Lite Nepal

बिहिबार, आषाढ ०४, २०८३

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले कुवेतका जेलमा सात महिलासहित ६३ जना नेपाली रहेको बताएका छन् ।

उनले बिहीबार मन्त्रालयगत बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रतिनिधिसभा बैठकमा सो जानकारी दिएका हुन् ।

“कुवेतको जेलमा सयौँ नेपाली महिलाहरू रहेको भन्ने भनाइमा सत्यता नरहेको व्यहोरा सम्मानित सदनलाई जानकारी गराउँछु । हाल कुवेतको जेलमा जम्मा ६३ जना नेपाली नागरिकहरू विभिन्न अभियोगमा थुनामा रहेकोमा तीमध्ये सातजना महिला रहेका छन्,” परराष्ट्रमन्त्री खनालले भने ।

कुवेतमा घरेलु कामदारका रूपमा काम गर्न गएकी सर्मिला दर्जीलाई नेपाली दूतावास, कुवेतको पहलमा यही असार १ गते काठमाडौं फर्काइएको उनले जनाए ।

त्यसैगरी नेपाली दूतावासले उद्धार गरेका करिब ७० जना महिलाहरू नेपाल फर्कने क्रममा रहेको उनले जानकारी दिए ।

तत्कालीन संघीय प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिबाट २०७३ चैत २० गते ‘सम्बन्धित मुलुकले घरेलु श्रमिक सम्बन्धी ठोस कानुन नबनाउँदासम्म र नेपालसँग द्विपक्षीय श्रम सम्झौता नगर्दासम्म खाडी मुलुकमा नेपाली घरेलु श्रमिक पठाउने कार्य पूर्णतः बन्द गर्न नेपाल सरकार, मन्त्रिपरिषद्लाई निर्देशन दिने’ निर्णय गरेपश्चात घरेलु कामदारको रूपमा जान बन्देज लागेको उनले जनाए ।

तर, अवैध बाटो वा भिजिट भिसाको दुरूपयोग गरी कुवेत, साउदी अरब तथा ओमान जस्ता मुलुकमा घरेलु काममा नेपाली महिलाहरू जाने क्रम नरोकिएको उनले बताए । “अब यसलाई सम्बोधन गर्न ढिलो गर्नु हुँदैन,” परराष्ट्रमन्त्री खनालले भने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं