विराटनगर । हिजोआज सहरका चियापसलमा होस् या सामाजिक सञ्जालका भित्ताहरू सम्म एउटै साझा बहस सुनिन्छ, ‘यो देशमा ३० वर्षमा आखिर के नै भयो र ?’ निराश अनुहारहरू, निराशावादी तर्कहरू र वर्तमानको आक्रोश सुन्दा मेरो मनको एउटा कुनामा सुस्तरी हाँसो उठेर आउँछ ।
मलाई लाग्छ, सायद हामीले विगतलाई हेर्ने चस्माको लेन्स अलि धमिलो बनायौँ । या त हामी परिवर्तनलाई केवल राजनीतिक सत्ता फेरबदलको संकुचित दायराबाट मात्र मापन गर्दैछौँ । ३० वर्षअघि आजको जस्तो हात–हातमा स्मार्टफोन थिएनन् । न त सामाजिक सञ्जालमा तस्बिरहरू सजाउने डिजिटल ग्यालरी नै उपलब्ध थियो । तर, मानिसहरूसँग एउटा अद्भुत चिज थियो, भरपुर स्मृति क्षमता भएको र जीवनका भोगाइहरूलाई दुरुस्तै सुरक्षित राख्न सक्ने एउटा कोमल मन ।
भौतिक रूपमा फोटो खिच्ने क्यामेरा मेरो बालापनसँग थिएन । तर, मेरो मनको ग्यालरीमा उबेलाको खाँदबारी अर्थात् संखुवासभा जिल्लाको तत्कालीन सुदूर स्वरूपका यस्ता जीवन्त तस्बिरहरू सुरक्षित छन्, जसमा समयको धूलै उडे पनि रङहरू अझै उस्तै गाढा र ताजा लाग्छन् ।
जब म ती आँखाहरू बन्द गर्छु, म फेरि तीस वर्षअघिको त्यही खाँदबारीको बजारमा पुग्छु । जहाँ कुहिरोले डाँडाहरू लुकाउँथ्यो, जहाँ मान्छेका आकांक्षाहरू ससाना थिए तर तिनीहरूलाई पूरा गर्न गरिने सङ्घर्षहरू बडेमानका थिए । संखुवासभा त्यतिबेला एउटा यस्तो भूगोल थियो, जसको आफ्नै संसार थियो, आफ्नै गति थियो र आफ्नै दुःखहरूको पहाड थियो ।

सङ्खुवासभा जिल्लामा रहेकाे तुम्लिङटार विमानस्थल । तस्बिर साैजन्य : Pastenji Sherpa
संखुवासभा राष्ट्रिय सडक सञ्जालको पहुँचबाट कोसौं टाढा, एउटा टापु जस्तै एकाङ्की थियो । बाहिरी संसार, विशेष गरी तराई वा काठमाडौँसँग जोडिने जिल्लाको एउटै मात्र द्रुत कडी थियो, हवाई मार्ग । तुमलिङटार विमानस्थलमा बस्ने जहाजहरू हाम्रा लागि आकाशका चरा जस्तै अचम्मका लाग्थे ।
तर, त्यो हवाई मार्गले तत्कालीन समाजमा एउटा कडा र अदृश्य वर्ग विभाजन रेखा कोरेको थियो । हुनेखाने, हुने वर्ग र टाठाबाठाहरू सजिलै जहाजको टिकट काट्थे, तुमलिङटारमा उत्रन्थे र केही मिनेटमै सुविधायुक्त सहर पस्थे । उनीहरूका लागि भूगोल दुर्गम थिएन। तर, समाजको अर्को ठुलो हिस्सा, अर्थात् नहुने वर्गका लागि हवाई यात्रा एउटा नपाइने आकाशको फल जस्तै थियो ।
उनीहरूका लागि एउटै मात्र कठोर विकल्प बाँकी रहन्थ्यो, तीनदेखि चार दिनको कष्टकर पैदल यात्रा । खुट्टामा ठेला उठाउँदै, उकाली ओराली गर्दै, जङ्गल र भिरका साँघुरा गोरेठोहरू नाघ्दै धनकुटाको हिलेसम्म पुग्नुपथ्र्यो ।
