काठमाडौं । फिफा विश्वकप फुटबल–२०२६ मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट चरण प्रवेश गरेको छ ।
अमेरिकाको सिएटल स्टेडियममा सम्पन्न खेलमा अष्ट्रेलियालाई २–० गोलअन्तरले पराजित गर्दै अमेरिका नकआउट चरण प्रवेश गरेको हो ।
विश्वकपमा अमेरिकाको यो लगातार दोस्रो जित हो । यसअघि आफ्नो पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई पराजित गरेको थियो ।
अमेरिकाको जितमा एलेक्स फ्रीम्यानले एक गोल गरे भने एक गोल उपहारस्वरुप प्राप्त गर्यो । खेल सुरुवाती ११ औं मिनेटमा अष्ट्रेलियाका क्यामरुन बर्गेसको आत्मघाती गोलमार्फत अमेरिकाले पहिलो अग्रता लिएको थियो । अष्ट्रेलियाका डिफेन्डर क्यामरुनले क्लियर गर्ने क्रममा प्रहार गरेको बल आफ्नै गोल पोष्टमा छिर्दा अमेरिकालाई अग्रता लिने अवसर प्राप्त गर्यो ।
त्यसपछि खेलको ४३ औं मिनेटमा अमेरिकाका एलेक्सले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि खेलमा गोल हुन सकेन र अन्तत अमेरिकाले अष्ट्रेलियामाथि २–० गोलअन्तरको जित निकाल्यो । यस जितसँगै समूह ‘डी’मा रहेको अमेरिकाले २ खेलबाट ६ अंक जोडेको छ ।