चितवन । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रिय राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कहाँ उभिन्छ भन्ने प्रश्न सबैतिर रहेको बताएका छन् । रास्वपाको आजबाट चितवनमा सुरु भएको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै ज्ञवालीले भने, ‘राष्ट्रिय राजनीतिमा रास्वपा कहाँ उभिन्छ भन्ने प्रश्न सबैतिर छ । तपाईंहरू सेन्टरमा उभिनुस् वा राइट वा लेफ्टमा ढल्किनुस्, त्यो ठुलो कुरा होइन। मुख्य कुरा गरिखाने जनताका लागि केही गर्ने पार्टी बन्नुस्।’
उपमहासचिव ज्ञवालीले रवि लामिछाने सभापति र बालेन्द्र शाह वरिष्ठ नेता चयन हुनुभएकोमा बधाई ज्ञापन गर्दै महाधिवेशनले नेतृत्व मात्र नभई पार्टीको स्पष्ट नीति र कार्यदिशा तय गर्नुपर्ने बताए ।
ज्ञवालीले रास्वपाले युवाहरूलाई राजनीतिमा जोड्न सफल भएको विषयबाट पुराना राजनीतिक दलहरूले धेरै कुरा सिक्नुपर्ने बताए । उनले जनादेश हासिल गर्नुभन्दा त्यसलाई सङ्गठित र परिचालन गर्नु ठुलो चुनौती भएको उल्लेख गर्दै भने, ‘निर्वाचन र जनमत केवल साधन हुन्, साध्य त राष्ट्र निर्माण र मुलुकको आगामी दिशा तय गर्नु हो।’
रास्वपा सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री एवं रास्वपा नेता शिशिर खनालको हालैका विदेश भ्रमणहरूतर्फ सङ्केत गर्दै ज्ञवालीले भूराजनीतिक संवेदनशीलतामा ध्यान दिन आग्रह गरे । ‘नेपालजस्तो सानो देशले भूराजनीतिमा एउटा सानो गल्ती गर्दा पनि त्यो थेग्न गाह्रो हुन्छ,’ उनले भने, ‘त्यसमा पर्याप्त बुद्धि पुर्याउनुहोला।’
ज्ञवालीले सरकार निर्माण भएको थोरै समयमै केही प्रश्नहरू उठेको तर्फ सङ्केत गर्दै राष्ट्रपति लगायतका राज्यका संस्थाहरू कमजोर बनाउन नहुने बताए । ‘यदि संस्थाहरू कमजोर भए भने प्राप्त जनमत सधैँभरि नरहन सक्छ। लोकतन्त्रमा सबै संस्थाहरू बलियो हुनुपर्छ,’ उनले भने ।