काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राजदरबार हत्याकाण्डसँगै मदन भण्डारीको मृत्यु प्रकरणको पनि निष्पक्ष अनुसन्धान हुनुपर्ने बताएका छन्।
बुधबार काठमाडौँमा आयोजित एक पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले राजनीतिक रूपमा संवेदनशील घटनाहरूको सत्यतथ्य सार्वजनिक गर्न राज्यले गम्भीर पहल गर्नुपर्ने धारणा राखे।
नवनियुक्त गृहमन्त्री सुधन गुरुङले राजदरबार हत्याकाण्डबारे छानबिन गर्ने प्रतिबद्धता जनाएको उल्लेख गर्दै घिसिङले उक्त अनुसन्धानमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता सुनिश्चित गर्नुपर्ने बताए। उनका अनुसार सीमित दायरामा गरिने अनुसन्धानले अपेक्षित परिणाम दिन नसक्ने भएकाले विश्वसनीय र स्वतन्त्र ढंगले प्रक्रिया अघि बढाइनु आवश्यक छ।
उनले मदन भण्डारीको मृत्यु प्रकरणको वास्तविकता सार्वजनिक गर्नुपर्ने तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनसँग सम्बन्धित उठेका शंकाहरूको समेत अनुसन्धान हुनुपर्ने धारणा व्यक्त गरे।
घिसिङले राजनीतिक व्यक्तित्वसँग जोडिएका घटना मात्र नभई अन्य चर्चित आपराधिक घटनाको पनि निष्पक्ष छानबिन हुनुपर्ने बताए। उनले निर्मला पन्त हत्या प्रकरणका दोषी अझै पहिचान हुन नसकेको उल्लेख गर्दै त्यसबारे सरकारले यथार्थ सार्वजनिक गर्नुपर्ने माग गरे।
यस्तै, टिकापुर घटनापछि गठित लाल आयोगको प्रतिवेदन हालसम्म सार्वजनिक नगरिएको भन्दै उनले उक्त प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग आग्रह गरे। उनका अनुसार विगतका विवादास्पद घटनाबारे सत्यतथ्य बाहिर ल्याउन पारदर्शी र विश्वसनीय अनुसन्धान प्रक्रिया आवश्यक छ।