सुजता लिम्बू

शनिबार, फाल्गुण १६, २०८२

विराटनगर । देशमा चुनावको सरगर्मी छ । चोकमा नेताहरुका ठूला–ठूला भाषण घन्किरहेका छन् ।
तर, विराटनगरका सडक किनारमा बसेर आफ्नो पसिनाको कमाइले घरपरिवार धानिरहेका ‘भूइँमान्छे’ महिलाहरुलाई भने चुनावको यो हो–हल्लाले खासै छोएको छैन ।
उनीहरुका लागि नेताका चिल्ला कुरा र आश्वासनभन्दा आफ्नो अगाडि बलिरहेको चुल्हो र व्यवसाय नै जीवनको यथार्थ हो ।
विराटनगरको ट्राफिक चोकमा धुवाँको मुस्लोसँगै मकै पोल्दै गरेकी ५५ वर्षीया सीता मण्डल र विराटनगर–४ बंगलौरी चोकमा सुँगुरको सेकुवा बेचिरहेकी मना उराउँ यसका जिउँदा उदाहरण हुन् ।

उनीहरु राज्यको नजरमा सामान्य सडक व्यापारी होलान्, तर आफ्नै पसिनाले लेखिएको महिला सशक्तिकरण र आत्मनिर्भरताको कथाका रोल मोडल हुन् ।
विराटनगर–९ मा बस्दै आएकी ५५ वर्षीया सीता मण्डल दिउँसो २ नबज्दै ट्राफिक चोकमा आइपुग्छिन् ।

सीता मण्डल: मकै पोल्दै बिक्री गर्छिन्।

ट्राफिक चौकमा मकै पोल्दै बिक्री गर्छिन्, सीता मण्डल 

उनको दैनिकी नै मकै पोलेर बित्छ । सडक किनारमा बसेर मकै पोल्दै गर्दा उनले यो देशका धेरै राजनीतिक उथलपुथल, हड्ताल र परिवर्तनका नाराहरु आफ्नै आँखा अगाडिबाट गुज्रिएको देखेकी छिन् ।
तर, व्यवस्था जति नै फेरिए पनि सीताको अवस्था भने जहाँको त्यहीँ छ ।
“चुनाव आयो नि, तर नेतालाई पो आयो त ! मलाई त आएको छैन,“ पोल्दै गरेको मकै पल्टाउँदै सीता भन्छिन् ।
विगतमा एउटा मकैको चारआना मा बेच्ने सीता अहिले एउटा मकैको ३० रुपैयाँ लिन्छिन् ।
यो मूल्य वृद्धिको लामो यात्राले उनको जीवनको संघर्ष र निरन्तरतालाई प्रष्ट पार्छ । यही सानो व्यवसायको आम्दानीले उनले आफ्नो गर्जो टार्दै र परिवार पाल्दै आएकी छिन् ।
अरुबेला गरिबको आँगन नटेक्ने नेताहरु चुनावको बेला हात जोड्दै नमस्कार गर्न आउँदा सीतालाई अचम्म मात्र लाग्दैन, भित्रभित्रै आक्रोश पनि उठ्छ ।
“अरुबेला कसैले वास्ता गर्दैनन्, तर चुनाव आएपछि भोट माग्दै नमस्कार गर्न आउँछन्,“ उनी भन्छिन् ।

सीताको लागि अहिले चुनावभन्दा पनि आफ्नो व्यवसाय नै पहिलो प्राथमिकता हो । यद्यपि, उनी आफ्नो मताधिकार प्रयोग गर्नबाट भने चुक्दिनन् । तर, यसपटक उनको सोच फेरिएको छ ।
निरन्तरको निराशाले उनमा राजनीतिक चेत भरेको छ । उनी भन्छिन्, “भोट हाल्न त जान्छु, तर अब पुरानालाई होइन, नयाँलाई दिने विचार छ ।“
यता, विराटनगर–४ बंगलौरी चोककी मना  उराउँको कथा पनि सीताको भन्दा कम प्रेरणादायी छैन । विगत १५ वर्षदेखि सुँगुरको सेकुवा बिक्री गर्दै आएकी मना सुरुवाती दिनमा उनी हटियामा सुँगुरको काँचो मासु बिक्री गर्थिन् । तर, समयको माग र व्यापारको सम्भावना बुझेर उनले काँचो मासुको साटो सेकुवा पोलेर बेच्न थालिन् ।
उनको यही परिश्रमले आज उनको घर गृहस्थी मात्र चलेको छैन, उनी आर्थिक रुपमा पूर्णतः स्वतन्त्र पनि बनेकी छिन् ।

बंगुरको सेकुवा बिक्री गर्छिन्, मना उराउँ 

उनको हातको सेकुवाको स्वाद लिन मोरङका विभिन्न स्थानबाट मात्र नभई टाढा–टाढाबाट पनि ग्राहकहरु खोज्दै आउने गरेको उनी सुनाउँछिन् । एउटी सामान्य महिलाले घरबाटै सुरु गरेको यो व्यवसाय आज उनको सशक्तिकरणको मुख्य पाटो बनेको छ ।

सीतालाई जस्तै मनालाई पनि चुनावमा खासै चासो छैन । नेताहरुको पुरानै अनुहार र पुरानै आश्वासनले उनलाई पनि दिक्क बनाएको छ । तर, उनी आफ्नो भोट खेर फाल्ने पक्षमा छैनन् ।
खासै उल्लास नभए पनि नागरिकको हैसियतले अधिकार प्रयोग गर्न उनी मतदान केन्द्रसम्म पुग्नेछिन् । मना भन्छिन्, “पुरानालाई त हेरियो, अब यसपालि नयाँलाई हेर्ने हो ।“

सीता मण्डल र मना उराउ जस्ता महिलाहरु हाम्रो समाजका ती भूइँमान्छे हुन्, जसले महिला सशक्तिकरणको पाठ कुनै गैरसरकारी संस्थाको सेमिनारमा सिकेका होइनन् ।
उनीहरुले यो पाठ आफ्नै पसिना, चुल्होको धुवाँ र सडकको धुलोबाट सिकेका हुन् ।

उनीहरु कसैको आशमा बाँचेका छैनन् । सानै भए पनि आफ्नै व्यवसाय गरेका छन्, परिवारको आर्थिक मेरुदण्ड बनेका छन् र समाजमा आफ्नै बलमा उभिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा