काठमाडौं । ४० हजार घुस रकमसहित भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत एक जना नायव सुब्बा(नासु) पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय पोखराको टोलीले शनिबार नासु ज्ञानराज कँडेललाई पक्राउ गरेको जनाएको छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार नासु कँडेलले जग्गा रोक्का गर्ने क्रममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रकम लिएको उजुरी प्राप्त भएको थियो ।
उजुरीपछि अख्तियार पोखराको टोलीले नियन्त्रणमा लिँदा नासु कँडेलसँग घुस लिएको रकम ४० हजार र थप स्रोत नखुलेको रकम २१ हजार ७० रुपैयाँ पनि भेटिएको प्रवक्ता न्यौपानेले जानकारी दिएका छन् ।