विराटनगर । कोशी प्रदेश प्राकृतिक, सांस्कृतिक, धार्मिक र जैविक विविधताले सम्पन्न प्रदेश हो । हिमाल, पहाड र तराईको अनुपम संयोजन रहेको यो प्रदेश प्राकृतिक सम्पदाको दृष्टिले देशकै अग्रणी प्रदेश मानिन्छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथादेखि विश्वकै तेस्रो अग्लो हिमाल कञ्चनजंघासम्म, विश्वप्रसिद्ध सप्तकोशी नदीदेखि अनेकन ताल, झरना, जंगल र जैविक विविधतासम्मको अनुपम सम्पदा यसै प्रदेशमा रहेको छ ।
धार्मिक पर्यटनको दृष्टिले पनि कोशी प्रदेश अत्यन्तै महत्वपूर्ण छ । सुनसरीको बराहक्षेत्र, ताप्लेजुङको पाथीभरा मन्दिर, खोटाङको हलेशी महादेव, धनकुटाको छिन्ताङ, इलामका विभिन्न धार्मिक तथा सांस्कृतिक स्थलहरू हरेक वर्ष लाखौँ श्रद्धालु तथा पर्यटकको गन्तव्य बन्दै आएका छन् । यति धेरै प्राकृतिक र धार्मिक सम्पदाले सम्पन्न हुँदाहुँदै पनि कोशी प्रदेशले आफ्नो आर्थिक सम्भावनालाई अझै पूर्णरूपमा उपयोग गर्न सकेको छैन ।
वास्तवमा कोशी प्रदेशको विकासको सबैभन्दा ठूलो सम्भावना पर्यटन, कृषि र जलविद्युतको एकीकृत विकासमा लुकेको छ । अब समय आएको छ कि पर्यटनलाई केवल हिमाल, मन्दिर र प्राकृतिक दृश्यमा मात्र सीमित नराखी कृषि र जलविद्युतसँग जोडेर नयाँ आर्थिक आयामको विकास गर्ने ।
सम्भावनाको ढोका कृषि पर्यटन
कोशी प्रदेश नेपालको प्रमुख कृषि उत्पादन केन्द्रमध्ये एक हो । यहाँको उर्वर भूमि, विविध हावापानी र प्राकृतिक वातावरणले विभिन्न प्रकारका कृषि उत्पादनका लागि अत्यन्त अनुकूल वातावरण सिर्जना गरेको छ ।
इलामको चिया, धनकुटाको सुन्तला, ताप्लेजुङको अलैँची, संखुवासभाको किवी, भोजपुरको टिमुर, झापाको धान तथा चिया, मोरङ–सुनसरीको तरकारी तथा फलफूल उत्पादनले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ ।
तर, यी उत्पादनहरूलाई केवल खेतीपाती र व्यापारमा मात्र सीमित राख्नु हुँदैन । विश्वका धेरै देशहरूले कृषि र पर्यटनलाई एकीकृत गरेर ‘एग्रो–टुरिज्म’ अर्थात् कृषि पर्यटनको सफल अभ्यास गरिरहेका छन् ।
नेपालका अधिकांश युवाहरू विदेश पलायन भइरहेका बेला कृषि पर्यटनले गाउँमै रोजगारी र उद्यमशीलताको नयाँ सम्भावना सिर्जना गर्न सक्छ ।
उदाहरणका लागि, इलामको चिया बगानमा पर्यटकलाई चिया टिप्ने अनुभव गराउने, चिया प्रशोधन प्रक्रिया देखाउने, चियाको स्वाद चखाउने तथा चिया बगानमै होमस्टे सञ्चालन गर्ने कार्यक्रमले हजारौँ आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सक्छ ।
त्यसैगरी, ताप्लेजुङको अलैँची बगान, संखुवासभाको किवी खेती, धनकुटाको सुन्तला बगान, झापाको चिया उद्योग, सुनसरी र मोरङका आधुनिक कृषि फार्महरूलाई पर्यटनसँग जोड्न सकिन्छ ।
पर्यटकहरूलाई गाउँमा बस्ने, स्थानीय कृषि प्रणाली बुझ्ने, फलफूल टिप्ने, जैविक खेती सिक्ने तथा स्थानीय परिकारको स्वाद लिन दिने व्यवस्था गर्न सकियो भने यसले किसानको आम्दानी बढाउनुका साथै ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्न सक्छ ।
