विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदबाट हटाउने निर्णयमा पुगेका छन् ।
मुख्यमन्त्री कार्कीले राजीनामा दिँदा संवैधानिक संकट आउन सक्ने तर्क गर्दै पार्टी सचिवालयको निर्णय पर्खनुपर्ने अडान नछाडेपछि अध्यक्ष ओलीले फरक बाटो रोजेका हुन् ।
यसअघि उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलसँगको छलफलमा ओलीले कार्कीलाई निरन्तरता दिने सहमति गरेका थिए ।
स्रोतका अनुसार ओलीले कोशीका इन्चार्ज रहेका पार्टी सचिव शेरधन राईलाई मुख्यमन्त्री परिवर्तन गर्ने कार्यमा भूमिका खेल्ने जिम्मेवारी दिएका छन् । शनिबार राईले विराटनगरको एक होटलमा मुख्यमन्त्री कार्कीसँग करिब दुई घण्टा यसै विषयमा छलफल समेत गरेका थिए ।
छलफलमा राईले ओलीको सन्देश सुनाउँदै भनेका थिए ‘पार्टी अध्यक्षको सन्देश तपाईंले राजीनामा गर्नुस् भन्ने छ ।’ तर कार्की राजीनामाका निम्ति तयार भएनन् ।
एक उच्च स्रोतका अनुसार ओली आफैले पनि कोशीका सांसदहरूलाई फोन गरिरहेका छन् । हिक्मत कार्कीले राजीनामा नदिए सांसदहरुको बहुमत जुटाउने र संसदीय दलको नेताबाट नै हटाउन ओली सक्रिय छन् ।