हिले पुगेपछि मात्र बल्ल गाडीको स्टेरिङ, पाङ्ग्रा र गाडीको वास्तविक अनुहार देख्न पाइन्थ्यो । हाम्रा लागि गाडी चढ्नु कुनै सामान्य यात्रा थिएन, त्यो त जीवनकै एउटा ठुलो उत्सव र कहिल्यै नदेखेको सपना साकार हुनु जस्तै हुन्थ्यो । म कहिल्यै बिर्सन्नँ, साल थियो २०५२ । मेरो जागिरे बुबाको सरुवा तराईको राजविराजमा भयो ।
बुबाले हामी परिवारलाई सँगै लैजाने निर्णय गर्नुभयो । खाँदबारीबाट हिँडेर, अनेकौँ हण्डर खाँदै हामी हिले पुग्यौँ । बडेमानको अक्करे भिर छिचोल्दै जब जीवनमा पहिलो पटक गाडीको तीखो हर्न मेरो कानमा गुञ्जियो, म रोमान्चित मात्र भइनँ, मेरो बाल मनभित्र एक किसिमको ठुलो त्रास सञ्चारित भयो ।
मेरो कानहरू त्यो चर्को आवाजले अत्तालिएका थिए । गाडीको त्यो हर्न केवल एउटा यन्त्रको आवाज थिएन, त्यो त हाम्रा लागि आधुनिकताको पहिलो पदचाप थियो । त्यतिबेला हिलेको धुलो र गाडीको गन्धले पनि हामीलाई एउटा बिल्कुलै नयाँ संसारमा आइपुगेको आभास गराउँथ्यो ।
त्यो बेलाको यातायात र पूर्वाधारको दुरावस्था देख्दा मनमा लाग्थ्यो, सडकको कालोपत्रेले संखुवासभालाई भेट्न सायद अझै सय वर्ष लाग्नेछ । हामी सदरमुकाम खाँदबारीमै बस्ने भए पनि दुर्गमताको चरम अनुभूति हरेक विहानी र साँझहरूमा हुन्थ्यो ।
बजारमा सामानको अभाव हुनु सामान्य कुरा थियो । उबेला खाँदबारी तत्कालीन पूर्वाञ्चल विकास क्षेत्रकै सबैभन्दा महँगो बजारका रूपमा परिचित थियो । धरानदेखि भरियाहरूले हप्तौँ लगाएर, आफ्नो पिठ्युँ र नाम्लोको भरमा बोकेको नुन, चामल, मट्टितेल र कपडाहरू जब खाँदबारी पुग्थे, तिनीहरूको मूल्य आकाशिएको हुन्थ्यो ।

संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारीको प्रमुख बजार, पोखरी बजार । तस्बिर साैजन्य : दीप किरण शाक्य
प्रत्येक गाँसमा भरियाको पसिना र सङ्घर्ष मिसिएको हुन्थ्यो । सामानको यही चर्को मूल्यका कारण खाँदबारी सर्वसाधारणका लागि निकै खर्चिलो थियो । तर, यही दुर्गमता को महँगीका बीच एउटा अर्को रोचक पक्ष पनि लुकेको थियो । धेरै सरकारी कर्मचारीहरू खाँदबारी जान मरिहत्ते गर्थे । कारण थियो, त्यहाँ पाइने विशेष महँगी भत्ता ।
दुर्गम र महँगो ठाउँ भएकाले सरकारले दिने त्यो अतिरिक्त भत्ताकै लोभमा धेरैले खाँदबारीमा सरुवा मिलाउने गर्थे भन्दै मेरो बुबाले अक्सर सुनाउनुहुन्थ्यो । मेरो बुबा पनि त्यस्तै जागिरे हुनुहुन्थ्यो । उहाँ सप्तरीको एक वर्षको बसाइपछि पुनः सरुवा मिलाएर त्यहीँ फर्किनुभयो। उहाँको त्यो माटोप्रतिको मोह र बाध्यता दुवै थियो। अन्ततः बुबाले आफ्नो सेवा अवधिको उत्तरार्धमा त्यही खाँदबारीबाटै उपदान (रिटायरमेन्ट) प्राप्त गर्नुभयो ।