नेपालका अधिकांश युवाहरू विदेश पलायन भइरहेका बेला कृषि पर्यटनले गाउँमै रोजगारी र उद्यमशीलताको नयाँ सम्भावना सिर्जना गर्न सक्छ ।
यदि एउटा किसानले आफ्नो फार्मलाई पर्यटकीय गन्तव्य बनाउन सके, उसले कृषि उत्पादन बेच्नुका साथै आवास, खाना, भ्रमण, स्थानीय उत्पादन र सांस्कृतिक कार्यक्रमबाट अतिरिक्त आम्दानी गर्न सक्छ ।
उदाहरणका लागि, इलामको चिया बगानमा पुग्ने पर्यटकले केवल चिया किनेर मात्र फर्किँदैनन् । उनीहरू त्यहाँ बस्छन्, स्थानीय खाना खान्छन्, स्थानीय उत्पादन खरिद गर्छन् र अन्य सेवामा खर्च गर्छन् । यसले स्थानीय अर्थतन्त्रलाई प्रत्यक्ष रूपमा चलायमान बनाउँछ ।
जलविद्युत पर्यटन
कोशी प्रदेश जलस्रोतको धनी प्रदेश हो । विश्वकै शक्तिशाली नदी प्रणालीमध्ये एक सप्तकोशी नदी प्रणाली यसै प्रदेशमा अवस्थित छ । अरुण, तमोर, दूधकोशी, लिखु, इन्द्रावती, बरुण लगायतका दर्जनौँ नदीहरूले यस प्रदेशलाई जलविद्युत उत्पादनको दृष्टिले अत्यन्त सम्भावनायुक्त बनाएका छन् ।
नेपालमा उत्पादित अधिकांश विद्युत् यही प्रदेशका नदी प्रणालीबाट उत्पादन भइरहेको छ । अरुण तेस्रो, तमोर जलाशय, अपर अरुण, दूधकोशी, विभिन्न मध्यम तथा साना जलविद्युत आयोजना यहाँ निर्माणाधीन तथा सञ्चालनमा रहेका छन् ।
तर, जलविद्युतलाई केवल बिजुली उत्पादन गर्ने उद्योगको रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन । विश्वका धेरै देशहरूले जलविद्युत आयोजनालाई पर्यटनसँग सफलतापूर्वक जोडिरहेका छन् । ठूला बाँध, सुरुङ, विद्युत गृह, जलाशय, कृत्रिम ताल तथा विद्युत उत्पादन प्रक्रियालाई शैक्षिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गरिएको पाइन्छ ।
अरुण नदीमा निर्माणाधीन जलविद्युत परियोजनाहरू, तमोर नदी क्षेत्र, सप्तकोशी नदी प्रणाली र विभिन्न बाँध क्षेत्रहरूलाई अध्ययन भ्रमण केन्द्रका रूपमा विकास गर्न सकिन्छ ।
कोशी प्रदेशमा सञ्चालनमा रहेका ठूला जलविद्युत आयोजनाहरूलाई ‘हाइड्रो टुरिज्म’ अर्थात् जलविद्युत पर्यटनका रूपमा विकास गर्न सकिन्छ । विद्यालय तथा विश्वविद्यालयका विद्यार्थी, अनुसन्धानकर्ता, विदेशी प्राविधिक, लगानीकर्ता तथा सामान्य पर्यटकलाई जलविद्युत उत्पादन प्रक्रिया अवलोकन गराउने कार्यक्रम सञ्चालन गर्न सकिन्छ ।
अरुण नदीमा निर्माणाधीन जलविद्युत परियोजनाहरू, तमोर नदी क्षेत्र, सप्तकोशी नदी प्रणाली र विभिन्न बाँध क्षेत्रहरूलाई अध्ययन भ्रमण केन्द्रका रूपमा विकास गर्न सकिन्छ । यसले पर्यटन प्रवद्र्धनसँगै ऊर्जा क्षेत्रप्रति जनचासो बढाउने, प्राविधिक शिक्षा प्रवद्र्धन गर्ने तथा नयाँ लगानी आकर्षित गर्न मद्दत पुग्छ ।
जलविद्युत आयोजनासँगै निर्माण हुने जलाशयहरूलाई पर्यटनका केन्द्रका रूपमा विकास गर्न सकिन्छ । डुङ्गा सयर, जलक्रीडा, माछापालन, किनार क्षेत्रमा रिसोर्ट तथा होमस्टे विकास गरेर नयाँ पर्यटकीय उत्पादन सिर्जना गर्न सकिन्छ ।
