टेक्ने जमिनको लालपुर्जा।

प्रदेश राजधानी विराटनगरको झिलिमिली र देशकै ‘हेभीवेट’ नेताहरूको निर्वाचन क्षेत्रसँगै जोडिएको मोरङको बूढीगंगा–१ स्थित यो बस्तीले ‘स्मार्ट सिटी’ को नारालाई गिज्याइरहेको छ। यो त्यस्तो बस्ती हो, जहाँ भोट चल्छ, तर मान्छेको अस्तित्व चल्दैन।

बूढीगंगा–१ को यो ऋषिदेव बस्तीमा सुरेश एक प्रतिनिधि पात्र मात्र हुन्। उनी अहिले पनि आफ्नै देशमा ‘अनागरिक’ सरह भएर बाँच्न बाध्य छन्। जहाँ उनको जन्म भयो, जहाँ बाल्यकाल बित्यो र उमेरका खुड्किलाहरू थपिँदै गए, त्यो जमिनको मालिक अर्कै छ।

सुरेश भन्छन्, ‘हामी बस्ने जमिन मोहन कोइरालाको नाममा छ। कुन बेला बस्ती खाली गर भन्छन् र बालबच्चा च्यापेर सडकमा पुग्नुपर्ने हो, पत्तो छैन।’

सुरेशकी श्रीमती हेमन्तीदेवी ऋषिदेवको कथा भने अलि फरक छ। श्रीमान्को कुरा काट्दै उनले भनिन्, ‘मैले त सुनसरी बाट धेरै पैसा खर्च गरेर नागरिकता बनाएँ।’ तर, श्रीमतीको नागरिकताले श्रीमान्को पहिचान बन्दैन। उनीहरूको जीवन टाटी (बाँसको बेरा) बुन्ने र दैनिक मजदुरी गरेर हातमुख जोड्ने सङ्घर्षमै सीमित छ।

बस्तीमा ६० वर्षीय विष्णुया ऋषिदेवको व्यथा झन् गहिरो छ। जीवनका ६ दशक यही माटोमा सुख–दुःख र अभावको राप झेल्दै बिताएका उनलाई यो ठाउँ छोड्न मन छैन। तर, अर्काको जमिनमा कहिलेसम्म बस्न पाइन्छ भन्ने ठेगान पनि छैन।

‘अर्काको जमिनमा बसेको जुग भइसक्यो, भोलि कति बेला उठाउँछ थाहा छैन,’ उनी  भन्छन्। हरेक चुनावमा भोट माग्न आउने नेताहरूसँग उनको एउटै माग हुन्छ ‘बस्ने बन्दोबस्त मिलाइदिनुस्।’ तर, चुनाव सकिएपछि नेताहरूको बन्दोबस्त फेरिन्छ, ऋषिदेवहरूको दुःख फेरिँदैन।

नेताहरूको ‘ब्याटल फिल्ड’, जनताको सास्ती

यो बस्ती मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा पर्छ। यो त्यही क्षेत्र हो जहाँबाट डा. शेखर कोइराला, लालबाबु पण्डित जस्ता देश हल्लाउने नेताहरू चुनाव लड्दै आएका छन्।

आसन्न फागुन २१ को निर्वाचनमा काँग्रेस नेता शेखर कोइराला र विनोद ढकाल लगायतका नेताहरू प्रतिस्पर्धाको मैदानमा छन्। तर विडम्बना, सिंहदरबार चलाउने हैसियत राख्ने नेताहरूको आँखा आफ्नै आँगनको यो बस्तीमा कहिल्यै परेन।

यहाँका बासिन्दालाई ठुला विकास, भ्यु टावर वा स्मार्ट सिटी चाहिएको छैन। उनीहरूको माग सामान्य छ, ओत लाग्ने छानो, शुद्ध खानेपानी, शौचालय र बालबालिका पढ्ने स्कुल।

गाउँमा स्कुल नहुँदा बालबालिकाहरू शिक्षाबाट वञ्चित छन्। सम्भा ऋषिदेवको तीन दशक यही अभावमा बित्यो। उनी प्रश्न गर्छिन्, ‘कल दिन्छु, चर्पी बनाइदिन्छु, जमिन दिलाइदिन्छु त भन्नुहुन्छ, तर कहिले ?’

बूढीगंगा–४ की भागो ऋषिदेवसँग २०६२/०६३ मा टोली आउँदा बनाएको नागरिकता छ। मतदान गर्ने अधिकार भए पनि उनी जनप्रतिनिधिको व्यवहारबाट आजित छिन्।

‘भोट माग्न आउँदा मन्दिर बनाइदिन्छु, चर्पी बनाइदिन्छु, धनी पुर्जा दिन्छु भनेर आउँछन्, जितेपछि अनुहार देखाउन पनि आउँदैनन्,’ उनी आक्रोश पोख्छिन्।

उता, ५५ वर्षीय दर्शनलाल ऋषिदेव ७० वर्षदेखि भूमिहीन जीवन बाँचिरहेका छन्। हरेक चुनावमा लालपुर्जाको एजेन्डा बोकेर आउने तर जितेपछि फर्केर नहेर्ने नेताहरूको प्रवृत्तिप्रति उनी असन्तुष्ट छन्। विपन्न बस्तीको व्यवस्थापन गर्न नसक्दा उनी निराश पनि छन्।

अहिले यो बस्तीले सामूहिक अठोट गरेको छ, अबको चुनावमा झुटा आश्वासन दिनेलाई होइन, जसले भूमि व्यवस्थापन, शौचालय, खानेपानी र शिक्षा–रोजगारीको ग्यारेन्टी गर्छ, उसैलाई मात्र भोट दिने।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा