विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूलाई मुख्यमन्त्री पदबाट मार्ग प्रशस्त (राजीनामा) गर्न पार्टी नेतृत्वले निर्देशन दिएको भन्ने चर्चा निराधार रहेको बताएका छन्।
पार्टीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले बैठकमा राजीनामाको विषयमा कुनै छलफल नभएको बताए । उनले आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विधि र प्रक्रियाबारे मात्रै छलफल भएको बताए।
‘इन्चार्जले मलाई मार्ग प्रशस्त गर्न भन्नुभयो भन्ने हल्लामा कुनै सत्यता छैन। बैठकमा त्यस विषयमा कुरा भएको छैन ,’उनले भने।
कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीका अभिभावक भएको उल्लेख गर्दै उहाँप्रति आफूहरूको उच्च सम्मान रहेको बताए। प्रदेश कमिटीले छलफलका लागि बोलाएकै कारण आफू सहभागी भएको उनको भनाइ छ।
पार्टीभित्र देखिएको विवाद समाधानउन्मुख रहेको दाबी गर्दै उनले मिडियामा आएजस्तो तीन बुँदे सहमतिका सबै विषय टुङ्गिन बाँकी रहेको बताए।
‘केही प्राविधिक गाँठो फुक्न बाँकी छन्। त्यो फुक्नेबित्तिकै निकास चाँडै देखिनेछ,’ उनले भने।
संसदीय दलको नेताका रूपमा आफू नै रहेको उल्लेख गर्दै कार्कीले आफू विकल्पविहीन नभएको बताए।
‘४० जना सांसदमध्ये योग्य विकल्पहरू हुन सक्छन्। तर अहिलेको परिस्थितिमा एमालेले परिपक्व भूमिका निर्वाह गर्दै एकताबद्ध भएर अघि बढ्नु मुख्य कुरा हो,’ उनले भने।
आफ्नो विरुद्ध सांसदहरूको हस्ताक्षर संकलन भइरहेको भन्ने चर्चालाई पनि उनले हल्लामात्र भएको बताए। धारा १६८(५) अनुसार गठन भएको सरकारले ६९ सांसदको विश्वासको मत प्राप्त गरेको स्मरण गराउँदै उनले सरकार बलियो र सुरक्षित रहेको दाबी गरे।