काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले देशलाई तत्काल पूर्ण रूपमा विद्युतीय ऊर्जामा आधारित प्रणालीमा रूपान्तरण गर्न व्यवहारिक रूपमा कठिन हुने बताएका छन्।
उनले घरायसी रूपमा विद्युतीय चुल्होको व्यापक प्रयोग सुरु भए विद्युत् पूर्वाधारले ठूलो दबाब बेहोर्नुपर्ने अवस्था आउने चेतावनीसमेत दिएका छन्।
आइतबार सार्वजनिक अभिव्यक्तिमा प्रधानमन्त्री शाहले अहिलेको अवस्थामा देशको विद्युत् प्रणालीले ठूलो मात्रामा माग धान्न नसक्ने उल्लेख गर्दै इन्डक्सन चुल्हो लगायतका उपकरण व्यापक रूपमा प्रयोग भए प्रसारण प्रणालीमा समस्या आउन सक्ने धारणा राखे।
उनका अनुसार देशभर एकै पटक विद्युतीय चुल्हो प्रयोग बढेमा ट्रान्सफर्मर तथा सबस्टेसनहरूमा अतिरिक्त भार पर्ने भएकाले संरचनागत क्षमतामा सुधार नगरी पूर्ण विद्युतीकरण सम्भव नहुने अवस्था छ।
प्रधानमन्त्री शाहले विद्युत् प्राधिकरणको पूर्वाधार सुधार र विस्तारका लागि ठूलो लगानी आवश्यक रहेको पनि बताए। सोही आवश्यकताका कारण सरकारले विद्युत् क्षेत्रमा कर संरचना मार्फत स्रोत जुटाउने नीति लिएको उनको भनाइ छ।
उनका अनुसार विद्युत् प्रणाली विस्तार, ट्रान्सफर्मर क्षमता वृद्धि र प्रसारण लाइन सुदृढीकरणका लागि स्रोत सुनिश्चित गर्न विद्युत् सेवामा केही प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाइएको हो।
प्रधानमन्त्री शाहले उक्त करलाई अत्यधिक नमान्न आग्रह गर्दै संकलित रकम विद्युत् पूर्वाधार सुधार र आधुनिकीकरणमै खर्च गरिने स्पष्ट पारे। उनले देशलाई दीर्घकालीन रूपमा विद्युतीय युगतर्फ लैजान पूर्वाधार सुधार अनिवार्य शर्त रहेको पनि उल्लेख गरे।