काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशको हिमाली र पहाडी भू–भागका साथै कोशी प्रदेशको तराई भू–भागमा साधारणतया बादल तथा मधेश प्रदेशमा आंशिक बादल लागेको छ । कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा भइरहेको छ ।
आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । मधेश प्रदेश तथा कोशी,बागमती र गण्डकी प्रदेशका तराई भू–भागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एक र दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा, मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशको तराई भू–भागको एकदुई स्थानमा पनि मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना छ ।
यसैगरी, आज राति देशको हिमाली र पहाडी भू–भाग साथै कोशी प्रदेशका तराई भू–भागमा आंशिक बादल तथा अन्य तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा/हिमपात तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।