बुबाको त्यो जागिरे यात्रा र खाँदबारीको भूगोल मेरो बाल्यकालको सबैभन्दा ठुलो पाठशाला बन्यो ।
यही खाँदबारीको माटोमा हुर्किएँ, बढेँ । मेरो बाल्यकालका गोरेटोहरू, दौडिएका चौरहरू र बालसखाहरूसँग बिताएका पलहरू यहीँका गल्लीहरूमा समाहित छन् ।
म आजभोलि बेलाबेलामा आफ्नो थातथलो खाँदबारी पुग्छु, म अचम्ममा पर्छु । मैले बाल्यकालमा हिँडेका, कुदेका र चिनेका ती पुराना बाटाहरू नै पूर्ण रूपमा परिवर्तन भइसकेका छन् । हिजोका साँघुरा, धुलाम्मे र हिले गोरेटोहरूको ठाउँमा आज चौडा र कालोपत्रे सडकहरू फैलिसकेका छन् । म आफैँ सोच्ने गर्छु, मैले हुर्किएको खाँदबारी यसरी यति चाँडै परिवर्तन होला भनेर मैले कहिल्यै सोचेकै थिइनँ ।
खाँदबारीको यो रूपान्तरणमा देशको राजनीतिक प्रणाली र विशेष गरी सङ्घीयताको आगमन एउटा ठुलो टर्निङ प्वाइन्ट बन्यो । सङ्घीयता भित्रिएसँगै जब सिंहदरबारको अधिकार र बजेट स्थानीय तहसम्म विकेन्द्रित भयो, खाँदबारीको समग्र स्वरूप र शासकीय अनुहार नै बदलिएको छ ।
हिजो एउटा सानो प्रशासनिक काम र बजेटका लागि काठमाडौँ वा विराटनगरको मुख ताक्नुपर्ने खाँदबारी आज आफैँमा एउटा शक्तिशाली स्थानीय केन्द्र बनेको छ । सङ्घीयताले यहाँका बाटाहरू मात्र फेरेन, यहाँका स्थानीय मानिसहरूको आर्थिक हैसियत, बजारको संरचना र समग्र भौतिक विकासको गतिलाई नै तीव्र बनाइदियो ।
आफ्नो हुर्किएको ठाउँलाई यसरी आधुनिकताको लयमा समाहित भएको देख्दा मनमा एउटा फरक गर्व महसुस हुन्छ । आज समयको नदीमा धेरै पानी बगिसकेको छ । हिजो खुट्टामा ठेला उठाएर, हिलो र धुलो चाट्दै गरिने त्यो खाँदबारी–धरानको कष्टकर पैतालाको यात्रा आज इतिहासको पानामा सीमित भइसकेको छ ।
आजको वास्तविक चुनौती सडक खन्नु मात्र होइन, त्यो सडकमा सुरक्षित र नियमसम्मत गाडी गुडाउनु हो । आजको आवश्यकता केवल भवन बनाउनु मात्र होइन, त्यो भवनभित्र बस्ने संस्थाहरूमा सुशासन र पारदर्शिता कायम गर्नु हो ।
आज मानिसहरू सुविधायुक्त गाडीमा बसेर केही घण्टामै त्यो दुरी पार गर्छन् । हिजोका दिनमा एउटा सादा ब्ल्याक एन्ड व्हाइट टिभीमा रामायण वा नेपाल टेलिभिजन का कार्यक्रम हेर्न पनि गाउँभरिका साथीहरू जम्मा भएर अर्काको घरको आँगनमा धाउनुपर्ने बाध्यता थियो ।
आज समय यसरी पल्टिएको छ कि गाउँका हरेक नागरिकका हात–हातमा अत्याधुनिक स्मार्टफोन सजिएका छन् । इन्टरनेटको अदृश्य सञ्जाल नपुगेको अब कुनै कुना वा कन्दरा बाँकी छैन।यो परिवर्तन केवल सडकको कालोपत्रे वा प्रविधिको विकासमा मात्र सीमित छैन । यसले हाम्रा घरका चुलाचौका र सामाजिक सम्बन्धहरूको जग नै बदलिदिएको छ ।
