विराटनगर । आगामी फागुन २१ गते हुने निर्वाचन मिति नजिकिएसँगै मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा राजनीतिक सरगर्मी बढेको छ ।
दल र स्वतन्त्र उम्मेदवारले चुनावी प्रचारप्रसार अभियान सञ्चालन गरिरहेका छन्।
यसैक्रममा राष्ट्रिय उर्जाशील पार्टी, नेपालले आफ्नो संगठन विस्तार र जनपरिचालन अभियानलाई तिब्र बनाएकाे छ ।
चुनावी अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन साे पार्टीले मोरङको रंगेली नगरपालिकाकाे रंगेली बजार र धनपालथान गाउँपालिकाको कर्सिया बजारमा सम्पर्क कार्यालय स्थापना गरेकाे छ । यसअघि विराटनगरको रानीमा पार्टीले मुख्य चुनावी कार्यालय स्थापना गरेकाे थियाे ।
पार्टीका केन्द्रीय अध्यक्ष एवं मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार योगेन्द्र मण्डलले दुवै कार्यालयको उद्घाटन गरेका हुन् । २०७९ सालको आम निर्वाचनमा क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका मण्डलले ‘जेनजी’ आन्दोलनको भावना र जनचाहनालाई सम्बोधन गर्न आफ्नै नेतृत्वमा ‘राष्ट्रिय उर्जाशील पार्टी’ गठन गरेका थिए ।
पार्टी गठन लगतै निर्वाचनमा हाेमिएकाे उर्जाशीलले संगठन विस्तार र चुनावी अभियानलाइ एकैसाथ अघि बढाएकाे छ ।
नयाँ सोचको संकल्प
रंगेलीमा आयोजित उद्घाटन समारोहमा बोल्दै अध्यक्ष मण्डलले नयाँ सोच,नयाँ नेतृत्व र परिवर्तनको दृढ संकल्पको सुरुवात भएको बताए । उनले नेपालवादको सिद्धान्त लिएर निर्वाचनमा होमिएको बताए ।
‘हामी अब विभाजन होइन एकता, निराशा होइन आशा र भ्रष्टाचार होइन पारदर्शिताको राजनीति गर्नेछौं, उनले भने ।
कर्सिया बजारमा आयोजित सभामा उनले जनताले आफूमाथि गरेको विश्वासलाई कर्ममार्फत प्रमाणित गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने,”स्वतन्त्र सांसदका रूपमा मैले सुरु गरेका अभियानलाई पार्टीगत शक्तिका साथ पुरा गर्नु मेरो लक्ष्य हो ।”
दुवै कार्यक्रममा स्थानीय युवा, किसान, महिला, विभिन्न पेसाकर्मी तथा सामाजिक अगुवाहरूको उल्लेख्य र उत्साहजनक सहभागिता थियो ।
सो अवसरमा विभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा स्थानीय नेता तथा कार्यकर्ताहरू राष्ट्रिय उर्जाशील पार्टीमा प्रवेश गरेका छन् ।
नवप्रवेशीहरूलाई स्वागत गर्दै अध्यक्ष मण्डलले उर्जाशील पार्टीले युवाहरूको जोस र पुरानाहरूको अनुभवलाई समेटेर अघि बढ्ने बताए ।
