काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली तथा पहाडी भू–भागमा साधारणतया बादल र तराई भू–भागमा मुख्यतया सफा रहेको छ । बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागको थोरै स्थानहरु तथा कोशी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ तथा तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, लुम्बिनी, कर्णाली प्रदेश लगायत देशको हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ । मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको छ ।
आज राति कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका तराई भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ । कोशी प्रदेश लगायत देशको हिमाली भू–भागको थोरै स्थानहरू, मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेश पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।