हिजोका दिनमा केवल चुलाचौका, घाँसदाउरा र घरको चौघेराभित्र सीमित हुने हाम्रा आमा, दिदी र भाउजूहरू आज घरको दैलो नाघेर व्यावसायिक रूपमा आत्मनिर्भर बनेका छन् । उनीहरू पसल सम्हालिरहेका छन्, लघुवित्त र सहकारीहरू चलाइरहेका छन्, र बजारको आर्थिक गतिविधिमा सीधा नेतृत्व गरिरहेका छन् ।
गाउँका ती पुराना खरका छाना भएका, पानी पर्दा चुहिने झुपडीहरू बिस्तारै विस्थापित भएका छन् । तिनीहरूको ठाउँमा आज कङ्क्रिटका पक्की आरसीसी घरहरू गर्वका साथ ठडिएका छन् । भौतिक रूपमा मात्र होइन, चेतना र सोचको स्तरमा पनि एउटा ठुलो सामाजिक विकास भएको छ ।
मैले विद्यालयको किताबमा अति दुर्गम र विकट भनेर पढेको र भोगेको संखुवासभा आज चीनको सिमाना किमाथाङ्का नाकासम्म सडक पुगेर गाडी गुड्ने ठाउँमा रूपान्तरित भइसकेको छ । यो कुनै चामत्कारिक दन्त्यकथा होइन, यो हाम्रै आँखाअगाडि तीन दशकमा घटेको यथार्थ हो ।
भौतिक पूर्वाधार कि प्रणालीको विकास ? हो, विकास पक्कै भएको छ । विगत ३० वर्षमा नेपालले भौतिक, प्राविधिक र सामाजिक रूपमा एउटा लामो र प्रशंसनीय फड्को मारेको छ । हिजोको तुलनामा आजको जीवन अथाह रूपमा सहज र सुविधायुक्त बनेको छ । यसलाई नजरअन्दाज गरेर देशमा केही पनि भएन भन्नु केवल आत्मरति र आफ्नै पुस्ताले गरेको संघर्षको घोर अपमान मात्र हो ।
तर, खाँदबारीको यो ३० वर्षको यात्रालाई नजिकबाट नियाल्दा मेरो मनमा एउटा गम्भीर प्रश्न भने अवश्य उब्जन्छ । हिजो सडक थिएन, आज सडक छ । हिजो सञ्चार थिएन, आज हातमा इन्टरनेट छ। हिजो खरको छानो थियो, आज पक्की घर छ । यी सबै भौतिक पूर्वाधार त बने, तर के यी पूर्वाधारहरूलाई सही ढङ्गले सञ्चालन गर्ने र आम नागरिकलाई न्याय दिने सिस्टम (प्रणाली) बन्यो त ?
आजको वास्तविक चुनौती सडक खन्नु मात्र होइन, त्यो सडकमा सुरक्षित र नियमसम्मत गाडी गुडाउनु हो । आजको आवश्यकता केवल भवन बनाउनु मात्र होइन, त्यो भवनभित्र बस्ने संस्थाहरूमा सुशासन र पारदर्शिता कायम गर्नु हो ।
अब विकास त सिस्टमको पो हुनपर्ने देख्छ। जबसम्म देशमा एउटा बलियो, पारदर्शी र जवाफदेही प्रणालीको विकास हुँदैन, तबसम्म यो भौतिक विकासले मात्र आम मानिसको जीवनमा स्थायी खुसी ल्याउन सक्दैन ।
विगतको सङ्घर्षले हामीलाई यहाँसम्म ल्यायो, अबको चेतनाले हामीलाई पद्धतिको विकासतर्फ डो¥याउनुपर्छ । मनको त्यो पुरानो अभौतिक ग्यालरीमा सुरक्षित रहेको खाँदबारीको धुलाम्मे रूप र आजको यो आधुनिक स्वरूपको तुलना गरिरहँदा हामी बदलिएका छौँ, भूगोल बदलिएको छ, अब पालो देशको व्यवस्थापकीय पद्धति र थिति बदल्ने हो ।