आज आमाको मुख हेर्ने दिन । क्यालेन्डरको एउटा पाना फेरिएको छ । तर, आज म आफ्नै जीवनको एउटा ठूलो पाना पल्टिएको महसुस गर्दैछु । एउटी छोरी जब आफै आमा बन्छिन्, तब मात्र उसले समयको त्यो अदृश्य ऐना देख्ने रहेछ, जहाँ उसले आफ्नी आमाको चेहरामा आफ्नो भविष्य र आफ्नो चेहरामा आमाको अतीत देख्छे।
मेरो अस्तित्वको आकाशमा सधैं बुवा घाम झैं चम्किलो हुनुहुन्थ्यो । म उहाँकै सामिप्यतामा हुर्किएँ, उहाँकै विचारमा रमाएँ र आफ्ना हरेक सपनाहरू उहाँकै काँधमा बिसाएँ । मेरा लागि आमा भनेको घरको एउटा यस्तो अनुशासन हुनुहुन्थ्यो, जसको गनगन मलाई सधैं मधुर संगीत नभएर एउटा कर्कश किचकिच लाग्थ्यो । समयमा उठ, अनुशासित बन, बाटो नबिराऊ आमाका यी शब्दहरू मेरा लागि स्वतन्त्रताका तगारो जस्ता लाग्थे। मलाई लाग्थ्यो, आमा हुनु भनेको केवल नियमहरूको सँगालो हुनु हो । तर, नियतिले जब मलाई मातृत्वको संघारमा उभ्यायो, मेरो दार्शनिक अहंकार विस्तारै पग्लिन थाल्यो ।
मलाई अझै याद छ, जब मेरो शरीर भारी हुँदै गयो, जब मेरो आफ्नै भौतिक अस्तित्व मलाई बोझिलो र असहज लाग्न थाल्यो, तब मलाई सम्हाल्ने हातहरू मेरी आमाकै थिए । अस्पतालको त्यो चिसो कोठामा जब रिपोर्टले म ‘आमा’ बन्दै गरेको घोषणा गर्यो, मभित्र खुसीको लहर होइन, एउटा मौन विद्रोह सुरु भयो। मेरा सपनाहरू, मेरो करियर, मेरो स्वतन्त्रता यी सबै अब एउटा भ्रूणको घेराभित्र कैद हुने त होइनन् ? मलाई लाग्यो, मेरो व्यक्तिगत आकाश अब खुम्चिनेछ ।
तर, सृष्टिको दर्शन त अर्कै रहेछ ।
आमा हुनु भनेको आफूलाई बिर्सिएर अर्को जीवनलाई सम्झिनु रहेछ । आफू अँध्यारोमा बसेर सन्तानको बाटोमा उज्यालो छर्नु रहेछ । र, सबैभन्दा ठूलो कुरा आफूलाई किचकिच गर्ने आमाको रूपमा चित्रित हुन स्वीकार गरेर पनि सन्तानलाई सही दिशामा नेतृत्व गर्नु नै वास्तविक मातृत्व रहेछ ।
जब अस्पतालको बेडमा पीडा र छटपटीका बीच मैले पहिलो पटक मेरी छोरीको अनुहार देखें, तब मेरो ‘स्व’ र मेरो ‘करियर’ को परिभाषा एकै पलमा खरानी भयो । ती साना आँखाहरूमा मैले एउटा यस्तो ब्रह्माण्ड देखें, जसको अगाडि मेरा सारा महत्त्वाकांक्षाहरू गौण थिए। त्यो क्षण मलाई बोध भयो । मातृत्व भनेको त्याग मात्र होइन, यो त एउटा नयाँ ‘नेतृत्व’ को जन्म पनि रहेछ ।
आज मेरी छोरीहरू हुर्किँदै जाँदा म आफैलाई मेरी आमाको भूमिकामा पाउँछु । हिजो आमाले मलाई गर्दा लाग्ने किचकिच आज मेरो लागि चिन्ता र जिम्मेवारीको मन्त्र बनेको छ । जब म नानीलाई समयमा उठ, बाटो नबिराऊ भन्छु, मलाई महसुस हुन्छ, आमाको त्यो गनगन त वास्तवमा एउटा अदृश्य सुरक्षा घेरा रहेछ । त्यो त एउटा यस्तो प्रार्थना रहेछ, जो शब्दमा व्यक्त हुँदा किचकिच सुनिन्थ्यो, तर त्यसको मर्ममा सन्तानको सुनौलो भविष्य लुकेको हुन्थ्यो ।
आमा हुनु भनेको आफूलाई बिर्सिएर अर्को जीवनलाई सम्झिनु रहेछ । आफू अँध्यारोमा बसेर सन्तानको बाटोमा उज्यालो छर्नु रहेछ । र, सबैभन्दा ठूलो कुरा आफूलाई किचकिच गर्ने आमाको रूपमा चित्रित हुन स्वीकार गरेर पनि सन्तानलाई सही दिशामा नेतृत्व गर्नु नै वास्तविक मातृत्व रहेछ ।
आज म आफै आमा हुँदा मलाई गर्व छ। म अब बुझ्दैछु कि आमाको त्यो समर्पण र त्याग कुनै बोझ होइन, यो त संसारको सबैभन्दा पवित्र साधना हो । म बुवासँग नजिक थिएँ, तर आमाको जस्तै जरा बन्न मलाई आफै आमा हुनुपर्ने रहेछ। आज यो विशेष दिनमा म आफ्नी आमालाई मात्र होइन, मभित्रको त्यो आमा लाई पनि नमन गर्छु, जसले करियरको तुँवालो चिरेर मातृत्व को न्यानो घामलाई अँगाल्न सिकिन् । मातृत्वको यो यात्रामा हिँड्न सुनाउने एउटा जीवनको लय र मलाई आमा बनाउने मेरी छोरीहरु दुवैलाई धन्यवाद ।
