Lite Nepal

बिहिबार, जेठ २१, २०८३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाका लागि वित्तीय व्यवस्थापनसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । आयोजनाको प्रवर्द्धक कम्पनी क्रिष्टल पावर डेभलपमेन्ट प्रालि र सहभागी बैंकहरूबीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो ।

सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उपस्थितिमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दीपचन्द्र रेग्मी, क्रिष्टल पावर डेभलपमेन्ट प्रालिका कार्यकारी प्रमुख कृष्णप्रसाद आचार्य तथा सहअगुवा एवं सहभागी बैंकका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् ।

कुल २५ अर्ब रुपैयाँ अनुमानित लागत रहेको उक्त आयोजनामा ग्लोबल आइएमई बैंकको अगुवाइ तथा सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक र प्रभु बैंकको सहअगुवाइमा कृषि विकास बैंक र नेपाल एसबिआई बैंकसमेत सहभागी रहेको कन्सोर्टियमले करिब १९ अर्ब रुपैयाँ लगानी गर्नेछ ।

कन्सोर्टियमअन्तर्गत ग्लोबल आइएमई बैंकले ५ अर्ब रुपैयाँ, सिद्धार्थ बैंकले ४ अर्ब रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ४ अर्ब रुपैयाँ, प्रभु बैंकले ३ अर्ब ५० करोड रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ५० करोड रुपैयाँ तथा नेपाल एसबिआई बैंकले १ अर्ब रुपैयाँ लगानी गर्नेछन् ।

सम्झौतापछि ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आयोजना निर्धारित समयसीमाभित्र सम्पन्न भई मुलुकको ऊर्जा उत्पादन क्षमतामा वृद्धि हुनुका साथै ऊर्जा निर्यात प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले आयोजनाको सफल कार्यान्वयनका लागि शुभकामना पनि दिएका छन् ।
ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिकास्थित तमोर नदीमा निर्माण हुने १६६ मेगावाट क्षमताको यस जलविद्युत आयोजनाको अनुमानित लागत २५ अर्ब रुपैयाँ रहेको छ । सम्झौताअनुसार कुल लागतको ७५ प्रतिशत रकम बैंक तथा वित्तीय संस्थाबाट लगानी गरिनेछ भने बाँकी २५ प्रतिशत संस्थापक तथा अन्य लगानीकर्ताबाट जुटाइनेछ । आयोजना निर्माण सुरु भएको मितिबाट पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट विभिन्न विधामा सम्मानित हुँदै आएको छ । बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’, ‘बेस्ट बैंक नेपाल २०२४, २०२५ र २०२६’, ‘युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५’, ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’ तथा ‘बेस्ट इम्प्लोयर’ लगायतका प्रतिष्ठित अवार्ड प्राप्त गरिसकेको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३४४ शाखा कार्यालय, ३८५ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

बैंकले बैंकिङ सेवासँगै विभिन्न मुलुकबाट रेमिट्यान्स सेवा पनि उपलब्ध गराउँदै आएको छ । संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायतका देशबाट बैंकले रेमिट्यान्स भित्र्याउने कार्य गर्दै आएको जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं