बिराटनगर। शिशिरको ठिही बिस्तारै कम हुँदै जाँदा र रूखका नाङ्गा हाँगाहरूमा नयाँ पालुवाहरू पलाउन थाल्दा प्रकृतिले एउटा बेग्लै उमङ्ग बोकेर आउँथ्यो।
त्यो पालुवासँगै नयाँ वर्षको चहलपहल सुरु हुन्थ्यो। आजको जस्तो हात-हातमा इन्टरनेट र पल-पलको ‘नोटिफिकेसन’ त्यो बेला थिएन। थियो त केवल एउटा नीलो वा रातो मसीले कोरिएको भावनात्मक सम्बन्ध र एउटा सानो पोस्टकार्ड।
त्यो बेला बजारका पसलहरूमा यत्रतत्र छरिएर राखिएका ती रङ्गीचङ्गी पोस्टकार्डहरू देख्दा लाग्थ्यो, संसारको सारा खुसी त्यहीँ अटाएको छ।
कोही चर्चित नायक-नायिकाका तस्बिर भएका, कोही सुन्दर प्राकृतिक दृश्यका। ती पोस्टकार्डका पछाडि आफ्ना मन पर्ने र नजिकका साथीहरूलाई भावनात्मक शब्दहरू समेट्दै शुभकामना आदानप्रदान गरिन्थ्यो।
ती सायरीहरू सम्झिँदा अहिले अचम्म लाग्छ, लाग्छ हामी सबै कस्ता गजबका साहित्यकार थियौँ!
कसैले लेख्थ्यो,
“फूल फुल्यो कहाँ कहाँ, बास्ना चल्छ यहाँ,
तिमी छौ कहाँ कहाँ, याद आउँछ यहाँ।”
अझ साथीहरूबिच त यो सायरी खुब चल्थ्यो
“धान कुटे चामल, चामल कुटी पिठो,
साथीको बोली, खिर भन्दा मिठो।”
यी हरफहरू पढ्दा अहिले एकान्तमा पनि ओठमा एउटा मधुर मुस्कान नाचिरहन्छ। विगतका ती पानाहरू पल्टाउँदा एउटा छुट्टै अनुभूति हुन्छ। त्यो बेला सम्बन्धको मूल्य पैसा वा सुन्दरतासँग होइन, भावनासँग तुलना गरिन्थ्यो।
अझ अलि विशेष साथीका लागि त आमाले खाजा खान दिनुभएको पैसा जोगाएर वा कहिले त चप्पलको लोती(चप्पलको फित्ता) चुँडिँदा फित्ता किन्ने पैसासमेत बचाएर ‘ग्रेटिङ कार्ड’ किनेको साथीहरू किस्सा सुनाउँथे । त्यो कार्डमा आफ्नै शैलीमा मनका कुरा लेख्नुको मज्जा नै बेग्लै हुन्थ्यो।
नयाँ वर्ष आउनुभन्दा केही दिन अघिदेखि नै एउटा छुट्टै मिसन सुरु हुन्थ्यो। नयाँ किनेको कापीको बिचको पाना सुटुक्क च्यातेर खाम बनाइन्थ्यो।
खामको बाहिरपट्टि ‘To’ र ‘From’ लेख्ने शैली पनि कति आकर्षक हुन्थ्यो! तर त्यो कार्ड आफैँ गएर हातमा थमाउनु भनेको पहाड फोर्नु जत्तिकै कठिन काम थियो।
एउटा बेग्लै खालको लाज र धक्कु हुन्थ्यो। अनि सुरु हुन्थ्यो विश्वासिलो हुलाकीको खोजी।
“ए, यो कार्ड उसलाई पुर्याइदे न है” भन्दै कुनै भरपर्दो साथीलाई गुहार्नु पर्ने।
केटा साथीहरूबिचको त्यो सम्बन्ध र केटी साथीहरूमा पनि ‘बेस्ट फ्रेन्ड’ लाई दिइने प्राथमिकताको आफ्नै कथा थियो।
साथीहरूले पठाएका ती पोस्टकार्डहरूलाई लाइन मिलाएर, स्टिच गरेर आफ्नो कोठाको भित्ताभरि सजाउने एउटा छुट्टै होडबाजी नै चल्थ्यो। जसको भित्तामा धेरै कार्ड, ऊ उति नै धेरै लोकप्रिय मानिन्थ्यो।
आज समय बदलिएको छ। अहिले सम्बन्धहरू एकदमै फिक्का भेटिन्छन्। हामी सँगै त हुन्छौँ तर साथ हुँदैनौ।
सँगै बस्ने मान्छेसँग भन्दा टाढाको मान्छेसँग सामाजिक सञ्जालको ‘ग्रिन सिग्नल’ मा संवाद भइरहेको हुन्छ। विगत र वर्तमानको सम्बन्धलाई तुलना गर्दा आकाश-जमिनको फरक देखिन्छ।
ती एक-दुई रुपैयाँका पोस्टकार्डमा जुन अपनत्व भेटिन्थ्यो, आजका महँगा डिजिटल म्यासेजहरूमा त्यो सुगन्ध छैन।
ती पुराना दिनहरू अब एकादेशका कथा जस्तै हुन थाले। प्रविधिले संसार त जोड्यो, तर सायद त्यो बेलाको जस्तो ‘मन’ जोड्न सकेन।
ती पुराना यादहरूलाई मनको कुनामा सँगाल्दा अझै पनि बाल्यकालमै फर्किएर फेरि त्यही कापीको पाना च्यातेर खाम बनाउन र साथीको शुभकामना पर्खेर बस्न मन लाग्छ।