सप्तकोशी नदी क्षेत्रमा रिभर क्रुज, रिभर साइड रिसोर्ट, साहसिक जल पर्यटन तथा प्रकृति अवलोकन कार्यक्रम सञ्चालन गर्न सकिन्छ । यदि जलविद्युत आयोजनासँगै पर्यटन पूर्वाधार निर्माण गरियो भने त्यसले स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुर्याउनेछ ।
धार्मिक पर्यटन, कृषि र जलविद्युतको त्रिकोणीय विकास
कोशी प्रदेशमा धार्मिक पर्यटनको अत्यन्त ठूलो सम्भावना छ । बराहक्षेत्र, पाथीभरा र हलेशी महादेवमा वर्षेनी लाखौँ भक्तजन आउने गरेका छन् । यदि यी धार्मिक गन्तव्यलाई कृषि र जलविद्युत पर्यटनसँग जोड्न सकियो भने पर्यटकको बसाइ अवधि लम्ब्याउन सकिन्छ ।
उदाहरणका लागि, पाथीभरा दर्शनका लागि ताप्लेजुङ पुगेका पर्यटकलाई अलैँची बगान, कञ्चनजंघा क्षेत्र, कृषि प्रणाली तथा तमोर नदी क्षेत्रका जलविद्युत आयोजनाको भ्रमण गराउन सकिन्छ ।
बराहक्षेत्र आउने पर्यटकलाई सप्तकोशी नदी पर्यटन, कृषि फार्म भ्रमण तथा स्थानीय परिकारसँग जोड्न सकिन्छ ।
हलेशी महादेव आउने पर्यटकलाई स्थानीय कृषि उत्पादन, किवी खेती तथा प्राकृतिक पर्यटनसँग जोडेर थप आकर्षण सिर्जना गर्न सकिन्छ । यसले धार्मिक पर्यटनलाई केवल एकदिने भ्रमणमा सीमित नराखी बहुआयामिक आर्थिक गतिविधिमा रूपान्तरण गर्न सक्छ ।
पर्यटकले पाथीभरा, बराहक्षेत्र र हलेशीको दर्शन मात्र होइन, चिया बगानमा चिया टिप्ने, अलैँची बगानमा रमाउने, किवी फार्ममा समय बिताउने, जलविद्युत आयोजना अवलोकन गर्ने, सप्तकोशी नदीमा जल पर्यटनको आनन्द लिने अवसर पाउनुपर्छ ।
संघीय सरकार र कोशी प्रदेश सरकारले अब पर्यटन कृषि, ऊर्जा, उद्योग र स्थानीय उत्पादनसँग जोड्ने दीर्घकालीन रणनीति बनायउन आवश्यक छ । यसका लागि कृषि पर्यटन गुरुयोजना निर्माण, जलविद्युत पर्यटन नीति निर्माण, कृषि फार्म र जलविद्युत आयोजना अवलोकन मार्गको विकास, होमस्टे र स्थानीय उत्पादनलाई प्रोत्साहन, धार्मिक पर्यटनसँग कृषि तथा ऊर्जा पर्यटन प्याकेजको विकास, स्थानीय युवालाई पर्यटन उद्यमीका रूपमा प्रोत्साहन र निजी क्षेत्र र स्थानीय सरकारबीच सहकार्य गर्न आवश्यक छ ।
कोशी प्रदेश केवल हिमाल, नदी, मन्दिर र प्राकृतिक सुन्दरताले मात्र धनी प्रदेश होइन, यो कृषि उत्पादन र जलविद्युतको अथाह सम्भावना बोकेको प्रदेश पनि हो । अब प्रदेशको समृद्धिको यात्रा केवल धार्मिक र प्राकृतिक पर्यटनमा सीमित राख्नु हुँदैन । कृषि र जलविद्युतलाई पर्यटनसँग जोडेर नयाँ आर्थिक मोडेल निर्माण गर्नु आजको आवश्यकता हो ।
पर्यटकले पाथीभरा, बराहक्षेत्र र हलेशीको दर्शन मात्र होइन, चिया बगानमा चिया टिप्ने, अलैँची बगानमा रमाउने, किवी फार्ममा समय बिताउने, जलविद्युत आयोजना अवलोकन गर्ने, सप्तकोशी नदीमा जल पर्यटनको आनन्द लिने अवसर पाउनुपर्छ ।
जब कृषि, जलविद्युत र पर्यटन एकअर्काका परिपूरक क्षेत्रका रूपमा विकास हुन्छन्, तब मात्र कोशी प्रदेशको प्राकृतिक सम्पदाले वास्तविक आर्थिक मूल्य प्राप्त गर्नेछ । यही एकीकृत विकास मोडेलले कोशी प्रदेशलाई नेपालको समृद्धिको नयाँ केन्द्रका रूपमा स्थापित गर्न सक्छ ।