काठमाडौं । देशभर खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै गएपछि सरकारले बजार अनुगमन र गुनासो सुनुवाइलाई तीव्र बनाएको छ ।
उपभोक्ताले ग्यास पाउन कठिनाइ भोगिरहेको अवस्थामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कालोबजारी, कृत्रिम अभाव वा आपूर्तिसम्बन्धी समस्या देखिए तत्काल जानकारी गराउन आग्रह गरेको हो ।
उद्योगमन्त्री गौरीकुमारी यादवको सचिवालयले बिहीबार सूचना जारी गर्दै बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको, कालोबजारी भएको वा वितरणमा समस्या देखिए मोबाइल नम्बर ८८९८५१११६७७३८८ मा सम्पर्क गरी उजुरी दिन सकिने जनाएको छ ।
मन्त्रालयका अनुसार उपभोक्ताबाट प्राप्त हुने गुनासो र सूचनालाई गम्भीरतापूर्वक लिएर सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक कारबाही तथा समस्या समाधानका लागि तत्काल पहल गरिनेछ ।
पछिल्ला करिब २० दिनदेखि एलपी ग्यासको आपूर्ति असहज बनेपछि सर्वसाधारण समस्यामा परेका छन् ।
विभिन्न ग्यास डिपोमा बिहानैदेखि उपभोक्ताको लामो लाइन लाग्ने गरे पनि धेरैले ग्यास नपाई रित्तो सिलिन्डर लिएर फर्किनुपर्ने अवस्था रहेको छ ।
यही अवस्थाको फाइदा उठाउँदै केही व्यवसायीले कृत्रिम अभाव सिर्जना गरी चर्को मूल्यमा ग्यास बिक्री गरिरहेको गुनासो बढ्दै गएको छ । त्यसैलाई मध्यनजर गर्दै मन्त्रालयले उपभोक्तालाई सिधै सचिवालयमा उजुरी गर्न सक्ने व्यवस्था मिलाएको जनाएको छ ।