विराटनगर । कोशी प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, कलवलगुरी झापाको कार्यकारी निर्देशकमा अनिता गुरागाईं नियुक्त भएकी छन्।
शुक्रबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले गुरागाईंलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो। नियुक्तिपछि उनलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ गराएका छन्। गुरागाईं इटहरी उपमहानगरपालिका–४ निवासी हुन्।
मन्त्रिपरिषद् बैठकले स्थानीय सरकारी सेवा गठन तथा सञ्चालन नियमावलीका सम्बन्धमा प्रदेश लोक सेवा आयोगसँग परामर्श माग गर्ने निर्णयसमेत गरेको छ। नियमावली निर्माणको क्रममा रहेकाले आयोगको परामर्श लिन लागिएको प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले जानकारी दिए।
यस्तै, बैठकले मोरङको सुन्दरहरैँचा नगरपालिकाको प्रशासकीय भवनको केन्द्र सार्न स्वीकृति दिएको छ। हाल वडा नम्बर १२ मा रहेको नगरपालिकाको केन्द्र वडा नम्बर ८ मा सार्ने नगरसभाको सिफारिसलाई प्रदेश सरकारले स्वीकृति दिएको हो।
मन्त्री लिङ्थेपका अनुसार साविक मृगौलिया–९ र हालको सुन्दरहरैँचा–८ मा नगरपालिकाको प्रशासकीय भवन निर्माण गर्ने गरी केन्द्र निर्धारण गर्न सहमति दिइएको छ।
त्यसैगरी, प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश युवा परिषद्सम्बन्धी विधेयक तर्जुमा गर्न तयार गरिएको अवधारणापत्रमा सैद्धान्तिक सहमति प्रदान गरेको छ।
बैठकले वृद्धिमुखी कार्यान्वयन कार्यविधि र रोजगार प्रवर्द्धन कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८२ खारेज गर्ने निर्णयसमेत गरेको मन्त्री लिङ्थेपले जानकारी दिए।