काठमाडौं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले संसद् सञ्चालनमा देखिएका जटिलता समाधान गर्न प्रयास गरे पनि विपक्षी दलबाट अपेक्षित सहयोग नपाएको गुनासो गरेका छन्।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै सोमबार विपक्षी दलहरूले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेपछि सभामुख अर्यालले आफ्नै आसनबाट प्रतिक्रिया जनाएका थिए।
सभामुखले पटक-पटक संवादका लागि आग्रह गर्दा पनि विपक्षी पक्षबाट पर्याप्त समय र सहकार्य प्राप्त हुन नसकेको दाबी गरे। संसद् सञ्चालनलाई सहज बनाउन आफू निरन्तर प्रयासरत रहे पनि संवादको अवसर नपाएको उनको भनाइ थियो।
अर्यालले आइतबारको प्रतिनिधि सभामा नियमावली पारित गर्ने प्रक्रिया संविधान र प्रचलित संसदीय अभ्यासअनुसार नै अघि बढाइएको स्पष्ट पारे। उनका अनुसार सभामुखको भूमिकाअनुसार विधेयक वा संशोधनमा आएका प्रस्तावहरूलाई निर्णय प्रक्रियामा प्रस्तुत गर्नु मात्रै उनको जिम्मेवारी हो।
सभामुखले आफूले संसदीय प्रक्रियाअनुसार काम गरिरहेको र कुनै पनि नियम उल्लङ्घन नभएको दाबी गर्दै वर्तमान अवरोधबीच पनि संवादमार्फत समाधान खोज्नुपर्ने आवश्यकता औँल्याए।