काठमाडौं । मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक भएका छन्। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्का मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो बसेको बैठकले रिक्त रहेका १३ देशका लागि नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गर्नेलगायत विभिन्न निर्णय गरेको छ। बैठकले संसदीय सुनुवाइका लागि १३ देशका प्रस्तावित राजदूतको नाम संसदीय सदनसमक्ष पठाउने निर्णय गरेको छ।

१३ देशका लागि राजदूत सिफारिस
डा. निश्चलनाथ पाण्डे — भारत
डा. कल्याणराज शर्मा — चीन
चिरनजंग थापा — संयुक्त राज्य अमेरिका
पूर्वप्रधानसेनापति गौरवशम्शेर जंगबहादुर राणा — संयुक्त अधिराज्य (यू के)
जिज्ञानकुमार थापा — जापान
सुरेशकुमार कर्ण — इजरायल
प्राप्ति शेरचन — स्पेन
शरू जोशी — जर्मनी
डा. पद्माक्षी राणा — ओमान
चूडामणि खरेल — मलेसिया
प्रा. डा. सङ्गम श्रेष्ठ — दक्षिण कोरिया
डा. मंचला झा — श्रीलंका
गिरीबहादुर सुनार — साउदी अरेबिया
अन्य निर्णय
बैठकले नेपाली नागरिकता पाँचौँ संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। त्यस्तै, साविकमा कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गत रहेको नेपाल मौसम विभागलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत राख्ने गरी नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ संशोधन गर्ने निर्णय गरिएको छ।
मन्त्रिपरिषद्ले नेपाल विद्युत् प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा काठमाडौंका दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। यसैगरी, सहसचिव रुद्रसिंह तामाङलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरिएको छ।