विराटनगर । नेकपा (एमाले) का कोशी प्रदेश इन्चार्ज तथा पूर्वमुख्यमन्त्री शेरधन राईले कोशी प्रदेशमा मुख्यमन्त्री परिवर्तनको विषय आफ्नो व्यक्तिगत चाहना वा दबाबका कारण अघि बढाइएको भन्ने प्रचार निराधार रहेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै राईले एमाले र नेपाली कांग्रेसबीच साउन ९ गते भएको तीनबुँदे सहमतिअनुसार प्रदेश सरकार सञ्चालन र नेतृत्वको विषय अघि बढिरहेको उल्लेख गर्दै त्यसको कार्यान्वयन पार्टीको संस्थागत निर्णय र निर्देशनअनुसार हुने बताएका हुन् ।
उनले पार्टी अध्यक्षले प्रदेश इन्चार्ज, प्रदेश अध्यक्ष र सचिवलाई विशेष रूपमा बोलाएको भन्ने चर्चा पनि गलत भएको दाबी गरेका छन् । अध्यक्ष तथा सचिव अन्य कामका सिलसिलामा काठमाडौं पुगेका बेला भेटघाट भएको र त्यही क्रममा छलफल भएको मात्र उनले स्पष्ट पारेका छन् ।
राईका अनुसार मुख्यमन्त्रीले पार्टी अध्यक्षलाई भेटेर आफ्नो धारणा राख्ने र अध्यक्षको निर्देशनबमोजिम बाँकी प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएका छन् । अध्यक्षको पछिल्लो निर्देशनपछि सहमतिको अक्षरशः कार्यान्वयन हुने विश्वास समेत उनले व्यक्त गरेका छन्।
मुख्यमन्त्री परिवर्तनको विषय प्रदेश इन्चार्जको निजी चाहना भएको, हस्ताक्षर अभियान चलाइएको वा इन्चार्जले प्रक्रियामा दबाब दिएको भन्ने अभिव्यक्तिहरू सफेद झुट र गैरजिम्मेवार अफवाह भएको राईको भनाइ छ। यस्ता भ्रममा नपर्न उनले पार्टी पंक्ति र सर्वसाधारणलाई आग्रह गरेका छन्।
राईले आफू पार्टीको नीति, नेतृत्व, विधि र निर्णयप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै व्यक्तिगत स्वार्थका आधारमा राजनीति नगरेको बताएका छन् । पार्टीले दिएको जुनसुकै जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्दै आएको र भविष्यमा पनि पार्टी निर्देशनअनुसार नै अघि बढ्ने उनको भनाइ छ ।
पूर्वमुख्यमन्त्री राईले आफू मुख्यमन्त्री हुँदा पार्टी नेतृत्वको निर्देशनपछि तत्काल जिम्मेवारी हस्तान्तरण गरेको प्रसंग स्मरण गराउँदै अहिले पनि पार्टीको निर्णय र निर्देशन नै सर्वोपरि हुने बताएका छन् ।