काठमाडौं । गायक तथा फिल्म निर्माता रामकृष्ण ढकाल विवादमा मुछिएका छन् । एक शोमा अन्तर्वार्ताको क्रममा जेनजी आन्दोलनको समयमा सहकारी ठगीको आरोपमा नख्खु जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आफ्नै गाडीमा हालेर हुइँक्याएको बताएपछि उनी विवादमा फसेका हुन् ।
आफ्नो निर्माण रहेको २५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मालती मङ्गले’को प्रमोसनका ज्ञmममा उनले रवि भागेको गाडी आफ्नो र ड्राइभर समेत आफू रहेको खुलासा गरेका छन् ।
अन्तरवार्ताका क्रममा कार्यक्रम प्रस्तोताले ढकाललाई कुन रूपमा सम्झिनुहुन्छ भन्ने सेग्मेन्टमा गत भदौ २४ गते नख्खु कारागार तोडेर रास्वपाका सभापति लामिछाने दलबल सहित हात हल्लाउँदै निलो गाडीमा हुइँक्याएको भिडियो देखाउँछन् । भिडियो हेरेपछि ढकालले आफूले नै त्यो गाडी चलाएको बताउँछन् ।
आफू भैँसीपार्टीमा बस्ने भएकोले जेनजी आन्दोलनको क्रममा घुम्दै जाँदा जेल नजिक पुगेको र जेल बाहिर रेस्टुरेन्टमा रविले हात हल्लाएको अवस्थामा भेटेपछि उनलाई पुर्याउनका लागि आफूले जोखिम मोलेको उनी बताउँछन् । त्यो समयमा गाडी चलाउने डाइभर समेत आफू भएको उनले सुनाएका छन् ।
उक्त समय गायक रामकृष्ण ढकालको गाडीले रवि लामिछानेलाई चढाएर लगेको व्यापक हल्ला चलेको थियो । तर ड्राइभरको कुरा बाहिर आएको थिएन । त्यतिबेला सार्वजनिक भिडियोहरूमा ड्राइभरको अनुहार देखाइएको थिएन । तर अहिले ढकाल आफैले उक्त कुरा बाहिर ल्याएका छन् ।
उक्त खुलासापछि अहिले सामाजिक सञ्जालमा उनलाई गालीको वर्षा भैरहेको छ । यही २५ गते हलमा लाग्ने उनको फिल्म ‘मालती मङ्गले’ बहिस्कारसम्मको आलोचना सामाजिक सञ्जालमा देख्न सकिन्छ ।